अग्निपीडितका लागि राहत संकलन

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ पुस ।
सुर्खेत उद्योग वाणिज्य संघले कालिकोटको पलाँताका अग्निपीडितहरूका लागि बिहीवार वीरेन्द्रनगरमा राहत संकलन सुरु गरेको छ । संघका पदाधिकारीहरूले नगद प्रदान गर्नुका साथै वीरन्द्रनगरका व्यवसायीहरूबाट समेत राहत संकलन सुरु गरिएको हो ।
संघका पदाधिकारीहरूबाट नगद संकलन गरिसकेपछि वीरेन्द्रनगरमा राहत संकलन अभियान सुरु गरिएको थियो । संघको कार्यालयबाट मंगलगढीचौक हुँदैबीच बजार क्षेत्रका व्यापारी व्यवसायीहरूबाट नगद र लत्ताकपडासहितका जिन्सी सामग्रीसमेत संकलन गरिएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।
पहिलो दिन नगद ८० हजारसहित विभिन्न जिन्सी सामग्री संकलन भएको कँडेलले जानकारी दिए । ‘नगद तथा एउटा मिनी जीपमा अट्नेजति खाद्यान्न तथा जिन्सी संकलन भएको छ’ महासचिव लक्ष्मण कँडेलले भने । उनका अनुसार आज
(शुक्रवार) पनि राहत संकलन अभियान सञ्चालन गरिनेछ । दुई दिनमा संकलन भएको राहत स्थानीय प्रशासनमार्फत् पीडितहरूलाई दिइने उनले जनाए ।
उनले अग्निपीडितहरूलाई जिन्सी सहयोग गर्न चाहनेले संघको कार्यालयमा सामान बुझाउन सक्ने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए । यस्तै आर्थिक सहयोग गर्न चाहनेले सिटिजन्स बैंक सुर्खेतमा संघद्वारा स्थापित दैवी प्रकोप राहत कोषको खाता नं. ०३३००००३३९ऋब् मा ईच्छा अनुसारको रकम जम्मा गरी त्यसको भौचर संघमा बुझाइ दिन पनि महासचिव कँडेलले आग्रह गरे ।
संघका अध्यक्ष धनबहादुर रावतको नेतृत्वमा संघका पदाधिकारीहरू आफै राहत संकलनमा जुटेका छन् । कालिकोटमा परेको विपत्तिमा मानवीयताका साथै कालीकोट उद्योग वाणिज्य संघले गरेको आग्रह अनुसार राहत संकलन सुरु गरिएको अध्यक्ष रातवले बताए ।

प्रकाशित मितिः   १३ पुष २०७५, शुक्रबार १३:३४