युवाका लागि नेपालमै अवसर

हरिप्रसाद उपाध्याय
विश्वको ‘ड्रिम कन्ट्री’को नाम लिदा अमेरिकाको नाम सुरुवातमै आउने गर्दछ, त्यो नहोस पनि कसरी विश्वले हेर्ने चलचित्र, पत्रपत्रिका, पुस्तक, विचार विश्लेषण र सामाजिक सञ्जालहरू सवैतिर यहि देखाइन्छ र देखिन्छ । तर यिनी सबै कुराहरूमाथि त्यस्तो खरो असहमति नभएता पनि मेरो भिन्नै तर्क छ । हो यो लेखमार्फत् म आज मेरो त्यही फरक विचार प्रस्तुत गर्न जाँदैछु र यो मेरो विचार यत्तिकै फरक देखाउनकै लागि भन्दा पनि म नेपालको एउटा ग्रामीण भेगको मध्यम परिवारमा हुर्केको युवा सामाजिक क्षेत्रबाट नेपालको प्रनिधित्व गर्दै अमेरिका सरकारको ‘प्रोफेसनल फेलोज’ भन्ने कार्यक्रममा छनौट भइ पाँच हप्तासम्म मैले त्यहाँ अध्ययन–अवलोकन गर्दा भएका अनुभवबाट निस्केका विचारहरू हुन् ।
मैले माथि अमेरिकाका बारेमा उल्लेख गरेका कुरा हुन् या विश्वमा चलेका पृथ्वीको स्वर्ग, विज्ञान प्रविधिको केन्द्र, सुख सुविधा र खुसीको ठाउँ जस्ता उपनामले अमेरिकालाइ चिन्ने र चिनाउने कुरामा मेरो कुनै आपति नभएपनि संसारको खुशी, सुख, सुविधा, अवसर र आनन्द अमेरिकामा मात्रै छ भन्ने कुरा जसरी भनिन्छ या सोचिन्छ त्यो कुराको चै विपक्षमा छु म । किनभने माथि उल्लेख गरेका खुशी, सुख र आनन्द कसैले भनेको कुराबाट, चलचित्रमा देखेको दृश्यबाट या सामाजिक सञ्जालमा राखेका चम्किला पोस्टहरूबाट प्राप्त नभइ ती त वास्तविक जीवन भोगाइ र अनुभवबाट मात्र प्राप्त कुरा हुन र त्यो कुरा अमेरिका पुगेर काम पाउन नसकेर भौंतारिरहेको एक नेपाली दाजु तथा दिदीलाई मात्र थाहा हुन्छ । बल्लतल्ल काम पाएर व्यवस्थित हुँदाहँुदै पाँच वर्ष बितेको तर घर परिवारको यादले तड्पेको एक व्यक्तिलाई मात्र थाहा हुन्छ त्यो कुरा । राम्रो घर, राम्रो जागिर, सुख सुविधा सबै राम्रो प्राप्त गर्दा पनि कहीं कतै आफ्नो माटो, देशप्रतिको माया र सद्भावले कहीं कतै पिरोलीरहेको एकजना नेपालीलाई मात्र थाहा हुन्छ त्यो कुरा ।
अहिले दुनियाँमा एउटा हावाले छोइरहेको छ त्यो हो लेटेस्ट अप्डेटेट मोबाइल, ब्राण्डेड गाडी, ब्राण्डेड कपडा, ठूला अनि मार्वलयुक्त घर हुनुनै स्वर्ग हो तर त्यो हावाको भित्री तहमा भएको वास्तविक कुरा ती सबै कुरा तब मात्र सार्थक हुन्छन् जब हामीमा मानवियता रहन्छ, र त्यो मानवको आत्मसन्तुष्टिलाई क्षणिक रूपमा पूरा गर्ने साधन मात्र हुन् भन्ने वास्तविकता मानिसहरूले बिर्सेर हावाको पछि दौडिरहेको अवस्था देखिन्छ । मैले यसो भनिरहनुको अर्थ अमेरिकामा खुशी र आनन्द नै छैन भन्ने अर्थ पक्कै हैन, मैले मात्र इंगित गर्न खोजेको कुरा के भने ‘चौंरी गाई हिमालकै लागि बनेको हुन्छ भने उट मरुभूमिकै लागि । ती बाहेकका स्थानमा तिनीहरूले समय बिताउलान तर जीवन जिउन सक्दैनन् । हो, युग प्रविधिमय भएको छ र यो समयको माग हो । आजको आवस्यकता पनि र उच्च तथा गुणस्तरीय शिक्षा, सीप र अनुभव आफ्नै देशमै मात्र लिनुपर्छ भन्ने हैन तर त्यो सीप, अनुभव र शिक्षाले आफ्नो ठाउँ, परिवेश, संस्कार र अस्तित्वको प्रवद्र्धन र विकासमा लाग्ने हुनु जरुरी छ । तर जब सीप, दक्षता र अनुभवले आफ्नो ठाउँ नै आफ्नो लागि उपयुक्त नलाग्ने परिस्थिति आउँछ भने त्यो के काम को ? मानिस वाध्य भएर आफ्नो घर, समाज र रास्ट्रबाट टाढा बस्नुपर्छ भने त्यो ज्ञान, दक्षता र अनुभवको के काम ? न त उसले आफ्नो व्यक्तिगत दिगो सुख प्राप्त गर्न सक्छ, नत आफ्नो घर, समाज र राष्ट्रलाई नै केही योगदान पु¥याउन सक्छ, के यसैलाई भइन्छ त स्वर्ग ?
