असल शिक्षक

भरत सुवेदी
बिहान चार बजे हतारमा उठेँ । मुखलाई पानिले भिजाएँ । टावेलले मुख पुछें । मलाई कतै जान हतार थिएन । मलाई हतार नयाँ कोट–पाइन्ट शरीरमा छिराउन भएको थियो । नयाँ शब्दमा विशाल शक्ति छ, जुन पुरानोमा छैन । सर्ट, पाइन्ट, टाइ अनि कोट सबै लगाएँ । बच्यो जुत्ता लगाउन । कलेज सात बजेदेखि थियो । म पाँच बजे नै तयार भएँ । अँध्यारो कोठाभित्र उज्यालो बल्बको अगाडि अनेक प्रकारका कार्यहरू भए । घरी सेल्फी खिच्ने, घरी दराजको अगाडि ऐनामा गएर उभिने । यो नयाँ कोट पाइन्टले दिएको ऊर्जा थियो ।
कोट पाइन्टमा आफैलाई हेर्दा हेर्दै ६ बज्यो । कपडा मात्र नयाँ थिएनन् । मेरो त कलेज पनि नयाँ थियो । मेरा शिक्षकहरू पनि नयाँ हुनुहुन्थ्यो । पुस्तकहरू पनि नयाँ थिए । साथीहरू केही चिनजानका थिए । धेरै अन्जान थिए । सबै नयाँको समयमा एउटा पुरानो कलम झोलामा राखें ।
पहिलो दिन कलेज जाने तयारी हतारमा चल्यो । त्यो ऊर्जा नयाँले दिएको थियो । तन मन लगाएर पढेर कलेज टप गर्ने सोचेर हिँडे । बाटोमा फूर्ति साथ हिँड्दै कलेज पुगें । कसैकसैले मलाई हेरे भने पनि मजा लाग्थ्यो । गेटमा म जस्तै नयाँहरू नयाँ सुटमा सजिएर आएका थिए । लगभग पूरै साथि नचिनेका थिए भन्दा फरक नपर्ला । हामी सबै कक्षा कोठा बाहिरै थियौं । एक जना भलाद्मी देखिने शिक्षक हातमा पुस्तक मार्कर अनि डस्टर बोकेर आउँदै हुनुहुन्थ्यो ।
एक जना साथी बोल्यो ‘यो सरलाई त म नमस्कार गर्दिनँ, पाँच सयको घडि देखाउँछ यार ।’
अचम्म लाग्यो आफूलाई पढाउने गुरुलाई इज्जत गर्दैनन् । कसको इज्जत गर्छन् होला ? लगभग हामी सबै लाइनबद्ध जसरी नै उभिएका थियौं । शिक्षक विस्तारै सबैको अगाडिबाट हिँड्नु भयो । उहाँलाई कसैले नमस्कार गरेनन् । सबैले गुरुभक्ति छोडे भन्दैमा मैले पनि गुरु भक्ति छोड्नुपर्छ भन्ने थिएन । त्यसैले अनुशासित विद्यार्थीको आशय लिएर भनें ‘गुड मर्निङ सर ।’
सबै साथिहरू गलल हाँसे । उहाँले नमस्ते फर्काउनुको साटो आफ्नो हातको घडीतिर हेर्नुभयो । आफ्नो हातको घडी हेर्दै अगाडि बढ्नुभयो । मेरो गुरुभक्तिलाई ठाडै अस्वीकार गरेको भान भयो । मलाई अचम्म लाग्यो । साथीहरूले मलाई हेरेर भरपुर मजा लिइरहेका थिए । उनीहरूलाई हाँस्ने अधिकार थियो । आफ्नो बेइज्जत भएको महसुस भयो । उहाँप्रति आक्रोस बढेर आयो । असल शिक्षक हुनै नसक्ने लाग्यो । शिक्षकको व्यवहार आँखामा झलझली नाचिरह्यो । शिक्षक हुनुको कतिसम्मको घमण्ड, दिएको सम्मानलाई कुल्चिदिने !
शिष्य शिष्ट हुने । शिष्यमा गुरुभक्ति जगाउने । शिष्यलाई सही मार्ग दिने । शिक्षकको व्यवहार मलाई असैह्य भयो । कलेजको पहिलो दिन सुखद् रहेन ।
शिक्षकको गलत व्यवहार भएको कलेजमा विद्यार्थीले के सिक्छन् ? मेरो नजरमा त्यो कलेजका हरेक शिक्षकहरू नराम्रा नै छन लाग्यो । मलाई त्यस कलेजमा भर्ना लिएर जिन्दगी धरापमा परेको आभास भयो । मैले गुड मर्निङ भन्दा उहाँले वास्ता किन गर्नु भएन ? उहाँको समस्या के हो ? दिनभर त्यही सोचेर बसिरहें । रातभर आँखाले ओथारो हाल्न चाहेनन् । निस्पट अँध्यारो रात, कयौं रातहरू मिलेर बनेको जस्तो लामो भयो । अघिल्लो दिन नयाँ कपडाले छिट्टै कुदायो । दास्रो दिन शिक्षकलाई प्रणाम गर्ने सोचले कुदायो । छिट्टै गएर अघिल्लो दिन जसरी, उही शिक्षकको प्रतिक्षामा बसें । साथीहरू मलाई हेरेर खासखुस गरिरहेका थिए । मलाई अघिल्लो दिन लज्जास्पद बनाउने शिक्षक हातमा पुस्तक समातेर आउनु भयो । अघिल्लो दिन जसरी नै होसियार हुँदै अल्लि झुकेर, आदरका साथ भने ‘गुड मर्निङ सर ।’ उहाँले आफ्नो हर्कत दोहो¥याउनु भयो । साथीहरू पेट मिचिमिचि हाँस्न थाले । कोही हाँस्दै भन्दै थिए, ‘हिजोकोले पुगेन, आज फेरि त्यही भनिस् ?’
