हुम्लामा आगलागीबाट तेह्र घर नष्ट

साझा बिसौनी संवाददाता
हुम्ला, २१ पुस ।
आगलागी हुँदा हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२, मिमिको मेखाला गाउँका १३ वटा खरका घर जलेर नष्ट भएका छन् । मेखलाको औलमा बिहान ११ बजेतिर बच्चाले लगाएको आगोबाट सल्केपछि सबै खरका घर जलेर नष्ट भएको मेखालाका धनबहादुर ऐडीले जानकारी दिए ।
आगलागीबाट खरका घर जलेर पूर्णरूपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको उनले बताए । हिउँदको महिनाभर गाईवस्तुको आहारका लागि सुकाइ राखेका घाँसपात सबै जलेर नष्ट भएको पनि उनले बताए । उनका अनुसार बिहान सबै गाईवस्तु वनमा चराउन पठाएको समयमा एक्कासी आगलागी हुँदा एउटा गाईको बाच्छोसमेत मरेको छ ।
मेखालाका स्थानीय बासिन्दाका बढी पशुपालन भएकोले हिउँदको बाँकी महिना कसरी गाईवस्तुलाई आहारा के जुटाउने हो भन्ने चिन्ता भएको बताए । आगलागीबाट धनबहादुर ऐडी, ज्ञाने तामाङ, गोपाल ऐडी, पाल्सरी तामाङ लगायत १३ जनाको खरको घर जलेर नष्ट भएको हो ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३७