प्रदेश कपको उपाधि सुर्खेतलाई

सुर्खेत, १७ पुस । (साबिस)
कर्णाली प्रदेश कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ । रुकुम पश्चिममा सञ्चालित प्रतियोगिताको फाइनलमा जाजरकोटलाई १४ रनले पराजित गर्दै सुर्खेतले उपाधि जितेको हो ।


टस जितेर पहिले ब्याटिङमा उत्रिएको सुर्खेतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६० रन बनाएको थियो । उसका लागि भविन सारु मगरले नटआउट ४० र टेक सलामिले पनि ४० रन बनाए । जाजरकोटका लागि प्रणम भडेलले तीन र केशर अधिकारीले दुई विकेट लिए ।
एक सय ६१ रनको लक्ष पछ्याएको जाजरकोटले एक सय ४६ रन मात्र बनाउन सक्यो । पूरा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा जाजरकोटले उक्त योगफल तयार गरेको हो । जाजरकोटका लागि पदमराज भण्डारीले सर्वाधिक ७१ रनको योगदान दिए पनि अन्य ब्याट्सम्यानले राम्रो अंकमा रन बनाउन नसकेपछि जाजरकोट पराजित हुन पुग्यो । सुर्खेतका कप्तान रविन्द्रजंग शाहीले चार तथा ललित प्याकुरेलले दुई विकेट लिए ।
उपाधि विजेता सुर्खेतले नगद एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप–विजेता जाजरकोटले ६० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला क्रिकेट संघ रुकुमका अध्यक्ष दिपक बाँठामगरले जानकारी दिए । प्रतियोगिताको म्यान अफ द् सिरिज कालिकोटका सुनिल भण्डारी, बेष्ट ब्याट्सम्यान सुर्खेतका रविन्द्रजंग शाही, बेष्ट बलर आयोजक रुकुमका युवराज केसी, इमर्जिङ प्लेयरमा सुर्खेतका टोपेन्द्र जिसी र स्थानीय इमर्जिङ प्लेयर आयोजक रुकुमका धनजित खड्का घोषित भए । उनीहरूलाई ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो ।
कर्णाली प्रदेशको क्रिकेट विकासमा टेवा पु¥याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले बताएको छ । गत पुस १० गते कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गरेको प्रतियोगितामा आयोजक रुकुम, सुर्खेत, जाजरकोट, सल्यान, कालिकोट, डोल्पा र जुम्ला जिल्लाले सहभागिता जनाएका थिए ।

प्रकाशित मितिः   १८ पुष २०७५, बुधबार १४:०६