तीन वर्षमा तीन सय बढीकोे मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ पुस ।
गत कार्तिक १९ गते डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको जीप दुर्घटना भयो । जीपमा सवार १३ जनामध्ये ११ जनाको मृत्यु भयो । भे १ च १६१० नं. को जीप ठूलीभेरी नदीमा खस्दा दुई जना घाइते भए । साँघुरो सडक भएकाले डोल्पामा हालसम्मकै ठूलो दुर्घटना भयो ।
यस्तै मंसिर १२ गते सुर्खेतदेखि दैलेखको ठाँटीकाँध गाउँपालिका–३ बहाँकोटका लागि छुटेको जीप दुर्घटना भयो । भे १ च २२०७ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार आठ जनामध्ये पाँच जनाको मृत्यु भयो । कच्ची सडक भएकाले त्यो सडक खण्डकै ठूलो दुर्घटना भयो ।
उल्लेखित सडक दुर्घटनाहरू त पछिल्लो एक महिनामा भएका दुई उदाहरण मात्रै हुन् । कर्णाली प्रदेशमा वर्षेनी हुने सडक दुर्घटनाको तथ्यांक कहालीलाग्दो छ । जसबाट सयौंले ज्यान गुमाएका छन् भने त्यत्ति नै संख्यामा घाइते र अङ्गभङ्ग भएका छन् । पछिल्लो तीन वर्ष यता कर्णालीका १० जिल्लामा सवारी दुर्घटनाको तथ्यांक हेर्ने हो भने पनि कहाली लाग्दो रूप देखिन्छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विगत तीन वर्ष यता कर्णालीका १० जिल्लामा सवारी दुर्घटनामा परी तीन सय बढीले ज्यान गुमाइसकेका छन् ।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७२÷०७३ देखि २०७४÷०७५ सम्म दुई सय ४९ वटा सवारी दुर्घटना भएका छन् । उक्त दुर्घटनाबाट तीन सय १४ जनाले अकालमा ज्यान गुमाउनुप¥यो । दुर्घटनामा पाँच सय ३९ जना घाइते भए । आ.व. २०७२÷०७३ मा ७२ स्थानमा सवारी दुर्घटना भएका थिए । जसमा ८३ जनाको मृत्यु भयो भने एक सय १३ जना घाइते भए । यस्तै, आ.व. २०७३÷०७४ मा ७६ वटा सवारी दुर्घटना हुँदा एक सय १६ जनाको मृत्यु भएको थियो भने एक सय ८१ घाइते भएका थिए । यसैगरि आ.व. २०७४÷०७५ मा एक सय एक दुर्घटनामा एक सय १५ जनाको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये दुई सय ४५ जना घाइते भएका थिए । उल्लेखित तथ्यांक हेर्ने हो भने, सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाउनेको अवस्था निकै डर लाग्दो छ । साँघुरो र कच्ची सडक, सवारी चालकको लापरवाही, थोत्रा सवारी साधन नै दुर्घटनाको मुख्य कारण भएको सुरक्षा निकायको निश्कर्ष छ ।
यसैबीच एकातर्फ सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या बढिरहँदा अर्कोतर्फ सवारी साधन चलाउन नियम उलंघन गरेवापत असुली हुँदै आएको राजश्वमा वृद्धि हुँदै गएको छ । प्रदेश प्रहरीको तथ्यांक अनुसार विगत तीन वर्ष यता सवारी साधन कारबाहीको संख्यासमेत बढेको हो । ट्राफिक प्रहरीको सक्रियता बढेसँगै नियम उलंघन गरेर सवारी साधन चालकहरू पक्राउ पर्ने गरेका छन् । तथ्यांक अनुसार आ.व. २०७२÷०७३ मा एक लाख ३८ हजार दुई ५९ वटा सवारी साधनहरू पक्राउ परेका थिए । जसबाट एक करोड ९१ लाख ७० हजार दुई सय रूपैयाँ राजश्व असुली भएको थियो ।
यस्तै, आ.व. २०७२÷०७३ मा ३२ हजार १५ सवारी साधन कारबाहीमा परेका थिए । जसबाट एक करोड ८७ लाख ९९ हजार पाँच सय रूपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको तथ्यांकले जनाएको छ । यसैगरी आव २०७४÷०७५ मा प्रहरीले ३६ हजार आठ सय ११ सवारी साधन कारबाही गरेको थियो । जसबाट दुई करोड नौ लाख ४४ हजार पाँच सय रूपैयाँ राजश्व असुली भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार यातायात विभागलाई सवारी धनीलाई ब्लूबुक दिने, सवारी दर्ता खारेज गर्नसक्ने, लाइसेन्स दिने र निलम्बन तथा खारेज गर्नसक्ने अधिकार छ । तर विभागले पनि भने जसरी काम गर्न सकेको छैन । चालकहरूले पनि सरकारले तयार पारेको मापदण्ड मान्दैनन् । जसले गर्दा दुर्घटना बढ्ने गरेको जनाइएको छ । चालकले आफ्नो व्यवहार सुधार गर्ने र सवारी साधनलाई मर्मत गरी चुस्त अवस्थामा राख्ने हो भने आधा दुर्घटना कम हुने प्रहरीको भनाइ छ । त्यस्तै सडकहरू सुधार्ने, यात्रु तथा पैदल यात्रीहरू सचेत हुने हो भने दुर्घटना न्यूनीकरण हुने सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मितिः   २० पुष २०७५, शुक्रबार १३:२१