“समाजसेवा नै मेरो पेसा”

वीरेन्द्रनगर–१० बुदबुदी सुर्खेतका जागुराम थारु वि.सं. २०१२ साल वैशाख १ गते बुबा कुलमान थारु र आमा सुघरी थारुको कोखबाट जन्मिएका हुन् । उनी सानैदेखि विद्रोही स्वभावका थिए । थारु कल्याणकारिणी सभा सुर्खेतका सल्लाहकारसमेत रहेका जागुराम मंगलगढी प्राथमिक विद्यालय वीरेन्द्रनगर–१० को विद्यालय व्यवस्थापन अध्यक्षको रूपमा काम गरिरहेका छन् । वि.सं. २०४८ साल र २०५४ सालमा साविकको लाटीकोइली–९ को वडा अध्यक्षसमेत भइसकेका जागुराम अहिले पनि समाज सेवामा नै लागिपरेका छन् । समाज सेवालाई नै आफ्नो पेसा बनाएका उनले आफ्नो पेसागत कथा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटेः

म घरको जेठो छोरो । बुबाआमाले कृषि गर्नुहुन्थ्यो । विशेष गरी थारुहरूको मुख्य पेसा नै कृषि भएकोले मलाई मेरो बुबा आमाले पनि कृषि पेसा नै गरोस् भन्ने चाहनुहुन्थ्यो । तर म सानैदेखि समाजसेवा गर्नमा रुचि राख्थें । म सानैदेखि गाउँमा कसैलाई अन्याय परेको खण्डमा सहयोग गर्न पुगिहाल्थें । मैले राजनीति र समाजसेवालाई आफ्नो पेसा बनाएँ ।
राजनीतिमा विधिवत रूपमा लागेको वि.सं. २०४८ सालदेखि नै हो । त्यो भन्दा पहिले मैले स्वास्थ्य अगुवाको रूपमा पाँच वर्ष काम गरें । जो जिल्ला स्वास्थ्य कार्यालयले स्वयम्सेवकको रूपमा काममा राखेको थियो । लगभग २०४१ सालमा मैले फेरि कृषि सहायकको रूपमा काम गरें । पढाइमा साक्षर भए पनि त्यो बेलामा मुखिया तथा खरदार सरहको जागिर खान पाइन्थ्यो । वि.सं. २०२९ सालमा राजा वीरेन्द्रको सवारी सुर्खेतमा भएको बेलामा मलाई नेपाली सेनामा भर्ती हुन भनि घरमै सेनाहरू आएका थिए । तर मलाई बुबाआमाले जान दिनुभएन । त्यो बेलामा जागिर खानुभन्दा कृषि गर्नेको सम्मान बढी हुन्थ्यो । बुबाआमाले मलाई ‘तैले जागिर खाएपछि टोकरी कसले बोक्छ ?’ भन्नुहुन्थ्यो ।
समाज सेवामा पनि मैले आफ्नै जिद्दिमा हात हालेको हुँ । म वि.सं. २०५६ सालमा जिल्ला विकास समितिको सदस्यसमेत भएर काम गरेको छु । त्यो बेलामा मैले थुप्रै विकासका कामहरूमा जनतालाई सहयोग गरें । जसले गर्दा आज पनि जनताले मलाई सम्मान गर्छन् । बाटोको योजना, पुल, विद्यालय यस्ता थुप्रै कार्यको मैले योजना पार्ने काम गरेको थिएँ । हामीहरूले सुर्खेतलाई व्यवस्थित बनाउनको लागि गुरुयोजनासमेत बनाएका थियौं । तर त्यसको कार्यान्वयन भएन र आज सुर्खेत अव्यवस्थित सहरको रूपमा परिचय पाइरहेको छ ।
थारु भएर समाज सेवा वा राजनीतिमा फड्को मार्न त एकदमै अप्ठ्यारो छ । मलाई पनि त्यस्तै भएको छ । हामीहरूलाई आश्वासन मात्रै दिन्छन् तर अवसर दिने कुरामा पछि पार्छन् । वास्तवमा थारु जातिहरूलाई सदियौंदेखि जिम्दारहरूले शोषण गरेका हुन् । हाम्रा बुबाहरूले उनीहरूको करिब ६ विगाहा जग्गा सित्तैमा जोतेर उत्पादन तिनीहरूलाई दिनुहुन्न्थ्यो ।
जिम्दारहरूले थारु जातीलाई श्रम शोषण मात्रै गरेनन् उनीहरूले शारीरिक तथा मानसिक पीडासमेत दिन्थे । मलाई आज पनि याद छ जिम्दारहरू आएको खबरले मेरो बुबाहरू लुक्नुहुन्थ्यो यदि भेटाएको खण्डमा उनीहरूले मर्नेगरी कुट्थे । यहाँबाट थारुहरूले जिम्दारहरूको भारी बोकेर दैलेख पुग्नुपथ्र्यो त्यो बेलामा कत्ति थारु दाइ–भाइहरूले ज्यान पनि गुमाउनुप¥र्यो उनीहरूकै यातनाले । त्यसैले थारु कल्याणकारिणी सभाको जन्म भएको हो । जसले थारुहरूको हक र हितको लागि काम गर्दै आएको छ । सँगसँगै थारु जातिहरूको संस्कृतिसमेत जगेर्ना गर्दै आएको छ ।
थारुजातिहरू आज पनि राजनीतिको पहुँचमा छैनन् । त्यसको लागि मेरो लडाईं हो । मेरा घरमा ६ जनाको परिवार छ । म ६३ वर्षका भएँ । आज पनि मलाई थारुहरूको हकहितको लागि लड्न मन लाग्छ । मेरो अन्तिम सास छउञ्जेलसम्म थारुहरूकै हितको लागि लड्ने अठोट गरेको छु ।
सँगसँगै थारुकोे संग्रहालय निर्माण समेत गर्दैछौं । त्यो सपना पूरा भयो भने पछिल्ला पीडितहरूले संस्कृतिको जगेर्ना गर्न सहजता पाउनेछन् । मलाई यो समाज सेवाप्रति कुनै अफसोच भएन । आर्थिक अवस्था पनि राम्रै छ । बुबाको पुख्र्यौली जग्गा धेरै छ । खेतीपातीको समयमा किसान पनि भइन्छ । अरुबेलामा समाज सेवा गरिन्छ । वर्षभरी खानको लागि उब्जनी हुन्छ । आर्थिक समस्या खास छैन । विशुद्ध समाज सेवा गरेर बाँच्न त गारो छ तर मैले पेसा नै यसैलाई मानेको छु । मलाई यसैमा रमाइलो लाग्छ । जतिबेला जनताको काम गर्न पाइन्छ त्यो बेलामा माात्रै मलाई खुशी लाग्छ । मेरो जीवनको ५० औं वर्ष समाज सेवामा नै बिताए । अबको बाँकी जीवन पनि समाज सेवामा नै बिताउन चाहन्छु ।

प्रकाशित मितिः   १८ पुष २०७५, बुधबार १४:०४