किन, के र कसका लागि ?

punam-पुनम बि.सी.-
खै के लेखु ? कसरी ? के का लागि ? कलम चलाउनु त बानी भइसक्यो । खानाको गासको समय पर सार्दै कलम छोड्न मन लाग्दैन । कामको चटारोमा पनि कलमका शब्दहरू मानसपटलमा आइरहन्छन् । लेखन अवशास बन्न थालिसकेछ । पत्रपत्रिकाहरूमा लेख प्रकाशित हुन थालेको पनि करिब तीन वर्ष पुगी चार आटेको पत्तो पाउँदा म मेरा उपलब्धीहरू खोजिरहेछु । आखिर के का लागि लेखन ? कसका लागि लेखन ? र, किन ?
वादविवाद तथा अन्य कार्यक्रमहरूमा माध्यमिकस्तरमा कहीँ कतै समावेश भइएन । कक्षामा मुक्तक तथा सायरी सुनाउने साथीहरूको सकेसम्म ‘पत्ता’ हानिन्थ्यो । कक्षा १० सम्ममा पनि आफ्नो नाममै व्याकरणको ह्रस्व दीर्घ मिलाउन नसक्नेको वर्तमान समयमा लेखहरू स्थानीय तथा राष्ट्रियस्तरका पत्रपत्रिकाहरूमा प्रकाशित हुनु गर्वको विषय बनेको छ । विना पारिश्रमिक, विना आर्थिक प्रलोभन आफ्ना कलमहरू चलेको देख्दा जो कोहीलाई खुशी नलाग्ला भन्न सकिंदैन । पहिले त्यसै कोरियो । लेखियो । प्रकाशित गर्न नै परीश्रम । घर परिवारलाई गर्वका साथ देखाइयो । विस्तारै आफ्नो नामको लागि अनि विस्तारै सामाजिक समस्याहरूले दुःख दिन थाले पनि । दुःख आफैमाथि पर्नुपर्छ भन्ने रहेन ।
‘होइन’ भन्दा पनि मानिसहरू पत्रकार ठह¥याउन थाले । खोजी–खोजी आफ्ना तथा आफ्नो समाजको समस्याहरू सुनाउन थाले । मनले मानेन, लेखियो । कति शब्दहरूले सरकार, सरकारी दायित्व बोकेका पदाधिकारी तथा नीति नियममा समेत औंला ठड्याए त कति शब्दहरूले आम नागरिकमा समेत । स–साना विषयहरूमा पनि लेखियो, सम्भावनाका विषयमा कोरियो, सकारात्मक समाज परिवर्तनका लागि सोचियो । समाजमा खोक्रो प्रतिष्ठा बोकेका कैयौंले औंला ठड्याए । कैयौं घरमै आए त कयौंले कठघरामा उभ्याए पनि ।

