चौकुने सिमेन्ट उद्योग : असारभित्रै शिलान्यास गर्ने तयारी

ciment udhogबिसौनी संवाददाता
सुर्खेत, ५ असार ।
वर्षौंको प्रतिक्षापछि सुर्खेतको गुटुमा रहेको चौकुने सिमेन्ट उद्योग सञ्चालनमा आउने भएको छ । पश्चिम नेपालको सबैभन्दा ठूलो दाबी गरिएको यो सिमेन्ट उद्योगको शिलान्यास यही असार महिनाभित्रै हुने भएको हो । सुर्खेत उद्योग वाणिज्य संघले मनाउन लागेको ‘सुर्खेत लगानी वर्ष २०७३’ को उद्घाटनको अवसर पारेर यो सिमेन्ट उद्योगको पनि शिलान्यास गर्न लागिएको हो ।
सुर्खेत उद्योग वाणिज्य संघले यही असार मसान्तमा सुर्खेत लगानी वर्षको औपचारिक उद्घाटन गर्दैछ । सोही अवसरमा सिमेन्ट उद्योगको शिलान्यास गर्न लागिएको हो । उद्योग सञ्चालनको लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले शिलान्यासका लागि आवश्यक काम सुरु भइसकेको जनाएको छ । अहिले उद्योग स्थलमा तीन जना इन्जिनियरले काम सुरु गरिरहेको भन्दै कम्पनीले उद्योग सञ्चालनका लागि जग्गा अधिग्रहणको प्रक्रिया समेत सुरु भएको जानकारी दिएको छ । कम्पनीका अनुसार एक साताभित्रमा ठूला मेशिन, स्काभेटर र अन्य निर्माण सामग्री समेत उद्योग स्थलमा पुग्नेछन् । उद्योग सञ्चालक अरुण सुमार्गीले यो महिनाभित्रै उद्योगको शिलान्यास गर्ने अन्तिम तयारी भइरहेको बताए ।
सम्भाव्यता अध्ययन भएको ३८ वर्ष बितिसक्दा समेत यो उद्योग सञ्चालनमा नआउँदा यहाँका नागरिकहरू निराश भएका थिए । खानी तथा भूगर्भ विभागले उद्योग सञ्चालनका लागि भन्दै २०३५ सालमा नै चौकुनेको चुनढुंगा र माटोको परीक्षण सम्पन्न गरेको थियो । तर, सम्भाव्यता अध्ययन भएको दशकौं बितिसक्दा समेत यो उद्योगको कुनै काम सुरु नहुँदा स्थानीय बासिन्दाले बारम्बार उद्योग सञ्चालनको माग गर्दै आएका छन् । उद्योग सञ्चालनको जिम्मा पाएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले उद्योगको नाममा साइनबोर्ड राख्ने बाहेक अन्य कुनै पनि काम नगरेको भन्दै स्थानीयले आक्रोश पोख्दै आएका छन् । तर यो महिनाभित्र उद्योगको शिलान्यास हुने भएपछि यहाँका नागरिकहरू उत्साहित बनेका छन् । उद्योग सञ्चालनको जिम्मा लिएका अरुण सुमार्गीले भने, ‘अब धेरै दिन कुर्नु पर्दैन, एक साताभित्र उद्योगमा ठूला मेशिन झार्दैछौं । इन्जिनियरले काम गरिरहेका छन्, असारभित्रै उद्योगको शिलान्यास
हुन्छ ।’ उद्योग सञ्चालनका लागि आफूहरूले लगानी समेत भिœयाइसकेको भन्दै उनले अब सिमेन्ट उद्योगको कामले गति लिने दाबी गरे ।
‘यो उद्योग सञ्चालनका लागि जम्मा गरेको साढे चार अर्ब रूपैयाँ बैंकमा थन्किएको छ, लगानीको कुनै समस्या छैन’ सुमार्गीले थपे, ‘सरकारले पनि हामीलाई सहयोग गर्नुप¥यो, उद्योग स्थलमा ठूला मेशिन लैजान बाटोको समस्या छ । हामी लगानी गर्न तयार छौं, राज्यले पनि साथ देओस् ।’ आफूहरू उद्योग सञ्चालनको अन्तिम तयारीमा रहेको भन्दै उनले पैसाको राजनीति गर्नेहरूले काममा अवरोध गरिरहेको आरोप लगाए । उनले भने, ‘अब कुनै पनि हालतमा उद्योग सञ्चालनमा आउँछ, हामी लडेर भए पनि काम सुरु गर्छौं । अब कुरा भन्दा पनि काम गरेरै देखाउनेछौं ।’ सुर्खेत लगानी वर्षको उद्घाटन हुने दिनमा नै आफूहरूले सिमेन्ट उद्योगको शिलान्यास गर्ने जानकारी सुमार्गीले दिए । उद्योग सञ्चानल भएपछि दैनिक पाँच सय भन्दा बढी गाडी चल्ने र बाटोले त्यसको भार थेग्न नसक्ने भएकाले उद्योगसम्म पुग्ने बाटोको सुधार आवश्यक रहेको उनको भनाइ छ । यो उद्योग सञ्चालनमा आए समग्र मध्यपश्चिम क्षेत्रकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । ठेकेदार कम्पनीका अनुसार उद्योग सञ्चालन भएमा दैनिक ५ हजार मजदुरले प्रत्यक्ष रोजगार पाउनेछन् । यस्तै दैनिक २ हजार भन्दा बढी मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता यो उद्योगको छ ।
उद्योग सञ्चालनका लागि पहल गर्दै आइरहेको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी अब उद्योगले गति लिनेमा विश्वस्त छन् । उनका अनुसार यो महिनाभित्रै उद्योगको शिलान्यास गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । अधिकारीले भने, ‘हामी असारभित्रै सुर्खेत लगानी वर्षको उद्घाटन गर्दैछौं, सोही क्रममा सिमेन्ट उद्योगको पनि शिलान्यास हुनेछ । प्रादेशिक औद्योगिक क्षेत्रको पनि उद्घाटन हुँदैछ, अब कामको सुरुवात हुने संकेत हामीले पाएका छौं ।’ सिमेन्ट उद्योग सञ्चालनमा आए यस क्षेत्रको आर्थिक विकासले गति लिने भन्दै अधिकारीले उद्योग सञ्चालनका लागि राज्यले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने बताए । सडक र विद्युतमा राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ । यो उद्योग सञ्चालनको माग गर्दै स्थानीय बासिन्दा र जिल्लाका राजनीतिक दलहरूले पटक–पटक राष्ट्रपतिदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई दर्जनौं मागपत्र बुझाइसकेका छन् । स्थानीय बासिन्दा मानबहादुर बुढा उद्योग सञ्चालनका लागि अब राज्यले नै दबाब दिनुपर्ने बताउँछन् । यस क्षेत्रकै आर्थिक विकासको ढोका खोल्ने विश्वास गरिएको चौकुने सिमेन्ट उद्योगको शिलान्यास हुने भएपछि यहाँका नागरिकहरू उत्साहित बनेका छन् ।

प्रकाशित मितिः   ६ असार २०७३, सोमबार ०६:०३