प्रोफेसर बन्ने सपना
तुर्माखाँद गाउँपालिका–७ अछामका बसन्त जैसी बुबा रंगनाथ जैसी र आमा मनसरादेवी जैसीका जेठा छोरा हुन् । सानैदेखि पढाइमा तेज दिमागका बसन्तले कहिलै फेल भएको अनुभूति गर्नुपरेन । बरु १४ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएका उनी ‘गे्रड अप’ गरेर आफू उमेरका साथीहरुसँग पढ्न पाए । जन्मजात रुपमा फरक क्षमता भएका बसन्त कक्षा १० सम्म बे्रललिपीको सहारामा पढे ।
वि.सं. २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेका बसन्त जैसीलाई भविष्यमा राम्रो प्रोफेशर बन्ने मन छ । सानैदेखि अंग्रेजी विषयमा रुचि राख्ने उनी हाल सुर्खेत क्याम्पस शिक्षामा स्नातक चौथो वर्षमा पढ्दैछन् । फरक क्षमता भएकाहरुले केही गर्न सक्दैनन् भन्ने सामाजिक सोचलाई चिर्दै आएका बसन्त जैसीले आफ्नो कलेज लाइफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी सुनाएः
परिवारमा मेरो निर्णय नै अन्तिम निर्णय हुन्छ
म घरको जेठो छोरा । म भन्दा पछाडि दुई जना भाइहरू छन् । बुबाआमाले भने अनुसार मेरो आँखामा समस्या जन्मेदेखि नै थियो । मैले पनि थाहा पाएदेखि आँखा देख्दैनथें । उपचार त कति गरियो तर निको भएन ।
आँखा नदेख्ने भएकाले मैले १४ वर्षको उमेरसम्म विद्यालय जान पाइनँ । पढ्न सक्दैन कि भन्ने डर भएर होला, अभिभावकले पनि मलाई पढाउने विषयमा ध्यान दिनुभएन । जब म १४ वर्षको भएँ मेरो श्री श्वडसादेबी उच्च माध्यमिक विद्यालय मंगलशेन अछाममा भर्ना भयो । कक्षा १ देखि नै विद्यालयको होस्टेलमा बसेर पढेको हुँ । मैले कक्षा १० सम्म नै ब्रेललिपि तथा अडियोबाटै पढेको हुँ । मेरो पढाइ एकदमै तेज भएर पनि होला मलाई शिक्षकहरूले एकदमै सहयोग गर्नुभयो । उहाँहरूकै सहयोगले आज म यो स्थानसम्म आइपुगेको छु । मैले पढाइमा ‘ग्रेडअप’ गरेको हुँ, नत्र कहाँ अहिल्यै स्नातक पढिन्थ्यो र !
पढाइमा तेज भएको कारण सरहरूले पनि मलाई सहयोग गर्नुभयो । ग्रेडअप गरे पनि फेल भएको अनुभव भने मैले कहिल्यै गरिनँ । घरपरिवारको पनि म प्रति ठूलै विश्वास छ । परिवारको कुनै ठूलो निर्णय गर्नुपर्दा मेरो निर्णय नै अन्तिम निर्णय हुन्छ । त्यसमा मलाई खुशी लाग्छ । म फरक क्षमताको भए पनि परिवार, साथीभाइ तथा गुरुहरूको व्यवहारमा मैले फरकपन महसुस गर्नु परेको छैन । मलाई धेरैले माया गर्नुहुन्छ । विद्यालय पढ्दा त साथीहरूले मलाई स्टार भन्थें ।
कलेजको पहिलो दिन
प्रविणता प्रमाणपत्र तहसम्म त अछाममै पढें, जहाँ म कक्षा १ देखि भर्ना भएको थिएँ । कुनै समस्या भएन । चिनजानेको आफ्नै ठाउँ तर जब म स्नातक पढ्न सुर्खेत आएँ त्यसपछि कलेज लाइफको अनुभव बल्ल भयो ।
