डोजर लगाएर अतिक्रमण हटाइँदै

बिसौनी संवाददाता
सुर्खेत, २१ चैत । 
जिल्ला वन कार्यालय सुर्खेतले बल प्रयोग गरेरै अतिक्रमित क्षेत्र खाली गराउन थालेको छ । पटक–पटक आग्रह गर्दा पनि वन खाली नगराइएको भन्दै जिल्ला वनले डोजर प्रयोग गरी वन क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काउन सुरु गरेको हो । 
पहिलो चरणमा कार्यालयले धुलियाविटस्थित जनता सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना भत्काएको छ । प्रहरी, वन कर्मचारी र उपभोक्ताहरूको सहयोगमा उक्त सामुदायिक वनको करिब ३ हेक्टर क्षेत्रफल अतिक्रमण गरी बनाइएको घरटहरा भत्काइएको हो । यसअघि पटक–पटक वन खाली गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बल प्रयोग गरिएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला वन अधिकृत हेमराज विष्टले बल प्रयोग गर्न नचाहँदा नचाहँदै पनि अटेर गरेपछि बाध्य भएर प्रहरीको समेत सहयोग लिइ डोजर चलाउनुपरेको बताए ।
करिब तीन हेक्टर वन क्षेत्रफल ओगटेर केही व्यक्तिहरूले घर, गोठ र खोर निर्माण गर्नुका साथै केरासहित फलफूल खेती समेत गरेका थिए । वनले ती सबै संरचना हटाएको छ । 
जनता सामुदायिक वनको अतिक्रमण हटाएर अभियानको सुरुवात गरिएको कार्यालयले जनाएको छ । अब जिल्लाभरी नै अतिक्रमण हटाउन अभियान सञ्चालन गरिने वन अधिकृत विष्टले बताए । उनका अनुसार जिल्लाका अन्य आठ ठाउँमा पनि अतिक्रमण गरी वस्ती बसालिएको छ । ती सबै क्षेत्र खाली गराइने उनले 
जनाए । धुलियाविटमै रहेको कालिका सामुदायिक वन, भेरी सामुदायिक वन, देउतीबज्यै सामुदायिक वनका साथै मेहेलकुना, छिन्चु र बावियाचौर लगायतका स्थानमा सरकारी तथा सामुदायिक वन अतिक्रमण गरिएको पाइएको भन्दै विष्टले ती सबै क्षेत्र खाली गराइने बताए । 
बावियाचौरमा बाढीपीडितको नाममा सामुदायिक वन अतिक्रमण गरिएको समेत कार्यालयले जानकारी दिएको छ । पुनस्र्थापनावापत सरकारले दिने रकम लिएकाहरूले पनि वन अतिक्रमण गरी बसेको भन्दै विष्टले यसमा सामुदायिक वनकै कतिपय पदाधिकारीको समेत मिलेमतो रहेको बताए । वन अतिक्रमण नहटाएका कारण बावियाचौरमा रहेको कालिका सामुदायिक वनको खाता रोक्का गरिएको समेत उनले जानकारी दिए । उनका अनुसार २० हेक्टरभन्दा बढी सरकारी वन पनि अतिक्रमण भएको छ । सरकारी तथा सामुदायिक वन दुवै क्षेत्रका अतिक्रमण हटाउन आफूहरू अघि बढेको विष्टले बताए ।
वनको संरक्षण गर्नु सबै नागरिकको दायित्व भएकाले अतिक्रमण हटाउनेतर्फ पनि सबै सचेत हुनुपर्ने कार्यालयले भनाइ छ । ‘वन संरक्षण र त्यसको सही सदुपयोगका लागि सामुदायिक वन बनाएर समुदायमा हस्तान्तरण गरिएको हो’ विष्टले भने, ‘आफ्नो सामुदायिक वनको संरक्षण गर्नु र अतिक्रमण हुन नदिनु त्यहाँका उपभोक्ताहरूको पनि जिम्मेवारी हो तर कतिपय सामुदायिक वनका प्रतिनिधिहरूले नै अटेर गर्ने गरेको पाइएको छ ।’ 
सार्वजनिक सूचना जारी गर्नुका साथै सम्बन्धी ठाउँमै पुगेर पनि अतिक्रमण हटाएर वन क्षेत्र खाली गर्न निर्देशन दिइसकेको भन्दै खाली नगरेका स्थानमा डोजर लगाएरै खाली गराइने बताए । वनलाई जोगाउने कार्यमा सहयोग पु¥याउन उनले सबैसँग आग्रह समेत गरेका छन् । 
विकल्प दिन माग
यसैबीच राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल जिल्ला कार्यसमिति सुर्खेतले अतिक्रमण हटाउने नाममा नागरिकलाई विचल्ली नपार्न अनुरोध गरेको छ । आइतवार विज्ञप्तीमार्फत् मञ्चले विकल्प दिएर मात्र वन क्षेत्र खाली गराउन अनुरोध गरेको हो ।
वर्षौदेखि बस्दै आएको बस्तीलाई नयाँ अतिक्रमणको आरोप लगाएर जबरजस्ती हटाउन खोजिएको भन्दै मञ्चले उचित विकल्प दिनुपर्ने माग गरेको छ । यसरी वन क्षेत्रमा बस्नेहरू भूमिहीन र सुकुम्बासी भएको भन्दै उनीहरूलाई बासस्थानको विकल्प दिन अनुरोध 
गरिएको छ । जिल्लाका विभिन्न आठ स्थानका एक सय ४० घरपरिवार विचल्ली हुने अवस्था आएको विज्ञप्तीमा जनाइएको छ । 
विकल्पविना नागरिकलाई उठिबास लगाउने कार्य गरिए त्यसका विरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत मञ्चले दिएको छ । धुलियाविटमा डोजर प्रयोग गरी हटाइएको बस्तीले पनि वन क्षेत्रमा कुनै असर नगरेको भन्दै मञ्चले आपत्ति जनाएको छ । 
प्रकाशित मितिः   २२ चैत्र २०७२, सोमबार ०६:५८