फिल्ममा भविष्य खोज्दै

वनगाड कुपिण्डे नगरपालिका–४ सल्यानका खिमलाल बुढाथोकी बुबा चित्रबहादुर बुढाथोकी र आमा डिलधरी बुढाथोकीको कोखबाट जन्मिएका हुन् । वि.सं. २०५२ साल असार २० गते जन्मिएका खिमलाल घरका काइला छोरा हुन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट बीबीए सकेर बसेका खिमलालले सानोमा सेलिबे्रटी हुने सपना देखेका थिए । उनको त्यो सपना आज पनि मरेको छैन । एसएलसी पास भएपछि के विषय पढ्ने भन्ने न उनले सोचेका थिए न उनका बुबाआमाले । पढ्न छोड्नुहुन्न भन्ने मात्र उनलाई ज्ञान थियो र बुबाआमालाई पनि । सेलिबे्रटी बन्नको लागि संगीत विषय पढाइ हुन्छ भन्ने कुरा पनि उनलाई थाहा थिएन । बच्चैदेखि स्वतन्त्रता चाहने खिमलाल आज पनि आफूलाई कसैले नियन्त्रण गरेको मन पराउँदैनन् । कलेजको पढाइ र विद्यालयको पढाइमा क्रियाकलापले नै फरक पारेको बताउने बुढाथोकीले आफ्नो कलेज लाइफको कथा हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः

म बच्चैदेखि फिल्म क्षेत्रमा अत्याधिक रुचि राख्ने व्यक्ति । भविष्यमा फिल्ममा नै केही गर्छु भन्ने सपना थियो । त्यो सपना मेरो आज पनि मरेको छैन । मैले वि.सं. २०६८ सालमा एसएलसी पास गरें तर के पढ्ने भन्ने सोचेको थिएन । मेरो दिमागमा कसरी फिल्म क्षेत्रमा पुग्ने भन्ने मात्रै आउथ्यो । मलाई फिल्म क्षेत्रमा छिर्नको लागि संगीत विषय पढाइ हुन्छ भन्ने पनि थाहा थिएन । थाहा भएर पनि के गर्नु घरको आर्थिक अभावले पढ्न नपाइने । मैले एसएलसी पास गरेपछि श्री अमरज्योेति उच्च माध्यमिक विद्यालय सुर्खेतमा व्यवस्थापन विषय लिएर पढें । हाल म मध्यपश्चिमाञ्चल सुर्खेतबाट बीबीए सकेर बसेको छु । जीवनमा एकपटक आफ्नै लगानीमा भए पनि फिल्म खेल्ने रहर छ ।
मेरो कलेजको पहिलो दिन नरमाइलो भयो । सल्यानको मुक्तिहिले पोखरी माध्यमिक विद्यालयबाट एसएलसी पास गरें । ग्रामीण भेगबाट पढ्नको लागि सुर्खेत आएको मान्छे । साथीहरू कोही पनि थिएनन् । मैले व्यवस्थापन विषय लिएर पढें ।
मेरो बुबा राजनीति गर्ने र आमा गृहिणी । बुबाआमाले पनि मलाई के पढाउने सोच्नुभएको थिएन । मैले पनि केही नसोची व्यवस्थापन विषय रोजें । कलेजमा गाउँबाट आएका विद्यार्थीहरू सरकारी विद्यालयबाट पढेका र वीरेन्द्रनगरका विद्यार्थी निजी विद्यालयमा पढेका । उनीहरूसँग प्रतिस्प्रर्धा गर्नुपर्ने भयो । मलाई कलेजको पहिलो दिन नै एक जना निजी विद्यालयबाट एसएलसी पास गरेको साथीले हेपाहा व्यवहार देखाउनुभयो । केही भनाभन् पनि भयो । घर फर्कंदा पनि खास उत्साह आएन ।
म पढाइमा अली कमजोर पनि थिएँ । क्लासमा शिक्षकसँग मैले नबुझेको कुरा सोधिरहन्थें तर शिक्षकले पनि सबैलाई बुझाउन सकिन्न भन्ने जवाफ दिनुहुन्न्थ्यो । उहाँहरूको हेपाहा व्यवहारले मलाई विस्तारै पढाइमा उत्साह जाग्यो । कलेज बाहेक घरमा अत्याधिक पढ्न थालें । आज त्यही साथी म भन्दा पछिल्लो ब्याजमा पढ्छ । आज त्यसकै परिणाम मेरो पढाइ राम्रो छ ।
कलेजबाहेक म घरमा धेरै समय पढ्ने गर्दछु । फिल्म हेर्न मलाई अत्याधिक मन पर्छ तर पढाइ छोडेरै हलतिर जान्न, घरमै बसेर युटुबमा हेरिन्छ । विद्यालयको पढाइ र कलेजको पढाइमा धेरै भिन्नता मैले पाएको छु । कलेज र विद्यालयको क्रियाकलापमा नै भिन्नता छ । विद्यालयमा विभिन्न अतिरिक्त क्रियाकलापदेखि शिक्षकहरूले निगरानी गर्नुहुन्छ भने कलेजमा त्यस्ता खालको क्रियाकलाप केही पनि हुँदैन ।
विद्यालयमा अनुशासनका कुरा बढी जोडिन्छन् तर कलेजमा त्यो वातावरण खोजेर नपाइने रै’छ । कसले पढ्यो पढेन कसैलाई कुनै चासो छैन । मैले क्लास बंक पनि कहिल्यै गरिनँ । घुम्न जान मन लाग्छ तर उद्देश्य बिना म
हिँड्दिन । घुमरे आएपछि के प्राप्ती हुन्छ त्यसमा मेरो ध्यान अलिबढी हुन्छ ।
मलाई केटी भनेपछि औधि लाज लाग्ने । प्लस टूको दुई वर्ष कक्षाका केटी साथीहरूसँग नबोलेरै बित्यो । बीबीएस पढ्दा भने केटी साथीहरू आफै बोल्न आउने । बाध्यताले बोल्दा बोल्दै आजभोलि त्यो लाज हटेको छ । प्रेम दुई आत्माको मिलन हो । तर प्रेम भने गरेको छैन । मैले राजनीति पनि गर्छु । विद्यार्थी जीवनमा राजनीति पनि आवश्यक कुरा रै’छ । तर मलाई भविष्यमा फर्केर आफ्नै पृष्ठभूमिमा जानुछ । त्यो हो फिल्म क्षेत्र । त्यसलाई पूरा गर्नको लागि आफ्नै लगानी आवश्यक मैले देखेको छु । केही वर्षपछि त्यो सपनालाई पूरा गर्ने तर्रखरमा छु ।

प्रकाशित मितिः   १४ पुष २०७५, शनिबार १३:४६