नयाँ ठाउँ । आफूले आँखा नदेख्ने । सोध्दै–सोध्दै म कलेजको गेटसम्म पुगें । एवम् रितले सोध्दै–सोध्दै म कक्षा कोठासम्म पुग्थें । साथीहरू पनि नयाँ–नयाँ र शिक्षकहरूसँग पनि राम्रो चिनजान थिएन । मलाई त्यसपछि चिन्ता बढ्यो । कतै कम फेल पो हुने हुँ की भनेर चिन्ता लाग्यो । एसएलसी प्रथम श्रेणीमा पास गरेको मान्छे । कलेजबाट फर्कंदा पनि मेरो मनमा कुरा खेलिरह्यो कतै मैले आफ्नो श्रेणी बचाउन सक्दिनकी भन्ने । तर विस्तारै साथीहरूसँग घुलमिल हुँदै गइयो । शिक्षकहरूसँग पनि चिनजान भयो । त्यसपछि मलाई पढाइमा सहज हुँदै गयो । आजभोलि मलाई सबैले सहयोग गर्नुहुन्छ । साथीहरूले नोट सार्न, हिँड्डुल गर्न पनि सहयोग गर्नुहुन्छ, खुशी लाग्छ । कलेजबाहेक घरमा तीन घण्टा त अनिवार्य पढ्छु । मैले पढ्ने भनेको सुनेर र कम्प्युटरको साहारामा हो । लेख्ने भनेको ब्रेललिपी मै हो । विद्यालयको पढाइ र कलेजको पढाइमा मलाई धेरै भिन्नता लाग्यो । विद्यालयमा चिन्ता कम हुन्छ, निश्चित विषयम पढाइ हुन्छ अनि कियर पनि बढी हुन्छ तर कलेजमा त्यो वातावरण खोजेर सम्भव छैन ।
मलाइ पढाइ बाहेक घुम्न अत्याधिक मनपर्छ, त्यो बाहेक गीत संगीत सुन्न, व्यंग्यात्मक कुराहरू गर्न र कानुनी तार्किक कुरा पनि मन पर्छ । मैले क्लास बंक त कहिल्यै पनि गरिनँ किनकी म नियमित कलेज जाने विद्यार्थी हुँ । कलेजको नराम्रो पक्ष खासै छैन । भौतिक व्यवस्थापनमा ढिलासुस्ती हुने गर्दछ । राम्रो पक्षहरू त धेरै छन् । प्रेम शर्तहीन अुनभूति हो । प्रेम साथीभाई, गुरु र परिवारलाई त गरेको छु । प्रेमिकालाई खासै गरेको छैन । मन त धेरैलाई पराइन्छ कुरा पनि गरिन्छ प्रेमको अर्थमा होइन ।
प्रोफेसर बन्ने सपना
म यसै पनि अंग्रेजी विषयको विद्यार्थी । त्यसमा पनि बौद्धिक पेशा मलाई अत्याधिक मन पर्ने । त्यसैले म कुशल प्रोफेशर बन्नकै लागि यो विषय पढेको हुँ । मेरो भविष्यको लक्ष्य पनि यही छ । म फरक क्षमता भएको भएर पनि होला कहिले काहीं अरुको साहारामा बाँच्नुपर्दा दुख लाग्छ । मैले गर्दा साथीहरूलाई दुःख भयो की भन्ने महसुस हुन्छ । मलाई साथीहरूले एकदमै सहयोग गर्नुहुन्छ ।
जीवनमा खुशीको क्षण भन्नुपर्दा एसएलसी प्रथम श्रेणीमा पास भएको थिएँ । त्यो दिन सम्झँदा आज पनि खुशी लाग्छ । दुःखको क्षण भन्नुपर्दा म आउँदा सुर्खेतकै बैंकमा खाता खोल्नको लागि गएको थिएँ त्यहाँ उहाँहरूले मोबाइल बैंकिङ दिन मान्नुभएन । म आँखा नदेख्ने भएकोले मलाई त्यो आवश्यकता
थियो । उहाँहरूले मेरो खाता बेकार खोलिएछ भन्ने जस्तो शब्द बाल्नुभयो । अनि मलाई एकदमै दुःख लाग्यो । फरक क्षमता भएकालाई छुट्टै ग्रहबाट आएको जस्तो व्यवहार गर्दा दुःख लाग्छ । जे भए पनि मलाई साथ र सहयोग धेरैले दिनुहुन्छ खुशी लाग्छ ।
साझा बिसौनी ।