विद्यालय गएका तीन बालिका बेपत्ता

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ पुस ।
पुस १० गते विद्यालय गएका तीन जना बालिकाहरू बेपत्ता भएका छन् । सिम्ता गाउँपालिकाका–५ आलीमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरत बालिकाहरू मंगलवारदेखि हराएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सिम्ता–९ खानीखोला स्थायी घर भएका १४ वर्षीया निशा सिंह ठकुरी, १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिसिमा खत्री सम्पर्कविहीन छन् ।
निशाकी आमा भगवती सिंहले १० गते दिउँसो १ बजे कापी बिर्सियो भनेर घर आएको छोरीहरूको हालसम्म अत्तोपत्तो नभएको बताइन् । ‘निशासँगै यमुना र रिसिमा पनि घर आएका थिए’ उनले भनिन्, ‘कापी लिएर विद्यालय गएकी छोरी सम्पर्कमा आइन ।’
स्कुल गएका छेरीहरू बेलुकी घर नआएपछि आफन्तले खोजी गरेका थिए । खोजतलास गर्दा नभेटिएपछि प्रहरीचौकी आलीमा खोजीदिन पुस १२ गते निवेदन दिएका थिए । स्कुल पठाएका छोरीहरू एकाएक यसरी गायव हुँदा अनौठो र अचम्म लागेको यमुना खत्रीका आमा दीपा खत्रीले बताइन् ।

प्रकाशित मितिः   १४ पुष २०७५, शनिबार १३:४७