सुर्खेत बहुउद्देश्यीयद्वारा ४१ करोडको कारोबार

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्थाले एक वर्षमा ४१ करोडभन्दा बढीको कारोबार गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले ४१ करोड २५ लाख ८९ हजार बराबरको कारोबार गरेको हो ।
संस्थाको शनिवार वीरेन्द्रनगरमा भएको १७ वार्षिक साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतले उक्त जानकारी दिएका हुन् । सहकारीका कोषाध्यक्ष सुरेशबहादुर गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ४४ करोड ७५ लाख ९५ हजार रूपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ ।
यसैगरी कर्जा उप–समितिका संयोज महेश्वर तिवारीले कूल १४ करोड १४ लाख ७६ हजार व्यवसायिक, कृषि तथा पशुपालन, घरायसी, खाता जमानी, औषधि उपचार र शैक्षिक क्षेत्रमा कर्जा लागनी भएको प्रतिवेदन पेश गरेका थिए । संस्थाले ६४ लाख ६५ हजार पाँच सय ३० रूपैया शुद्ध मुनाफा गर्न सफल भएको जनाइएको छ । हालसम्म सहकारीको चार करोड ९८ लाख ३६ हजार नौ सय रूपैयाँ शेयर पूँजी रहेको छ ।
साधारणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक पदम दाहालले नेपाल सरकारको तीन खम्बे नीति अन्तर्गत सहकारीलाई स्थान दिएता पनि सहज तरिकारले काम गर्न नदिएको बताए । सहकारीलाई मेरुदण्डका रूपमा राखे पनि सहज तरिकाले कार्य गर्ने बातारण नभएको उनको गुनासो थियो ।
सुर्खेत बहुउद्देश्यीयको सहकारी संस्थाका अध्यक्ष गणेशकुमार बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका सञ्चालक सुशील शर्मा, सिद्धार्थ बहुउद्देश्यीेय सहकारी संस्थाका अध्यक्ष आसुराम सोमै, जिल्ला सहकारी संघका प्रतिनिधि ढाकाराम न्यौपाने लगायतको सहभागिता रहेको थियो ।
संस्थाका सचिव दिपेन्द्रप्रसाद ढकालले सहजीकरण गरेको साधारणसभामा शिक्षा उप–समितिका संयोजक मिलन श्रेष्ठले शिक्षा र लेखा सुपरीवेक्षण समितिका संयोजक भद्र भण्डारीले लेखा प्रतिवेदन पेश गरेका थिए । सोही अवसरमा २०७४ को एसईई परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्रातर्फ भेरीगंगा नगरपालिका लालसिंह बुढा क्षेत्रिकी छोरी भावना बुढा क्षेत्री र छात्रतर्फ सर्वेकृष्ट अंक प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका लक्ष्मीकुमारी पराजुली भण्डारीको छोरा गणेश भण्डारीलाई नगर पाँच हजार एक रूपैयाँ र सम्मान–पत्रसहित सम्मानित गरिएको थियो ।
यसैगरी आर्थिक वर्ष २०७४÷२०७५ सालमा केन्द्रीय कार्यालय वीरेन्द्रनगरका असल बचतकर्ता पुरुषतर्फ राजन प्रकाश शाक्य, महिलातर्फ शारदा राई र सेवा केन्द्र मेहेलकुनाका पुरुष बचत सदस्य विमल खड्का तथा महिला बचतकर्ता सुशीला खत्रीलाई सम्मान–पत्रसहित सम्मान गरिएको थियो भने असल ऋणको कारोबार गर्ने ऋणीहरू गोरख रावत, सीताकुमारी थापा, तुलबहादुर बुढा र गौरी सुनारलाई सम्मान गरिएको थियो । सहकारीमा कार्यरत उत्कृष्ट कर्मचारीको रूपमा कार्यालय सहायक राधिका भण्डारी र सेवा केन्द्र मेहेलकुनामा कार्यरत बजार प्रतिनिधि राजु विकलाई पाँच हजार नगद र सम्मान–पत्रसहित सम्मानित गरिएको थियो ।

प्रकाशित मितिः   १५ पुष २०७५, आईतवार १४:०२