सुर्खेतका होटल वर्गीकरण गरिने

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ पुस ।
सुर्खेतमा रहेका होटल तथा रेष्टुरेन्टहरूलाई वर्गीकरण गरिने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले मंगलवार वीरेन्द्रनगरमा खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ बारे व्यसायीहरूलाई सचेतना कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
सर्वसाधारणले उपयोग गर्ने यस्ता होटल, रेष्टुराँले गुणस्तर र स्वच्छतामा हेलचेक्रयाइँ गर्न थालेपछि त्यसलाई नियमन गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रणले वर्गीकरणको गर्न लागेको छ । डिभिजनले लोगो प्रमाणपत्रका आधारमा यस्ता खाद्य व्यवसायलाई नियमन गर्न लागेको बताएको छ । होटेल, रेष्टुराँ, भोजनालय, मिठाइ पसल, चिया पसल, क्याफे, क्याटरिङ, होष्टेल एवम् क्यान्टिन र सोही प्रकृतिका अन्य खाद्य व्यवसायहरूलाई स्तर छुट्याएर उपभोक्तामैत्री रूपमा वर्गीकरण गर्न लागिएको डिभिजन निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए ।
सचेतना निमित्त प्रमुख थापाले खाद्य स्वच्छताको आधारमा होटल रेटुरेन्ट स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका २०७४ स्वीकृत भएसँगै अब कार्यान्वयनका तहमा लैजाने बताए ।
‘अब स्थानीय तहमासमेतमा अन्तरक्रिया गरेर कार्यान्वयनमा जानेछौं,’ उनले भने । निर्देशिकाका सम्बन्धमा व्यापक जनचेतना आवश्यक रहेको उनले बताए । यसका लागि स्थानीय तहमा विभिन्न समिति गठन गर्ने र प्राविधिक जनशक्ति तयार गर्ने तयारी भइरहेको उनको भनाइ छ ।