पप्पुले लिएको पुल ६ वर्षदेखि अलपत्र
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ पुस ।
गुणस्तरहीन काम गर्ने र समयमै योजना सम्पन्न नगर्नाले बदनाम बनेको पप्पु कन्स्ट्रक्सनले सुर्खेतमा पनि पुल निर्माण कार्य अलपत्र पारेको पाइएको छ । भुरीगाउँ–तेलपानी सडकखण्ड अन्तर्गत निर्माणाधीन भेरी नदीको पुल विगत ६ वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीले सम्झौता अनुसार काम हुन नसक्दा पुल अलपत्र परेको हो ।
पप्पु÷मल्ल जेभी निर्माण कम्पनीले ठेक्का लिएको पुल सम्झौता अनुसार २०७२ पुस २८ गते सम्पन्न भइसक्नुपर्ने हो । तर, सम्झौता अनुसार काम सक्नुपर्ने मिति गुज्रेको तीन वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन । वि.सं. २०६९ साल असार २९ गते सडक विभाग अन्तर्गतको पुल महाशाखासँग पप्पु कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुल ६ वर्ष पुगिसक्दा पनि अलपत्र अवस्थामा छ । एक सय २० मिटर लम्बाई रहेको उक्त पुलको निर्माण कार्य जम्मा २५ प्रतिशत मात्रै भएको छ । भ्याटसहित १६ करोड १५ लाख ७७ हजार आठ सय ७३ रूपैयाँमा सम्झौता भएको पुल निर्माणको काम हाल सञ्चालन हुन सकेको छैन । सम्झौता अनुसार पुलको जग बायाँ किनाराको खुल्ला फाउण्डेशन, दायाँ र खोलाबीचको वाल फाउन्डेशनमा निर्माण गर्नुपर्ने हो । तर, निर्माण कम्पनीले सडक विभागमा बुझाएको विवरण अनुसार दायाँ किनारा र बीच भागको जग बसाउन समस्या भएको उल्लेख छ । पुल निर्माणमा देखिएको अवरोध हटाउन गोताखोर र ब्लाष्टिङ्ग गर्दा पनि नदीको जग बनाउने ठाउँमा लागेको ढुङ्गा फुटाउन नसकिएको निर्माण कम्पनीले बताएको छ ।
समयमा पुल निर्माण नहुँदा सदरमुकाम वीरेन्द्रनगरदेखि तेलपानी, सुँगुरखाल, श्रीचौर, हरिहरपुर, रानीघाट, हर्रे, लेखगाउँको नर्सिङ्गकाँडा लगायतका बस्ती पुग्न निकै समस्या हुने गरेको छ । त्यस क्षेत्रको लेकाली क्षेत्रमा आलु र बेसार तथा भेरी क्षेत्रमा अन्न उत्पादन, तरकारी तथा पशुपालन लगायतका थुप्रै सम्भावना छन् । ‘यहाँको उत्पादनले बजार पाउन सकेको छैन’ स्थानीय रत्नबहादुर बुढाले भने, ‘पुल निर्माण नहुँदा सवारी साधन सञ्चालन हुन सकेका छैनन्, सदरमुकाम पुग्न डुङ्गाकै भर पर्नुपर्ने बाध्यता छ ।’ ती बस्तीबाट वीरेन्द्रनगर नजिक भए पनि उच्च शिक्षाका लागि सदरमुकाममै कोठा भाडामा लिएर बस्नुपर्ने त्यस क्षेत्रका विद्यार्थीको बाध्यता बनेको छ । ‘पुल बन्यो भने विद्यार्थीले बिहान हिँडेरै कलेज भेटाउन सक्छन्’ उनले भने, ‘पुल निर्माण नभएसम्म यस ठाउँको विकास बाटो रोकिएको छ ।’
सर्पदंश, घाँस, दाउरा काट्दा लडेर त्यस क्षेत्रमा वर्षेनी मान्छेहरू ज्यान गुमाउँछन् । पुल नहुँदा एम्बुलेन्स सञ्चालनमा छैनन् । गाउँमा भरपर्दो स्वास्थ्य उपचारसमेत हुँदैन । ‘उपचार नपाएरै यहाँ मान्छेले अकालमा ज्यान गुमाउनुपर्छ’ स्थानीय बुढाले भने, ‘गाडी नचल्दा बोकेरै अस्पताल पु¥याउनुपर्ने बाध्यता छ । पुल निर्माणमा सरकारी र निर्माण कम्पनी दुवै पक्ष जिम्मेवार देखिएनन् ।’ पुल निर्माण पूर्व परियोजना प्रतिवेदन
(डीपीआर) तयार पार्दा नै त्रुटीपूर्ण भएको स्थानीयको आरोप छ ।
सांसदद्वारा कारबाहीको माग
यसैबीच प्रतिनिधिसभा सदस्य नवराज रावतले भुरीगाउँ–तेलपानी सडक खण्ड अन्तर्गत रानीघाटमा निर्माणाधीन पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेका छन् । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रावतले समयमै काम सम्पन्न नभएको र ६ वर्ष पुगिसक्दा पनि अलपत्र छाडिएको भन्दै निर्माण कम्पनीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।
पुल निर्माणको जिम्मा लिएको पप्पु÷मल्ल जेभीलाई कालो सूचीमा राख्न सांसद रावतले संघीय संसदमार्फत् केन्द्र सरकारसँग माग गरेका छन् । मंगलवार सदनको विशेष समयमा बोल्दै सांसद रावतले निर्माण कम्पनीका सम्पर्क व्यक्ति दैलेखका कर्णबहादुर मल्ललाई कारबाही गर्न माग गरेका हुन् । उनले नयाँ स्टीमेट र नयाँ टेण्डर आव्हान गरी केन्द्र सरकारले काम अगाडि बढाउन संघीय संसदमार्फत् ध्यानाकर्षण गराए । सांसद रावतले नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यथाशीघ्र पुल निर्माणको काम सुचारु गर्नुपर्ने बताए ।
साझा बिसौनी संवाददाता ।