अनियमिततामा मुछिए शाही
साझा बिसौनी संवाददाता
सुर्खेत, १८ पुस ।
नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदमा देखिएको अनियमिततामा पूर्व मन्त्री एवम् कर्णाली प्रदेशसभाका सदस्य जीवनबहादुर शाही पनि मुछिएका छन् । संघीय संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उप–समितिले जहाज खरिदमा चार अर्ब ३५ करोड रूपैयाँ अनियमितता भएको निश्कर्ष निकाल्दै वहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रविन्द्र अधिकारीसहित पूर्वमन्त्री शाही र जितेन्द्रनारायण देवलाई पनि कारबाहीका लागि सिफारिस गरेको हो ।
शाहीले सार्वजनिक खरिद ऐन, २०६३ विपरित अनियमित तरिकाले विमान खरिद कार्य अघि बढ्दा पनि पर्याप्त शतर्कता नअपनाएको आरोप उप–समितिको छ । जसका कारण उनी पनि उक्त अनियमितामा मुछिएका हुन् । पूर्वमन्त्री भए पनि उनले अनियमितताको नैतिक जिम्मेवारी लिनुपर्ने निश्कर्ष निकालेर समितिले शाहीलाई कारबाहीको सिफारिस गरेको हो ।
आफ्नै मन्त्रालयका सचिव नै निगमको अध्यक्ष रहँदा पनि आवश्यक निर्देशन दिन नसकेको र बयाना रकम सटही सुविधा प्रदान गर्न निर्णय गरेकोले उनले नैतिक जिम्मेवारी लिनुपर्ने देखिएको उप–समितिको निश्कर्ष छ । शाहीलाई कानुनसम्मत् कारबाहीका लागि सिफारिस गरिएको समितिले जनाएको छ । शाही कर्णाली प्रदेशसभा सदस्य हुन् । उनी नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुन् ।
शाहीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । जहाज खरिदमा कुनै पनि विधि र प्रक्रिया मिच्ने काम नगरेको दाबी गर्दै उनले उप–समितिले लगाएका आरोपमा आफू कतै संलग्न नभएको बताए । ‘नेपाल वायुसेवा निगम आफैंमा स्वायत्त निकाय हो । त्यो निकायको बोर्डले जहाज खरिद गर्ने निर्णय गरेर ठेक्का सम्झौता गरिसकेपछि मैले विदेशी मुद्रा सटहीको निर्णय मात्र गरिदिएको हुँ,’ उनले भने, ‘जहाज खरिदका अन्य कुनै पनि निर्णय मैले गरेको होइन ।’ खरिद प्रक्रियाबारे त्यतिबेला उठेका प्रश्नमा न्यायिक निकायबाट सफाइ पाइसकेको उनले बताए ।
उनका अनुसार निगमले १० करोड रूपैयाँ बराबर प्रतिबद्धता रकम पठाउँदा राष्ट्र बैंकले तालुक मन्त्रालयको चिठ्ठी मागेको थियो । राष्ट्र बैंकको राय अनुसार निगम बोर्डले सिफारिस गरिदिन मन्त्रालयलाई पत्र लेखेपछि आफूले हस्ताक्षर गरिदिएको पूर्वमन्त्री शाहीको भनाइ छ ।
‘खरिद प्रक्रियाबारे त्यतिबेला पनि मैले संसदीय समितिहरूमा थुप्रै पटक जवाफ दिएको छु । खुला प्रतिस्पर्धाबाट जहाज किन्ने काम सुरु भएको थियो, त्योभन्दा बढी कुरामा कुनै चासो र जानकारी राखिनँ,’ उनले भने, ‘पैसा पठाएपछि जहाज आउँछ कि आउँदैन, तोकिएको स्पेशिफिकेशन अनुसार आउँछ कि आउँदैन भन्ने जस्ता प्रश्न थिए ।’
साझा बिसौनी ।