चन्द्र बने प्रशिक्षक

जगतदल जनाला बिक
पञ्चपुरी, २२ पुस ।
तामाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आइरहेका पञ्चपुरी नगरपालिका–२ सुर्खेतका चन्द्र विकलाई नगरपालिकाले प्रशिक्षकका रूपमा नियुक्ति दिएको छ । हातमा सीप भए पनि अवसर नपाउँदा तामाका भाँडा बनाएर गुजारा गरिरहेका चन्द्रबाट साझा बिसौनीमा समाचार प्रकाशित भएपछि नगरपालिकाले उनलाई प्रशिक्षकको अवसर प्रदान गरेको हो ।


गत मंसिर १२ गतेको साझा बिसौनीमा बिकको दैनिकी समेटिएको समाचार प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि नगरपालिकाले उनलाई प्रशिक्षकको अवसर प्रदान गरेको नगरपालिकाका प्रमुख उपेन्द्र थापाले जानकारी दिए । समाचार पढेर चन्द्रबहादुरको सीपलाई सम्मान गर्दै घरेलुबाट प्राप्त तामाका भाँडा बनाउने तालिमका लागि प्रशिक्षकको रूपमा उनलाई नगरपालिकाले सिफारिस गरेको उनले बताए । स्थानीयस्तरमै चन्द्र जस्ता दक्ष व्यक्तिहरूबाट नयाँ पुस्ताका युवाहरूलाई तालिम दिएर सीप हस्तान्तरण हुने प्रमुख थापाको भनाइ छ ।
नगरपालिकाले घरेलु तथा साना उद्योग विकास समितिसँग समन्वय गरी पञ्चपुरीका ११ वटा वडाबाट एक÷एक जनाको प्रतिनिधित्व हुने गरी तालिम सञ्चालन गर्दैछ । उनीहरूलाई चन्द्रले माघ र फागुन गरी दुई महिनासम्म तालिम प्रदान गर्नेछन् । उनले महिनाको २२ हजार रूपैयाँ पारिश्रमिक पाउनेछन् । सडक छेउको खुला आकाशमुखी बसेर तामाका भाँडा बनाउने चन्द्र प्रशिक्षकको रूपमा नियुक्ति पाउँदा हर्षित बनेका छन् । ‘नयाँ पुस्तालाई आफ्नो सीप सिकाउने अवसर पाएको छु, अत्यन्तै खुशी लागेको छ’ उनले भने ।
५२ वर्षीय चन्द्र १७ वर्षको उमेरदेखि नै तामाका भाँडाकुँडा बनाउँदै आएका छन् । परम्परागत रूपमै आफ्नो परिवारमा तामाका भाँडा बनाउने सीप नभए पनि बाहिरबाट आएका ताम्राकारले बनाएको देखेकै भरमा उनले सीप सिकेका हुन् । सडक छेउको खुला आकाशमुनी उनको तामाका भाँडाकुडा बनाउने आरन छ ।

प्रकाशित मितिः   २३ पुष २०७५, सोमबार ११:४४