ओलीको साथ छोड्ने तयारीमा वामदेव

काठमाडौं, २२ चैत । पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ । झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ । अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो ।
पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छाडेर मध्यमार्गीजस्तै देखिएका छन् । गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सबैलाई समेटेर लैजान सुझाव दिएका थिए ।
नवांै महाधिवेशनअघिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए । संसदीय दलको निर्वाचन हुँदा पनि गौतमले खुलेरै ओलीको समर्थन गरेका थिए । पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि आफूलाई विभिन्न निर्णयको तहमा बाइपास गरिएको भन्दै गौतम असन्तुष्ट बन्दै आएका छन् । गौतम पक्षमा किरण गुरुङ, रवीन्द्र अधिकारी, सावित्रा भुसाल, यामलाल कँडेल, दलबहादुर रानालगायत छन् ।
गत साता मदन भण्डारी प्रतिष्ठानको ब्यानरमा गरिएको संस्थापन पक्षको भेलामा आफू निकटकालाई नबोलाइएपछि गौतम निकै असन्तुष्ट बनेको जानकारी एक नेताले दिए । प्रतिष्ठानको आयोजनामा भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले दसौं महाधिवेशनको तयारी सुरु गरिसकेकाले संस्थापनले पनि तयारी गर्न सुझाव दिएको थियो । संस्थापन पक्षले आफूलाई निषेध गरेर भेला गरेको भन्दै गौतमले आफू निकटका नेताहरूसँग गुनासो गर्ने गरेका छन् । यस विषयमा गौतमले प्रतिक्रिया दिन चाहेनन् ।
संस्थापन पक्षले आफूलाई बाइपास गरेको गुनासो गर्दै गौतमले नेपाल पक्षका नेताहरूसँग छलफल सुरु गरेको स्रोतको भनाइ छ । पार्टीका उपमहासचिव घनश्याम भुसाललगायत दोस्रो तहका नेताहरूसँग बुद्धनगरको एक कलेजमा निकै चरण छलफल भएको जानकारी स्रोतले दियो ।
ओलीले यसअघि नै आफू दोस्रो कार्यकालका लागि अध्यक्ष नहुने घोषणा गरिसकेका छन् । उनीपछि नेतृत्व लिनका लागि संस्थापन पक्षका नेताहरूसमेत आन्तरिक छलफलमा जुटेका छन् ।
नेपाल पक्षले भने वरिष्ठ नेता नेपाललाई अगाडि सारेको छ । गौतम समूहको असन्तुष्टि मंगलबार बस्ने पोलिटब्युरो र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकमा समेत पोखिने भएको छ । यो समूहले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दा पनि संस्थापन पक्षलाई केही अप्ठ्यारो पर्ने एक नेताले बताए । १० महिनापछि बस्न लागेको त्यो बैठकमा पार्टीको महाधिवेशनपछिको कामको समीक्षा, सरकार र पार्टी सञ्चालन, विभागको पूर्णतालगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मितिः   २२ चैत्र २०७२, सोमबार ०८:३४