‘सहकारी नै समृद्धिको आधार’

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ पुस ।
कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीलाई सहकारीकै माध्यमबाट समृद्ध कर्णाली बनाउने बताएकी छन् । शनिवार आदर्श ग्रामीण बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री केसीले कर्णालीका विकट बस्तीका जनतालाई सहकारीका माध्यमबाट उत्पादन क्षेत्रमा लगाएर समृद्धिको यात्रा तय गरिने बताएकी हुन् ।
‘अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ,’ उनले भनिन्, ‘भौतिक पूर्वाधार नभए पनि बस्ती–बस्तीमा सहकारी गठन गर्ने र ती सहकारीका माध्यमबाट जनतालाई उत्पादनमूलक क्षेत्रमा काम गर्न लगाउने योजना छ ।’ हरेक युवा, किसान उत्पादनमा जोडिएको खण्डमा मात्र कर्णाली प्रदेश आत्मनिर्भर हुने मन्त्री केसीको भनाइ छ ।
संस्थाका अध्यक्ष राजेन्द्र बुढाका अनुसार संस्थामा ४७ लाख ४२ हजार आठ सय रूपैयाँको शेयर पूँजी रहेको छ । शेयर लाभांश कोषमा एक लाख ७१ हजार पाँच सय ३२, पूँजी फिर्ता कोषमा एक लाख २६ हजार ६ सय ६९, कर्मचारी बोनस कोषमा ७७ हजार ६ सय ४०, घाटा पूर्ति कोषमा ३३ हजार पाँच सय १५, सहकारी शिक्षा कोषमा ७६ हजार एक सय ५६, ऋण कोषमा ५१ हजार दुई सय ५१ र संस्था विकास कोषमा ५९ हजार ६ सय ३९ रूपैयाँ रहेको छ ।
संस्थाको बचतमा एक करोड ७५ लाख ८५ हजार ६ सय ९३ रहेको छ भने कर्जा जोखिम कोषमा १० लाख ९० हजार आठ सय ८९ रूपैयाँ रहेको छ । बाह्य ऋण ७१ लाख ४० हजार एक सय ८९ रहेको संस्थाको अन्य दायित्व कर ३१ हजार एक सय पाँच रहेको अध्यक्ष बुढाको भनाइ छ । मुनाफामा लाग्ने कर रकम ७९ हजार आठ सय ९१ रहेको छ । संस्थासँग तीन करोड १४ लाख ६६ हजार सात सय ७० रूपैयाँ रहेको बताइएको छ ।
साधारणसभाबाट संस्थाको नयाँ कार्यसमिति पनि चयन गरिएको छ । पुनः राजेन्द्र बुढाको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा लक्ष्मी केसी, सचिवमा रामबहादुर रोकाय, कोषाध्यक्षमा मनकुमारी गुरुङ्ग चयन भएका छन् भने सदस्यहरूमा प्रेमा राना, रमेश चौधरी र दिपक ढकाल रहेका छन् ।

प्रकाशित मितिः   १५ पुष २०७५, आईतवार १४:०२