बहस शब्दकोशको ः राजनीति कि जननीति ?

कविराज खत्री
आदिम साम्यवादी युगको पतन र सामन्तवादी युगको उदय भएपश्चात विश्वको इतिहासको धेरैजसो कालखण्ड राजतन्त्रात्मक शासन व्यवस्थामा आधारित भयो । अर्थात राजा (सबै क्षेत्रमा पहुँच भएका उच्च खानदानिया) ले वंशीय शासनको सुरुवात गरे । दास र दास मालिकाको उदयदेखि नै यसको प्रारूप देखापरेको हो । राजाहरूले शासन गर्ने पद्दतिको सुरु भएदेखि अंग्रेजी भाषामा भनिने ‘पोलिटिकल’ लाई नेपाली भाषामा ‘राजनीति’ भनि परिभाषित गरिएको हुनुपर्दछ । यो शब्दको अर्थ आफैमा व्यापक छ । भन्नुको तात्पर्य राजाले नीति लागू गरी त्यो भूगोलका जनतालाई रैती (आफ्ना कमारा÷कमारी) बनाउने र आफूहरू राज सिंहासनमा बसेर हुकुम चलाउने व्यवस्थाको शब्दकोष नै ‘राजनीति’ भएको हुनुपर्दछ । सारमा राजा–रजौटा, भाइ–भारदारियाहरूले हुकुम प्रमाणीकरण गरेर चलाउने नीतिलाई नै ‘राजनीति’ भनिदै आएको छ र अहिले पनि हामीहरूले यहि शब्दलाई आफ्नो सम्पत्तिका रूपमा ऊजागर गरिरहेका छौं ।
राजतन्त्र (राजनीति) हटाउन विश्वमा भएका क्रान्तिहरूः
राजनीतिलाई हटाएर जननीतिमा बदल्न विश्वमा केही महŒवपूर्ण क्रान्तिहरू भए । ई.सं. १७८९ मा फ्रान्समा सामन्ती राजतन्त्रका विरुद्ध राज्य क्रान्ति भयो । जुन क्रान्तिले समानता, स्वतन्त्रता र भाइचाराको नारा दियो । राज्य क्रान्ति हुनुको मुख्यकारण सामन्ती राजतन्त्र नै थियो । लुइ चौधौंले ‘म नै राज्य हुँ, मेरा शब्दहरू नै कानुन हुन्’ भनि आफूलाई परिभाषित गरे । जसका कारणले सामन्ती व्यवस्थाका विरुद्धमा जनताले क्रान्ति गरे ।
यसैगरी अमेरिकामा ब्रिटिस औपनिवेशले पनि एक प्रकारको सामन्ती व्यवस्थामा आधारित शासन सञ्चालन गरेको थियो । त्यसका विरुद्ध जर्ज वासिङ्टनको नेतृत्वमा जनताले चलाएको लामो संघर्षबाट इ.सं. १७८३ मा लडाईं समाप्त भयो । इ.सं. १७७६ जुलाई ४ मा पूर्ण स्वतन्त्रता मिल्यो । त्यो आन्दोलनको मूल मर्म प्रतिनिधित्व हुँदैन भने कर पनि तिरिदैन भन्ने थियो ।
इटली एकीकरणको कालखण्ड पनि यस्तै थियो । १९ औं शताब्दी पूर्व इटलीमा १३ राज्यहरू थिए । ती १३ वटा भुरे टाकुरे राजतन्त्रात्मक देशहरूलाई एकीकरण गरी प्रजातन्त्र प्राप्तीका लागि जोसेफ मेजिनीको नेतृत्वमा इ.सं. १८३१ मा विजय प्राप्त गरी ‘जवान इटली’ नामाकरण दिँदै प्रजातान्त्रिक अभ्यास सुरु गरियो । इ.सं. २ अप्रेल १८६० बाट इटली देशको जन्म भएको मान्न थालियो । इटली एकताका जन्मदाता नेपोलियन थिए । रुसमा सामन्तवादी जार शासनले लामो समय शासन गरिरहेको थियो । जसका विरुद्ध बोल्सेविक पार्टीका नेता लेनिनको नेतृत्वमा जनताले बलिदानीपूर्ण संघर्ष गरे । इ.सं. १९१७ मा जारशाही शासनको अन्त्य भयो र समाजवाद लागू भयो ।
चीनमा पनि मञ्चु राजवंशको पतन इ.सं. १९११ मा भयो । इ.सं. १९११ डिसेम्बर २९ का दिन क्रान्तिकारीहरूले सनयात सेनलाई आफ्नो सरकारको अध्यक्ष चुने । त्यसपछि इ.सं. १९२५ मा माओले हुननमा किसान आन्दोलनको नेतृत्व गरे । इ.सं. १९४९ अक्टुबर १ तारिकामा माओको नेतृत्वमा जनवादी गणतन्त्र स्थापना भयो र सामान्ती राज्यव्यवस्था सधाका लागि अन्त्य भयो । यसरी विश्वमा सामन्ती शासनको अन्त्यको लहर आएको हो । अर्थात ‘राजनीति’ शब्दको अन्त्य भएको हो । यो विश्वमा सामन्ती राज्यव्यवस्थाको अन्त्यका केही उदाहरण मात्र हुन् । अर्थात् राजनीति हटाउन भएका संघर्षहरू हुन् ।
राजतन्त्र (राजनीति) हटाउन नेपाली क्रान्ति
