नगरपालिकाको सहयोगमा लोकसेवा तयारी कक्षा

साझा बिसौनी संवाददाता
पञ्चपुरी, २३ पुस ।
पञ्चपुरी नगरपालिकाले नगर क्षेत्रभित्रका युवाहरूलाई लक्षित गरी लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । स्थानीयस्तरमै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित लोकसेवा आयोग अन्तर्गतका नायव सुब्बा र खरिदारका लागि तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका प्रत्येक वडाबाट पाँच÷पाँच जना छनौट गरी ५५ जनालाई लोक सेवा आयोग अन्तर्गतका नायव सुब्बा र खरिदारका लागि तयारी कक्षा सोमवारदेखि सुरु गरिएको हो । तयारी कक्षा सञ्चालनका लागि नगरपालिकाले दुई लाख ५० हजार रूपैयाँ छुट्याएको नगरपालिकाका उप–प्रमुख मुक्ति रेग्मीले जानकारी दिइन् । नगरपालिकाको आर्थिक सहयोगमा बावियाचौर कन्सल्टेन्सीले कक्षा सञ्चालन गर्नेछ । सुरुवाती चरणमा पढ्न चाहेका तर पढ्न नसक्ने अवस्थाका युवाहरूलाई मध्यनजर गरी कक्षा सञ्चालन गरिने जनाइएको छ । दलित, जनजाति, महिला, अल्पसंख्यक र कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूलाई उक्त कक्षामा समावेश गराइने उप–प्रमुख रेग्मीले जानकारी दिइन् ।
पञ्चपुरी नगरपालिका वडा नम्बर ७ का नवीन सुनारले विगतदेखि नै खरिदारको तयारी कक्षा पढ्ने इच्छा हुँदा पनि आर्थीक अवस्था कमजोर भएकोले पढ्न नसकेको बताए । उनले पढ्नकै लागि बाहिर जानुपर्ने भएपछि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेपछि गाउँमै बेरोजगार भइ बस्नु परेको अवस्थामा नगरपालिकाले कक्षा सञ्चालन गरेपछि सहज भएको बताए ।
पञ्चपुरी नगरपालिका प्रमुख उपेन्द्र थापाले देशमा बढ्दो बेरोजगारी भइरहेका बेला स्थानीय सरकारले नै लोकसेवासँग सम्बन्धित कार्यक्रममा सहयोग गरेर विद्यार्थीहरूलाइ थप हौसला हुने बताए । साथै उनले आगामी दिनमा पञ्चपुरीबाटै धेरै भन्दा धेरै सरकारी कर्मचारी भएको देख्न पाइने विस्वास व्यक्त गरे । देशभर कर्मचारीको अभाव भइरहेको बेला राज्यले नै कर्मचारी उत्पादनमा लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मितिः   २४ पुष २०७५, मंगलवार ११:१७