जुम्ला र सल्यान छनौट

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ पुस ।
कर्णाली प्रदेशका दुई जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरिने भएको छ । यो प्रदेशमा पहिलो पटक राष्ट्रिय परिचय पत्र वितरण गर्न लागिएको हो । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले सल्यान र जुम्लालाई परिचय पत्र वितरणका लागि छनौट गरेको छ ।
राष्ट्रिय रूपमा पहिलो चरणमा पाँचथरमा परिचय पत्र वितरण गरेको विभागले दोस्रो चरणमा १५ जिल्लामा वितरण गर्नेछ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत कर्णालीका दुई जिल्लामा मात्रै राष्ट्रिय परिचय पत्र वितरण गरिने महाशाखाका निर्देशक शिवराज जोशीले जानकारी दिए । उनका अनुसार राष्ट्रिय परिचय पत्र वितरणका लागि पहिलो चरणमा विवरण संकलन गरिने भएको छ । फागुनदेखि जिल्लाका स्थानीय तहमा पुगेर आवश्यक तथ्यांक संकलन गरिनेछ । नागरिकता प्राप्त गरेका व्यक्तिको विवरणमा थप विवरण समेटेर विभागले कार्ड तयार पार्नेछ । ‘नागरिकतामा समेटिएको तथ्यांक र थप विवरण पनि लिइन्छ’ उनले भने, ‘१६ वर्ष भन्दा माथिको उमेर समूह वा नागरिकता प्राप्त गरेको व्यक्तिलाई राष्ट्रिय परिचय पत्र प्रदान गरिनेछ ।’
राष्ट्रिय परिचय पत्रले नागरिकलाई विभिन्न किसिमका सेवा सुविधा उपलब्ध गराउन सहयोग पु¥याउने बहुउपयोगी कार्डका रूपमा राष्ट्रिय परिचय पत्र प्रयोग हुने उनले बताए । व्यक्तिको राष्ट्रिय पहिचान पत्र, मतदाता परिचयपत्र, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेखका रूपमा, बैंकिङ कारोबारको अभिलेख, सामाजिक सुरक्षा कार्डका रूपमा, सुरक्षा व्यवस्थापनको लागि सहयोगी अभिलेखका रूपमा परिचय पत्रको उपयोग गर्न सकिने विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिए ।
व्यक्तिको पहिचान सम्बन्धी समस्या समाधान गर्न, व्यक्तिको जैविक तथा व्यक्तिगत विवरण प्राप्त गर्न, एउटै राष्ट्रिय परिचयपत्रबाट विविध सेवा प्राप्त गर्न सकिन्छ । राष्ट्रिय विकासका योजना निर्माण, कार्यक्रम सञ्चालन र सुरक्षा कायम गर्न सजिलो हुने, नेपाली, गैर आवासीय–नेपाली र विदेशीको तथ्यांक यकिन हुने भएकाले पनि परिचय पत्र निकै महŒवपूर्ण हुने उनले बताए । दोहोरो परिचय वा नक्कली परिचय बनाउने जस्ता अपराध नियन्त्रणमा पनि यसले सघाउ पुग्ने जनाइएको छ । उनका अनुसार परिचय पत्रमा व्यक्तिको वैयक्तिक पहिचानका लागि छुट्टा–छुट्टै परिचय नम्बर प्रदान गरिने र सोही नम्बरका आधारमा व्यक्तिको पहिचान गरिनेछ । नेपालमा बस्ने सबै व्यक्तिका वैयक्तिक विवरण राष्ट्रिय तथ्यांक भण्डारमा समाविष्ट गर्ने र जनतालाई प्रवाह गर्ने सेवा सुविधालाई एकीकृत प्रणालीमार्फत् एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणाली विकास गर्ने उद्देश्यका साथ कर्णालीका दुई जिल्लामा परिचय–पत्र वितरण गरिनेछ । ‘यो पत्र स्मार्ट कार्ड जस्तो हुन्छ, जसमा व्यक्तिको सम्पूर्ण विवरण राखिएको हुन्छ’ उनले भने, ‘१० अक्षरको परिचय पत्र नम्बर हुन्छ । जसले व्यक्तिलाई चिनाउन मद्दत पुग्छ । एटीएमको चीप जस्तो हुन्छ ।’
राष्ट्रिय परिचय पत्रबारे विभागले सोमवार वीरेन्द्रनगरमा सरोकारवालाहरूसँग छलफल समेत गरेको छ । छलफलमा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राष्ट्रिय परिचय पत्र निकै उपयोगी भएकाले यसलाई प्रभावकारी रूपमा वितरण गर्नुपर्ने बताए । कार्यक्रममा उप–सभामुख पुष्पा घर्ती, प्रदेशसभा सदस्यहरू सीता नेपाली, पद्मा खड्का, अमृता शाही लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २४ पुष २०७५, मंगलवार ११:२१