आगलागी पीडितपरिवारलाई पाँच लाख
साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँमा भएको आगलागीबाट पीडित परिवारले पाँच लाख रूपैयाँ पाउने भएका छन् । आगलागी पीडितहरूलाई पुनस्थापनाका लागि कर्णाली प्रदेश सरकारले प्रतिपरिवार पाँच÷पाँच लाख रूपैयाँ दिने निर्णय गरेको हो ।
आगलागीबाट पीडित परिवारहरूको पुनस्र्थापनाका लागि अग्निपीडित परिवार पुनस्र्थापना कार्यक्रम सञ्चालन गर्ने निर्णय कर्णाली प्रदेश सरकारको ३२ औं मन्त्रिपरिषद् बैठकले गरेको छ । जस अन्तर्गत प्रदेशले आगलागी पीडितहरूको आवास निर्माणका लागि नमुना नक्सा, प्राविधिक सहयोग र प्रति घरपरिवार नगद पाँच लाख आर्थिक सहयोग गर्ने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बताइन् । ‘प्रदेश सरकारले खाडाको न्यौपाने बस्तीलाई एकीकृत नमुना बस्तीका रूपमा विकास गर्छ’ सरकारको प्रवक्ता समेत रहेकी मन्त्री केसीले भनिन्, ‘त्यो बस्ती विकास योजना प्रदेश सरकारले नै पूरा गर्छ ।’ प्रदेश सरकारको कोषबाट प्रतिपरिवार नगद पाँच लाख रूपैयाँ प्रदान गरिने र बस्ती विकासका लागि रकम अपुग भए दातृ निकायको सहयोग लिइने उनले बताइन् ।
आगलागी भएकै बस्तीमा आगलागी पीडितहरूलाई पुनस्र्थापना गरिने योजना प्रदेश सरकारले बनाएको छ । कालिकोटको खाडा पुस ८ गते राती २ बजे भएको आगजनीबाट ८७ घरपरिवार विस्थापित भएका छन् । आगलागी पीडितहरूका लागि प्रदेश सरकारको तर्फबाट प्रतिपरिवार २० हजार नगद तथा अन्य राहत सामग्री उपलब्ध गराइ सकिएको उनले जानकारी दिइन् ।
यसैबीच, शुक्रवार राती सम्पन्न मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार मातहतका जिल्ला अस्पताल र आयुर्वेद औषधालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यहरू मनोनयन गरेको छ । प्रदेश अस्पताल सुर्खेतको अध्यक्षमा श्यामलाल कँडेल र सदस्यमा हरिमाया शर्मालाई मनोनयन गरिएको छ । जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगुमा पारसमणी मल्ल, डोल्पामा तेजेन्द्रबहादुर रोकाय, हुम्लामा छेपाल दोर्जे लामा तामाङ्ग, कालिकोटमा सरोज बोगटीलाई अध्यक्षमा मनोनयन गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।
यस्तै, जाजरकोट जिल्ला अस्पतालको अध्ययक्षमा धर्मशीला बस्नेत, रुकुम पश्चिममा सुन्दर वली, मेहेलकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद औषधालयमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद औषधालयमा मनोज बुढाथोकी मगरलाई मनोनयन गरिएको छ ।
साझा बिसौनी ।