सुख र खुशी कुनै सैद्धान्तिक परिभाषा या कसैको विचारबाट प्राप्त हुने कुरा भन्दा पनि यो त नितान्त आफ्नो परिवेस, सोचाई, सस्कार, व्यहोरा र भोगाइबाट प्राप्त हुने कुरा हो । एकजना हाम्रै सुर्खेती युवा दिपक रजवार विगत ४ वर्षदेखि अमेरिकाको क्यालिफोर्निया स्थित सान दिएगो भन्ने सहरमा छन्, उनले सुरुवाती चरणमा गरका दुःखहरू सम्झदै भने ‘सुरुमा त निकै गाह्रो भो काम भेट्न, गारो हुने, घरको याद निकै आउने, अहिले बल्ल–बल्ल व्यवस्थित हुन खोज्दैछु ।’ होटेलको कुकिङ फिल्डबाट काम सुरु गरेका उनले अहिले आफ्नै होटेल किनेर अगाडि बढ्दैछन्, ‘घर जान्छु भन्दा भन्दै चार वर्ष बितेको थाहै भएन । अव अर्को वर्ष जाने हो ।’ उनले भने ।
भर्जिनियामा रहेका दैलेखका युवा नेपालमा रहँदा सुर्खेत हँुदै काठमान्डूसम्म विद्यार्थी राजनीति गरेका विजय बुढा सम्झिन्छन् बेरोजगारीको बाध्यताले बाहिरिनुको बाध्यता, अझै आर्थिक रूपमा व्यवस्थित भएर नेपाल फर्केर समाज सेवामै फर्किने सपना छ उनको । त्यसैगरी ४० वर्षदेखि अमेरिकामा रहेका काठमाडौंका अनन्त वैद्य सरकारी रिटायर्ड इन्जिनियर हुन् । सेवा निवृत जीवनलाई नेपालको सेवा गरेर बिताउन् चाहन्छन् र नेपाल आउने मौका मिल्ने बित्तिकै आउँछन् आफ्नो कला, अनुभव र सिकाइ साट्छन् अनि जान्छन् । आफ्नो मातृ माटोलाई सेवा गर्नुको जति आनन्द अरु कुनै चिजमा नमिल्ने उनी बताउँछन् ।
त्यसैगरी सुर्खेतमा हुँदा विभिन्न भूमिकामा रही समाज परिवर्तनमा सक्रिय भूमिका खेलेका सुर्खेती युवा वुद्दिजीवि तथा समाजसेवी उतम गौली विद्यावारिधि पश्चात प्रख्यात विश्वविद्यालय मोर्गन विश्वविधालयमा अध्यापन गराउँछन् भने नेतृत्व विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था ९क्तबचक्अजयबिचक।यचन० को अध्यक्षको रूपमा काम गरिरहेका छन् । उनी पनि त्यहाबाट प्राप्त गरेको सीप, दक्षता र अनुभवलाई आफ्नै ठाउँमा आएर कार्यान्वयन गर्ने मनस्थितिमा छन् । करिब १० वर्ष अमेरिकामा बसी उच्च शिक्षा हासिल गरी कामसमेत गरेर फर्केका रान कोइरालाले आफ्नै ठाउँमा काम गर्नुपर्छ भन्ने सोचलाई आत्मसात् गर्दै अगाडि बढे र अहिले ःभचयवयद।अयm कम्पनीमा मेनेजर र युवा उत्प्रेरकको रूपमा काम गरिरहेका उनी आफ्नै देशमा केही गर्न पाउँदाको पलले सधैं गर्व र आनन्द महसुस हुने कुरा बताउँछन् ।
यसरी अमेरिका बसेका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरूसँग भेट्दा, कुरा गर्दा र अध्ययन गर्दा सबैको सपनाको देश नेपाल नै रहेको प्रष्टसँग बुझ्न सकिन्छ । उच्च शिक्षा, प्रविधि, क्षमता अभिबृद्धि, रोजगारी जस्ता बाध्यताले त्यहाँ रहनुपरे पनि एक दिन आफ्नै देश नेपाल फर्केर सुखी र खुशीका साथ बस्ने सपना हरेकले देख्न गरेको पाइन्छ । त्यसैले युवाहरूले अरुले सुनाएको भरमा, चलचित्रमा देखेको भरमा, सामाजिक सञ्जालहरूमा देखेको भरमा सपनाको देश अरुनै देखेर यसैको पछि दौडिन छोडेर अव सपना आफ्नै देशमा देख्ने र त्यो सपना पूरा गर्नका लागि विश्व एक घर हो भन्ने तरिकाले सोच परिवर्तन गर्न सके सपनाको संसार आफ्नै देश, आफ्नै समाज हुन सक्नेछ अनि मात्र व्यक्ति, परिवार, सामाज र राष्ट्र सुखी र खुशी हुने कुरा सम्भव हुने छ र अनि मात्र ‘सुखी नेपाली, समृद्ध नेपाल’को नाराले सर्हकता पाउनेछ ।

प्रकाशित मितिः   १७ पुष २०७५, मंगलवार १३:५०