स्ववियु निर्वाचन भदौमा

mu ko naya officeबिसौनी संवाददाता
सुर्खेत, ४ असार ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी भदौ पहिलो साता हुने भएको छ । विद्यार्थी सङ्गठनहरूसँग छलफल गरी विश्वविद्यालयले भदौ पहिलो साता निर्वाचन गराउने निर्णय गरेको हो ।
विद्यार्थी सङ्गठनहरूले जतिसक्दो छिटो स्ववियु निर्वाचनको मिति तोक्न माग गर्दै आएका थिए । केही विद्यार्थी सङ्गठनले आन्दोलन समेत सञ्चालन गर्दै आएका छन् । शनिवार विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको संयोजकत्वको रहेको वार्ता समितिले संयुक्त विद्यार्थी सङ्गठनहरूसँग छलफल गरेर निर्वाचनको टुङ्गो लगाएको हो । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भएको विश्वविद्यालय र विद्यार्थीबीचको वार्ताले यस्तो निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।
बिहान ११ बजेदेखि लगातार चार घण्टासम्म चलेको वार्तामा विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालय समक्ष राखेका विभिन्न मागहरूमाथि छलफल भएको थियो । छलफलपछि विद्यार्थीका माग सम्बोधनका लागि १० बुँदे निर्णय समेत भएको छ । विश्वविद्यालयका विभिन्न संरचनालाई सक्रिय बनाइ विश्वविद्यालयलाई गति प्रदान गर्ने, यसअघि प्रकाशित पाठ्यक्रमहरूलाई वितरणको व्यवस्था मिलाउने, प्रत्येक सेमेस्टरको सत्रान्त परीक्षाका सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई लगत्तै अध्ययन गर्ने सेमेस्टरमा लाग्ने शिक्षण शुल्क मिनाहा गर्ने, विज्ञान सङ्काय र इन्जिनियरिङ्ग सङ्कायमा स्नातकोत्तरका कक्षा सञ्चालन गर्ने, इन्टरनेट, पुस्तकालय, शौचालय आदिको उचित प्रबन्ध गर्ने, विश्वविद्यालयमा विद्यार्थीहरूले लगाएको ताला खोल्ने लगायतका निर्णय भएको छ ।
स्ववियु निर्वाचनको मिति तोक्ने निर्णयको विद्यार्थी सङ्गठनहरूले स्वागत समेत गरेका छन् । यद्यपि यसपटक गरिएका सहमति कार्यान्वयनमा गम्भीर बन्न उनीहरूले विश्वविद्यालयका पदाधिकारीहरूको ध्यानाकर्षण समेत गराएका छन् । विगतमा पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरिएको भन्दै विद्यार्थीहरूले विश्वविद्यालयलाई गति प्रदान गर्नका लागि पनि विद्यार्थीसँग भएका सहमति अक्षरश कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । फेरि पनि सहमति कार्यान्वयन नभए सङ्घर्षमा उत्रिने भन्दै विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयलाई सहमति कार्यान्वयनमा दबाब दिएका छन् ।
रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको संयोजकत्वमा भएको वार्तामा विश्वविद्यालयकातर्फबाट डीनहरू खोपीराम लम्साल, मस्तबहादुर गरंजा, प्राध्यापक डाक्टर देवबहादुर खड्का, इन्जिनियर अनन्तराज घिमिरेको सहभागिता रहेको थियो । त्यस्तै संयुक्त विद्यार्थी सङ्गठनको तर्फबाट नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्व–विद्यालय समितिका सचिव पुरुषोत्तम सापकोटा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) केन्द्रीय कमिटी उपाध्यक्ष प्रभात पोख्रेल, नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय सदस्य टीकाराम कँडेल, नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक तृष्णा हमाल, अखिल क्रान्तिकारीका अध्यक्ष भीम कठायत लगायतको सहभागिता रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ५ असार २०७३, आईतवार ०९:२०