साथीहरू एकअर्काको हातमा चेस गर्दै हासिरहें । म हाँसोको केन्द्रबिन्दु बनें । एक साथीले नजिकै आएर भन्यो ‘यो सरले पीएचडी गरेको छ, नेपालीमा कसैलाई टेड्दैन ।’ कुरा कसैलाई टेड्ने र नटेड्नेको थिएन । विद्यार्थीले दिएको गुरुभक्ति त स्वीकार गर्नुपथ्र्यो ।
म रिसको झोकमा क्याम्पस प्रमुखको कार्यकक्षमा पुगें, नेपाली विषय पढाउने ती शिक्षकले विद्यार्थीसँग गरेको व्यवहार ठीक नभएको भन्दै । कि म यो कलेज छोड्छु कि नेपाली शिक्षकको राजिनामा हुनुपर्छ । क्याम्पस प्रमुख पनि अकमक्क परेर हेरिरहनु भयो । राम्रो कार्यका लागि सजिलै सहयोगि हात नजुट्न सक्लान । गलत कार्यका लागि हजारौं हात पसारिन्छन् । मेरो साहस देखेर मेरो सहयोगमा साथीहरूले नारा लगाए । नेपाली शिक्षकको राजिनामा माग्दै गाली गरे । पूरा कलेजमा हो हल्ला मच्चियो । शिक्षकले नमस्कार नफर्काएको भन्दै आन्दोलन गर्ने विद्यार्थी हामी नै थियौं । सबै उत्सुकताका साथ साथीहरू लागिरहेका थिए । कलेज बाहिरका सबैलाई चासोको विषय बन्यो । कलेजमा मान्छेहरूको भिड लाग्यो ।
नेपाली शिक्षक आफ्नो विरुद्ध नारा चलेपछि कार्यालयमा आउनुभयो । बीचमा साथीहरूले हात हाल्ने प्रयास पनि गरे । सबै साथीहरू रुष्ट भएका रहेछन् । हामीले आन्दोलन गर्नुको कारण सुनेर मुस्कुराउँदै भन्नुभयो, ‘तिमीहरू सबै एक कक्षामा गएर बस त्यसको कारण म बताउँछु ।’ उहाँले त्यसो बोल्दा ठूलो रहस्य खुले जस्तो लाग्यो ।
हामी शान्त भएर सबै एक कक्षा कोठामा अटाइ नअटाइ गरेर बस्यौं । कति साथीहरू उभिइरहेका थिए । कतिले झ्यालदेखि हेरिरहेका ।
क्याम्पस प्रमुख सरको साथमा नेपाली शिक्षक पनि आउनुभयो । शिक्षकको उपस्थितिमा हामी आफ्नो स्थानबाट उठेनौं ।
नेपाली शिक्षक मुस्कुराउँदै बोल्न थाल्नुभयो, ‘तपाईंहरू हल्ला नगर्नुस् । यदि म गलत रहेछु भने म जागिर छोडेर जानेछु । तपाईंहरू भन्नुहुन्छ, बिहान गुड मर्निङ सर । दिउँसो भन्नुहुन्छ गुड मनिङ सर । साँझ भन्नु हुन्छ गुड नाइट सर । कसैकसैले त साँझ पनि गुड मर्निङ सर भन्नुहुन्छ । मैले घडि हेर्नुको कारण तपाईंले सही समयमा सही कुरा बोल्न सक्नुभएको छैन । तपाईंहरू सही समयमा सही कुरा बोल्नुहोस् । सही समयमा सही काम गर्नुस् । सही व्यक्तिसँग सही कुरा गर्नुस् । गलत समयमा गरेका हरेक राम्रा कार्यहरू गलत ठहरिनेछन् ।
म नेपाली विषयको शिक्षक ‘सर नमस्ते भन्नुहोस् न, बरु शुभप्रभात भन्नुहोस् न, गुड मर्निङ नेपाली शब्द होइन । म यसकारण दुःखी छु, तपाईंहरू नेपाली भएर नेपाली शिक्षकसँग शुद्ध नेपाली बोल्न सक्नुहुन्न । तपाईंहरू बोल्दा विचार गरेर बोल्नुहोस् र हरेक नराम्रा पक्षबाट पनि लाभ लिनुहोस् । गलत कार्यहरू पनि सही समयमा गरेपछि सही हुन्छन् । हजुरहरूलाई शुभकामना । यदि अझै म गलत छु भन्नु हुन्छ भने म राजिनामा दिन तयार छु ।’ तब बीचबाट उठेर एक असल शिक्षकको नाममा जोरदार तालिको सुरुवात मैले गरें । त्यसपछि छाना उड्ने गरी नेपाली शिक्षकको नाममा सम्मानको ताली गुन्जियो ।

प्रकाशित मितिः   २१ पुष २०७५, शनिबार १२:२८