‘सहकारीबाटै कर्णाली आत्मनिर्भर बन्छ’
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
कर्णालीका प्रदेश प्रमुख दुर्गाकेशर खनालले प्रदेश आत्मनिर्भर बनाउने उपयुक्त माध्यम नै सहकारी भएको बताएका छन् । वातावरण सुधार बहुद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर–८, सुर्खेतको शनिवार वीरेन्द्रनगरमा भएको १६ औं वार्षिक साधारणसभामा बोल्दै प्रदेश प्रमुख खनालले उनले सानो पूँजीबाट ठूला समस्याहरू टार्ने काम सहकारीले नै गर्न सक्ने हुँदा प्रदेशलाई सहकारीले नै आत्मनिर्भर बनाउने उल्लेख गरेका हुन् ।
सहकारीसँगै पर्यटन, कृषि र जलविद्युतलाई पनि सँगसँगै लैजानुपर्नेमा खनालले जोड दिएका छन् । उनले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीहरूको ठूलो योगदान भएकोले प्रदेश सरकारले पनि सहकारीलाई आफ्नो प्राथमिकतामा पारेको बताए । घरायसी गर्जो टार्नेदेखि विकासका काम पनि सहकारीले गर्न सकिने भएको हुँदा सहकारीलाई अभिन्न अङ्ग मान्नुपर्ने प्रदेश प्रमुख खनालको भनाइ छ । साथै वातावरण बहुद्देश्यीय सहकारी संस्थाले लघुवित्तका माध्यमबाट महिलालाई आत्मनिर्भर बनाउन ठूलो भूमिका खेलेको र गरिबी निवारणमा पनि टेवा पु¥याएकोले प्रदेशकै नमूना सहकारी बनेको बताए ।
संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले महिलाको नेतृत्व, आर्थिक विकासमा वातावरण सुधार बहुउद्देश्यीय सहकारीले ठूलो योगदान गरेको जनाए । उनले लघुवित्त कार्यक्रमबाटै सहकारी नेपालकै उत्कृष्ट बनेर लघुवित्त पुरस्कार प्राप्त गर्न सफल भएको, जिल्लामै सवैभन्दा धेरै कर तिर्ने सहकारी बनेको जानकारी दिदैं गरिबी निवारणमा संस्थाले गरेको योगदानप्रति सह्राना गरे । उनले बैंकहरू नपुगेको स्थानमा पुगेर विशेष गरी महिलाको आर्थिक अवस्था सुधारमा संस्थाले टेवा दिएको उल्लेख गरे ।
वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मीले २५ रूपैयाँ बचतबाट सुरु गरेको सहकारीको पूँजी अहिले सात अर्ब नाघेकोमा खुशी प्रकट गरिन् । उनले महिलाले गरेको वचतले आत्मनिर्भर बनाउन सहयोग पुगेको बताइन् ।
संस्थाका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघका सचिव रवीन्द्र शाह, ग्रामीण जागरण सहकारीका अध्यक्ष श्यामलाल खराल लगायतले शेयर सदस्यर प्रगतिको हिसाबले वातावरण सहकारी प्रदेशकै नमुना सहकारीको संज्ञा दिएका थिए ।
सो अवसरमा संस्थाका सचिव राधाकुमारी ढकालले संस्थाको प्रगति विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा संस्थाले समग्रमा ६७ प्रतिशत प्रगति हासिल गरेको जानकारी दिइन् । उनले बचत तथा ऋण कार्यक्रमतर्पm ६५ प्रतिशत र लघुवित्त कार्यक्रमतर्फ ६९ प्रतिशत प्रगति हासिल गरेको बताइन् । संस्थाले करिब एक अर्ब रूपैयाँ ऋण लगानी गरेको पनि उनले जनाइन् । कोषाध्यक्ष ताराकेशर पौडेलले चालु आवको संस्थाको सात अर्ब ८१ करोड ७२ लाख ३६ हजारको बजेट प्रस्तुत गर्नुका साथै आगामी आर्थिक वर्षका लागि नौ अर्ब ८० करोड २४ लाख ७६ हजारको प्रस्तावित आय–व्यय प्रस्तुत गरे ।
साधारणसभामा संस्थाले सल्यानका तेजेन्द्र खड्का र गोपाल कुँवर, दैलेखका दिपबहादुर शाही, झुपाराम लम्साल र सुर्खेतका खगीसरा माझीलाई लघुवित्त सामाजिक सम्मानबाट समानित गरेको छभने सर्वोत्कृष्ट बचतकर्तामा गणेश थापा र मनसराकुमारी विष्ट, सर्वोत्कृष्ट ऋणीमा छविलाल गौतम र छवि उपाध्यायलाई पुरस्कृत गरेको छ ।
यस्तै श्यामलाल कँडेल, मोहन गिरी, गजेन्द्र बोहरा, महेन्द्रप्रकाश गिरी जगत थापा र सरस्वती पन्तलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरेको छ । साथै सोही अवसरमा उत्कृष्ट केन्द्र लगायतको पनि सम्मान पनि गरिएको थियो ।
साझा बिसौनी ।