यस विषयमा हामी सबै नेपालीहरू जानकार नै छौं । विषयलाई धेरै लामो बनाउन नपर्ला । मूलत चार जना शहिदहरूले राजतन्त्र (राजनीति) हटाउनका लागि जीवन वलिदान दिए पश्चात यसको सुरुवात भएको हो । २००७ सालमा प्राप्त प्रजातन्त्र, २०४६ सालमा प्राप्त बहुदलीय व्यवस्था, २०५२ मा सुरु भइ २०६१ तिर समाप्त भएको सशस्त्र संघर्ष, २०६३ मा प्राप्त जणतन्त्र राजतन्त्र
(राजनीति) हटाउन गरिएका आन्दोलनहरू हुन् ।
मुख्य गरी विगतमा पटक–पटक राजतन्त्र (राजनीति) हटाउन आन्दोन भए तर ती आन्दोनहरू पछि प्राप्त उपलब्धिको रक्षा हुन सकेन । २०६३ सालमा प्राप्त जनशासन पश्चात नै राजतन्त्र (राजनीति) को अन्त्य भएको मान्न सकिन्छ । लगभग अब नेपालमा राजतन्त्र (राजनीति) फर्कन सक्ने सम्भावना हटेर गएको छ । २०६३ पश्चात नेपाल अर्को युगमा प्रवेश गरेको छ । यद्दपि यसभित्र पनि त्यही परम्परावादी चिन्तन, सोच र कार्यशैली रहेकाछन् ।
विषयको केन्द्रीकरण
विषयको मुख्य अन्तरवस्तु नेपाली शब्दकोषमा रहेको र हामी सबैले सत्ता प्राप्ती गर्ने क्रियाकलापको नाम राजनीतिसित सम्बन्धित रहेको छ । यस विषयमा माथि केही कुराको चर्चा भइसकेको छ । यो राजनीति भन्ने शब्द नै अबको सन्दर्भमा खोटपूर्ण हुन्छ की ? या त यो शब्दले प्रतिगामी दिशाबोध गर्छ की ? भन्ने समस्या देखा परेको छ । जसरी नेपालमा राजतन्त्र ढल्यो, राणा शासन ढल्यो, सशस्त्र युद्ध ढल्यो ठीक त्यही प्रकारले अब नेपाली शब्दकोषमा रहेको राजनीति शब्द पनि ढाल्नु पर्दछ की ? किनभने राजाले शासन गर्ने नीतिलाई नै मुख्य आधार मानेर ‘राजनीति’ शब्दको उत्पत्ति भएको हो । यो शब्द नेपालमा सामन्ती राजतन्त्र हुँदासम्म ठीक थियो तर अहिले नेपालमा सामन्ती राजतन्त्र छैन । अहिले नेपालमा जनतन्त्र छ अर्थात् जनताको शासन छ । जनताको शासन छ भन्नुको अर्थ जननीति छ । यसकारण ‘राजनीति’ शब्दलाई हटाएर ‘जननीति’ शब्द लेखिनु पर्दछ र बोलिनु पर्दछ ।
वास्तवमा परिवर्तनको पहिलो अनुभूति त्यसपूर्व त्यस शासनसँग सम्बन्धित शब्दहरू पनि अन्त्य हुनुपर्दछ । हामीले प्राप्त जनतन्त्र गर्ने तर भन्ने बेलामा त्यही पुरानो शासनका लागि उत्पत्ति गरिएको शब्द प्रयोग गर्ने ? शब्दले कतै त्यही पुरानो शासन त छैन भन्ने शंका उत्पन्न गर्दछ ।
हुन त शब्दले होइन, सत्ता व्यवहारमा बदलिनु पर्दछ । नेपालको सन्दर्भमा सत्ता सञ्चालनको विधि, प्रक्रिया, पद्दति त्यही सामन्ती राजतन्त्रको भन्दा खासै भिन्न हुन सकेको छैन । देश नीति र विधिबाट सञ्चालित छैन । जनप्रतिनिधिहरू भ्रमणमा जाँदा पहिलाको सामन्ती संस्कार अनुसार स्वागत गर्ने, अघि पछि लाग्ने, भोज भण्डारा गर्ने, राजसी खाना खाने, सम्मान पनि त्यही सामन्ती पाराको शैलीमा गर्ने प्रचलन छँदैछ । सत्ताले अन्य दैनिक सम्पादन गर्ने कार्यशैली पनि हुवहु सामन्ती पारा र संस्कार अनुसार नै छ । तथापि राजनीति शब्दको अहिले पनि उही औचित्य छ जस्तो लाग्दछ । यति हुँदाहँुदै पनि वर्तमान युगको सन्दर्भमा राजतन्त्र (राजनीति) भन्ने शब्दको सट्टामा जननीति शब्द हामी सबैले प्रयोग गर्नु पर्दछ की ? जस्तै तपाईं के गर्नुहुन्छ ? राजनीति भन्नुको सट्टा तपाईं के गर्नुहुन्छ ? जननीति गछु भन्न सुरु गर्ने हो की ?, नेपालका राजनीति पार्टीहरूको सट्टामा नेपालका जननीति पार्टीहरू भन्न सुरु गर्ने हो की ? अर्थात् सारमा हामीले जुन जुन ठाउँमा राजनीति शब्द प्रयोग गर्दै आइरहेका छौं, ती ती ठाउँहरूमा जननीति शब्द प्रयोग गर्दा वास्तवमा अब नेपालमा जनताको शासन सुरु भयो भन्ने पहिलो सकारात्मक सन्देश जाने थियो । यो अपरिहार्य पनि रहेको छ ।

(लेखक दैलेख उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष हुन् ।)

प्रकाशित मितिः   १९ पुष २०७५, बिहीबार १२:२२