लेखनको जाँगर र त्यसमा पनि सकारात्मक प्रतिक्रियाले बनेको चाङ्गको जोशै जोशमा कहाँ पुगियो अत्तोपत्तो छैन । तर पनि कारण दिन कहिल्यै डर लागेन । सत्य लेख्न तथा बोल्न हौसला मिलिरह्यो । लेखमा रमाएका केही साथीहरूले आफ्नो अनुभव सुनाउँछन्, कोही थर्काउन घरमै आए । कोहीले बाटोमा ज्यान मार्ने समेत धम्की दिए । कोहीले हात नै छोडे पनि ।
नेपालको परिवेश लेख तथा समाचारले एक व्यक्तिको पेट धान्न मुस्किल पर्नेगर्छ भने परिवार ? ‘मिडिया’को नशामा रमाएका सबैलाई बाँच्नको लागि अर्को जोहो त गर्नैपर्छ । पेट पाल्नमै जोहो गरिरहँदा लेखन नशा ओझेलमा परेको झैं पनि लाग्छ । कोही–कोही त टाढिन्छन् । तर अधिकांश फर्केर आउने रहेछन् । टाढिएको मान्छेलाई पटक–पटक समाज सोधिरहेको हुन्छ, उसलाई अप्रत्यक्ष रूपमा घोचिरहेको हुन्छ । सँगै सामाजिक समस्याहरू उसलाई फर्कन बाध्य बनाउँछन् ।
हाम्रो सामाजिक समस्याको रूपमा मौलाइरहेको एक विषय हो, नागरिकमा दायित्वबाट भाग्ने प्रवृत्ति । एउटा टोल विकास संस्थाको मान्छेले भेटमा विस्तार गर्छ, ‘अरुमा भइसक्यो तर हाम्रो टोलमा बाटो पक्की भएन ।’ कोही सुनाउँछन्, सामुदायिक वनको अध्यक्ष परिवर्तन भएको थुप्रै वर्ष भइसक्यो, वार्षिक आर्थिक प्रतिवेदन समेत खुल्ला रूपमा देखाउँदैन । अर्को थप्छ, बाटो पक्की बनेको एक वर्ष नहुँदै प्वाल नै प्वाल छ । ट्राफिक नियम मिचेको चालक पनि सुनाउन आउँछ, अरुलाई छोडेर मलाई मात्र चिट कटायो ।
यस्ता डराउने मनस्थिति भएका सामाजिक प्राणीहरूलाई बुझाउन गाह्रो भएको छ । हामी समस्याका विरुद्धमा उजुरी गर्नसक्छौं । उजुरीकर्ताको गोपनियताको हक छ नागरिकमा । तर पनि आँट ? देश त्यति पनि साह्रै भ्रष्ट तथा बिग्रिएको छैन जति हामी सोच्छौं । सार्वजनिक निकायमा रहेका पदाधिकारीहरूमा अझै पनि नागरिक सेवाको भावना रहिरहेको छ । टोल विकास संस्थाको मानिस आफ्नो टोल विकासका लागि राम्रो योजनाका साथमा नगरपालिका वा सम्बन्धित निकायमा जानसक्छ । अधिकांशका सकारात्मक विकासे योजनाहरूको सुनुवाइ पनि भएको छ । यदि त्यहाँ पनि नभए त्योभन्दा माथिल्लो निकायमा खबर गरौं । नियम विपरित कामहरू हुन लागेमा, उजुर गरौं । सामुदायिक वनमा कोही नियम विपरित अध्यक्ष जस्तो पदमा रही रहे, उसलाई खबरदारी गरौं । समितिले आर्थिक प्रतिवेदन प्रकाशित गर्दैन भने उजुरी पनि गर्नसक्छौं नि । विकास निर्माणका योजनामा भ्रष्टाचार तथा अनियमितता भएमा पनि त्यो सम्बन्धित निकायमा उजुर गरौं । खबरदार गरौं । यो होइन कि, हामी यो काम पत्रकारको हो । त्यो काम प्रहरीको हो । त्यो काम अख्तियारको मात्र हो भनि चुपचाप रहने । सबै आफ्नो काममा लागिरहेका पनि छन् । तर नागरिक ? कहिले बुझ्ने नागरिकले आफ्नो दायित्व ?
हरेक देशमा नागरिकको दायित्व पनि रहन्छ । सरकार तथा नागरिकबीचको सकारात्मक अन्तरसम्बन्धका कारण नै देश विकासको बाटोमा लम्कन सक्छ । चाहे अख्तियार होस्, प्रशासन, प्रहरी, पत्रकार वा सम्बन्धित अन्य निकाय नागरिकको सहयोग विना अपुरो रहन्छन् । नागरिक अग्रसरता विना ती पक्षहरूको उद्देश्य परिपूर्तिमा कठिनाइ अवश्य रहिरहन्छ ।
समाजमा शंकाको रूपमा कुराहरू मौलाउनबाट रोकिनुपर्छ । ठोस तथा ठेस प्रमाण पश्चात् मात्र नागरिकले भन्न सुहाउँछ कि, यहाँ नराम्रो भइरहेको छ । आधिकारिक प्रमाण विना मौलाइरहेका कुराहरूमा कारण पनि आज प्रायः नेपाली नागरिकको मनमा उस्तै भावनाहरू रहिरहेका छन्, देश खत्तम भइसक्यो । देशबाट शिक्षित युवायुवतीहरू बाहिरिनु पनि देशको लागि समस्या हो । जसको कारण आम नागरिक पनि हुन् । नागरिकमा मौलाइरहेको शंकाका कुराहरूका कारण वर्तमान युवायुवतीले देशमा सम्भावनाहरू देखेका छैनन् । सम्भावना अध्ययन गर्न समेत भ्याउँदैनन् उनीहरू । देशबाट बौद्धिक शक्तिको पलायनले देशलाई विकासको गतिमा पछाडितिर धकेलिरहेको छ । सकारात्मक विकासे योजनाहरूमा पहिले हामी आफूले आफू तथा आफ्नाका लागि मात्र व्यक्तिगत स्वार्थ नराखौं, त्यसपछि अरुले पनि स्वार्थ राख्न सक्ने स्थान नै रहँदैन । (बिसीको साप्ताहिक स्तम्भ ‘मौरीमोज’)

प्रकाशित मितिः   ५ असार २०७३, आईतवार ०९:१२