दश किलोमिटर सुरुङ्ग निर्माण

साझा बिसौनी संवाददाता
सुर्खेत, २० पुस ।
राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये सबैभन्दा छिटो गतिमा काम भइरहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । १२ किलोमिटर कूल सुरुङ्गमध्ये १० दशमलब तीन किलोमिटर निर्माण सम्पन्न भइसकेको छ ।


सुरुङ्ग निर्माण कार्य लक्ष्य अगावै सम्पन्न हुने भएको छ । आयोजनाका अनुसार आगामी माघ अन्तिमसम्ममा १२ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भइसक्ने छ । नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको टनेल बोरिङ्ग मेशिन (टीबीएम) ले सुरुङ्ग निर्माण कार्य भइरहेको छ । भेरीको पानीलाई १२ किलोमिटर लामो सुरुङ्गमार्फत् बबईमा खसालेर विद्युत उत्पादन गर्ने र बाँके–बर्दियामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले सरकारले राष्ट्रिय गौरवका रूपमा आयोजना अघि बढाएको हो । आयोजना प्रमुख सञ्जीव बरालले अब कुनै प्रतिकूल परिस्थिति सिर्जना नभए माघ अन्तिमसम्म सुरुङ्ग निर्माण पूरा हुने बताए । माघमै सुरुङ्ग निर्माण सम्पन्न भएमा सम्झौता अवधिभन्दा दुई महिना अगावै काम हुनेछ । सरकारले सन् २०२० को मार्चसम्म सुरुङ्ग निर्माण गर्ने लक्ष्य लिएको छ ।
अमेरिकी कम्पनी रोबिन्सले उत्पादन गरेको टीबीएम चालकरहित अत्याधुनिक प्रविधिको मेशिन हो । गत वर्ष कार्तिक मसान्तदेखि मेशिनले सुरुङ्ग खन्न थालेको थियो । चाइना ओभरसिज इञ्जिनियरिङ्ग ग्रुप लिमिटेड (कोभेक) ले सुरुङ्ग निर्माण गरिरहेको छ । आयोजना बाँध र विद्युतगृह निर्माणको पूर्वतयारीमा जुटेको छ । हाल सिँचाइ विभागले बाँध र विद्युतगृह निर्माण सम्बन्धी प्रतिवेदन अध्ययन गर्दैछ । दुई ठूला संरचना निर्माण हुने भएकाले विभागले विस्तृतमा अध्ययन गरिरहेको छ । आयोजना प्रमुख बरालले प्रतिवेदन स्वीकृत भएपछि विश्वव्यापी बोलपत्र आव्हान गरिने बताए । ‘सन् २०१९ को अप्रिलसम्म संरचना निर्माण अन्तर्गत पूर्वतयारीका सबै काम सक्छौं’, उनले भने, ‘यस अवधिमा ठेक्का छनौट, जग्गा अधिग्रहण लगायतका काम सम्पन्न गरिनेछ ।’
छिन्चु–जाजरकोट सडक खण्ड अन्तर्गत पर्ने चिप्लेमा बाँधस्थल बन्दैछ । पहिलो चरणमा सुरुङ्ग निर्माण, दोस्रो चरणमा विद्युत उत्पादन र तेस्रो चरणमा बाँके–बर्दियामा सिँचाइ योजना विस्तार गरिने जनाइएको छ । चिप्लेबाट १५ मिटर अग्लो बाँध बनाइ प्रतिसेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसालिनेछ । त्यही पानीबाट बबई किनारमा ४८ मेगावाट विद्युत उत्पादन गरिनेछ । बबईमा खसालिएको पानीले बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ । स्वदेशी लगानीमा निर्माण हुने लागेको आयोजनाको प्रारम्भिक कूल लागत साढे १६ अर्ब लाग्ने अनुमान गरिएपनि उक्त लागत भने बढ्न सक्ने जनाइएको छ । उक्त आयोजना सम्पन्न भएमा बाह्रै महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गइ आयोजनाबाट वार्षिक तीन दशमलब एक अर्ब अप्रत्यक्ष तथा विद्युतबाट दुई दशमलब एक अर्ब प्रत्यक्ष आम्दानी हुने अनुमान गरिएको छ ।
आन्दोलित मजदुर काममा फर्किए
विभिन्न १८ बुँदे मागसहित आन्दोलित बनेका मजदुरहरू पुनः काममा फर्किएका छन् । सुरुङ्ग निर्माण कार्य अन्तिम चरणमा पुगिरहँदा विभिन्न मागसहित आन्दोलनमा उत्रिएका कामदारहरूको माग सम्बोधन भएपछि उनीहरू काममा फर्किएका हुन् । उनीहरूले शुक्रवार दिनभर काम ठप्प पारेका थिए ।
कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने, खाना खाने समय कम्तिमा एक घण्टा दिइनुपर्ने, महिनामा चार दिन बिदा दिनुपर्ने, पारिश्रमिक कार्यक्षेत्रबाटै उपलब्ध गराउनुपर्ने, मजदुरहरूको सुरक्षाका लागि आवश्यक सबै सामग्री उपलब्ध हुनुपर्ने लगायतका माग उनीहरूको छ । कुनै स्वास्थ्य समस्या देखापरेमा कार्यक्षेत्रमै प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, यसअघि गरिएको सम्झौता अनुसार मिस्त्री ज्याला दिनुपर्ने माग पनि मजदुरहरूले राखेका थिए ।
त्यसैगरी मजदुरहरूबाट लेबी उठाउन नपाइने, सबै कामदारलाई यातायातको व्यवस्था गर्नुपर्ने, नयाँ कामदार भर्ना गर्दा समन्वय गर्नुपर्ने, कामको समय सबैलाई १२ घण्टा उपलब्ध गराउनुपर्ने माग राखेर भेरी–बबईको बाँधस्थलमा कार्यरत मजदुर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले मजदुरहरूको बीमा सुरक्षित गर्नुपर्ने, दिनको र रातको भत्ता वृद्धि गर्नुपर्ने, कम्पनीले बिदा दिएको दिनमा पनि काम गरे दोब्बर तलब उपलब्ध गराउनुपर्ने, कम्पनीको काम समाप्त भइसकेपछि पनि एक महिनाको थप ज्याला दिनुपर्ने माग राखेका छन् । शुक्रवार नै निर्माण कम्पनी मजदुरहरूबीच छलफल भइ समस्या समाधान गरिएको छ ।

प्रकाशित मितिः   २२ पुष २०७५, आईतवार १३:३५