‘स्वास्थ्य सेवा प्रभावकारी बनाऊ’
साझा बिसौनी संवाददाता
सुर्खेत, २१ पुस ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले स्वास्थ्य सेवालाई प्रभावकारी र सर्वसुलभ बनाउनुपर्ने बताएका छन् । प्रदेश सरकार मातहत रहेका अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरूको शनिवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा बधाई दिँदै मुख्यमन्त्री शाहीले अस्पतालबाट जनतालाई सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रवाहको व्यवस्थापन गर्न निर्देशन दिए ।
‘स्वास्थ्य सेवा जनताको मौलिक हक हो, नागरिकलाई यसको प्रत्याभूति दिलाउनु राज्यको दायित्व हो ।’ मुख्यमन्त्री शाहीले भने, ‘कुनै पनि वहाना बनाएर यसबाट उन्मुक्ति पाउने छुट वर्तमान सरकारलाई छैन ।’ मुलुकमा दुई तिहाईको कम्युनिष्ट सरकार रहेको बताउँदै मुख्यमन्त्री शाहीले संविधान र ऐन कानुनको अभावले काम गर्न सकिएन भन्ने वहानाबाजी अब नचल्ने बताए । कर्णालीमा कम्युनिष्ट सरकार रहेको अनुभूति हुने गरी काम गर्न उनले अस्पताल व्यवस्थापन समितिका पदाधिकारीलाई निर्देशन समेत दिए ।
मुख्यमन्त्री शाहीले स्वास्थ्य सेवाको अभावबाट कोही पनि नागरिक मृत्युको शिकार नबन्ने वातावरण निर्माण गर्न आग्रह गरे । अस्पताल व्यवस्थापन समितिको नेतृत्वको मूल्यांकन स्वास्थ्य सेवाको प्रभावकारिताका आधारमा गरिने बताउँदै मुख्यमन्त्री शाहीले आफू नेतृत्वको अस्पताललाई नमुना अस्पतालका रूपमा विकास गर्नुपर्ने दायित्व आएको बताए । शाहीले काम गर्दै जाँदा कानुनमा संशोधन गर्न सकिने बताउँदै दृढ ईच्छाशक्तिसहित अस्पतालको रणनैतिक विकासको योजनासहित काम गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले स्वास्थ्य सेवाप्रति कर्णाली प्रदेश सरकार गम्भीर रहेको बताउँदै बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरे । प्रदेश अस्पताल व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष र सदस्यसहित १० जिल्लाका जिल्ला अस्पताल, सुर्खेत र जुम्लामा रहेका दुई आयुर्वेदिक अस्पतालका व्यवस्थापन समितिका अध्यक्षहरूलाई नियुक्ती पत्र प्रदान गर्नुको साथै सामाजिक विकास मन्त्री दल रावलले सपथ ग्रहण गराएका थिए ।
साझा बिसौनी ।