घरपायक माग्दै कर्मचारी आन्दोलित

साझा बिसौनी संवाददाता
सुर्खेत, २० पुस ।
कर्मचारी समायोजन अध्यादेश सच्याउन माग गर्दै सुर्खेतमा कार्यरत नेपाल विविध सेवा अन्तर्गतका कम्प्युटर अपरेटरहरू आन्दोलित भएका छन् । कर्मचारी समायोजन गर्दा पाँच वर्ष सेवा अवधि पूरा भएका नेपाल विविध सेवाका कम्प्युटर अपरेटरहरूलाई नेपाल प्रशासन सेवा अन्तर्गत छैटौं तहमा समायोजन गर्नुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका छन् ।
आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालयमार्फत् संघीय मामिला तथा प्रशासन मन्त्रालय अन्तर्गतको गुनासो व्यवस्थापन समितिलाई ज्ञापनपत्र बुझाइएको छ ।
ज्ञापनपत्रमार्फत् कर्मचारी समायोजन अध्यायदेश अनुसार कम्प्युटर अपरेटरहरू पनि आफ्नो घरपायकका स्थानीय तह र प्रदेशमा समायोजन जान पाउने अधिकार सुनिश्चत गर्न माग गरिएको छ । ‘स्थानीय तह र प्रदेशमा समायोजन गर्दा पाँच वर्षभन्दा धेरै सेवा अवधि भएका नेपाल विविध सेवाका कम्प्युटर अपरेटरहरूलाई नेपाल प्रशासन सेवा अन्तर्गत छैटौं तहमा समायोजन गर्न अनुरोध गर्दछौं’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमार्फत् सर्वोच्च अदालतबाट राजपत्र अनंकित प्रथम श्रेणीका कम्प्युटर अपरेटरहरू निजामती सेवा ऐन र नियमावली अनुसार ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा प्रशासन सेवा राजपत्रांकित तृतीय श्रेणीको सामान्य प्रशासन, राजश्व एवम् लेखा समूहमा बढुवा भइरहेको बारेमा समेत ध्यानाकर्षण गराइएको छ । ज्ञापनपत्रसँगै अदालतको निर्णय, निजामती सेवा नियमावलीसहित कम्प्युटर अपरेटरहरूको हस्ताक्षर समेत बुझाइएको छ ।

प्रकाशित मितिः   २१ पुष २०७५, शनिबार १३:२८