कठ्याङ्ग्रिदो चिसो, गाई गोठमा बास
साझा बिसौनी संवाददाता
सुर्खेत, ११ पुस ।
घना बस्ती, खरले चिटिक्क पारी छाएका छाना । एकैखाले घर, गोठमा वस्तुभाउ । सबैका घर–आँगन जोडिएका, निकै शान्त र रमणीय देखिन्थ्यो, कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँको न्यौपाने बस्ती ।
‘पहाड जस्तो ठाउँमा पनि ग्रुप्पै परेको बस्ती देख्दा यहाँ आउने मान्छेहरू निकै आनन्द मान्थे’ खाडागाउँका रत्न चन्द न्यौपानेले भने, ‘तर, अहिले हेर्दा घरभएका ठाउँमा जलेका ढुङ्गा, काठ र खरानी मात्रै देखिन्छ । बस्ती पूरै उजाड बनेको छ ।’ आइतवार राती अकस्मात आगलागी हुँदा कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँको न्यौपाने बस्तीका ८७ घर जले । पुख्र्यौली सम्पत्तिदेखि कमाइकाज गरेको अन्न सबै ध्वस्त भयो । १५ वर्ष पहिले बनाएको उनको घर पनि जल्यो । ‘५÷६ मिटरमा जोडिएका घर थिए, एक्कासी आगलागी हुँदा केही पनि जोगाउन सकिएन’ उनले भने, ‘घर जलेर खरानी भएपछि विचल्ली परेको छ । कठ्याङ्ग्रिदो जाडोमा रात बिताउनै गाह्रो छ ।’
घरमा आगलागी भएपछि उनी सात जनाको परिवारसहित नजिकैको छिमेकीका गोठमा बसेका छन् । छिमेकीले गाईभैंसी बाहिर बाँधेर गोठमा बास दिएपछि उनको परिवार त्यही गोठमा बस्दै आएको छ । ‘यसरी विचल्लीमा परिएला भनेर सोचेको पनि थिइन्’ उनले दुःख व्यक्त गर्दै भने, ‘दैवले गरीबमाथि नै अन्याय ग¥यो । घरबास सबै खरानी भयो, कमाएको अन्नपात जल्यो । घर हाल्न सक्ने अवस्था नै छैन ।’ गाउँमा बेरोजगारी समस्या छ । रोजगारीका लागि कालापहाड जानु त्यस गाउँका युवाको लागि बाध्यता बनेको छ ।
आगलागी भएर आँखै अगाडि सिंगो बस्ती खरानी भएको सम्झिएरै उनी भक्कान्छिन् । बिहान उठेदेखि साँझ परेसम्म गाईगोठबाट उनको आँखा जलेकै घरतिर हुन्छ । ‘गाईगोठको मल उठाएर बसेका छौं’ उनले भावुक हुँदै भने, ‘एक छाक खाएर, रगतको पसिना बगाएर बनाएको घर, एकै झिल्को आगोले सखाप पा¥यो । अब परिवार कहाँ बसाल्ने, छोराछोरी चिसो भयो भन्छन् । अब आफ्नै घरमा न्यानोपारी बस्ने दिन कहिले आउँला ?’
आगलागीले घर जलेपछि आठ जनाको परिवारसहित सर्पानन्द न्यौपाने पनि नजिकैको विद्यालयमा आश्रय लिएका छन् । ‘करिब ४÷५ जनाको परिवार विद्यालयमा बसेका छौं’ उनले दुःख व्यक्त गर्दै भने, ‘चिसोले निकै कष्टकर बनाएको छ । कार्पेट ओछ्याएर र एकसरो कम्बल ओढेर रात कटाएका छौं । केटाकेटी रुन्छन्, खाना राम्रो पाएका छैनौं । घर जस्तो कहाँ हुन्छ र ?’ आगलागी पीडितहरूको उद्दार कार्यमा खटिएको सुरक्षाकर्मी र जनप्रतिनिधिहरू पनि विद्यालयमा बसेका छन् ।
आगलागीबाट विस्थापित परिवारले विद्यालयमा आश्रय लिएपछि विद्यालय बन्द भएको उनले जानकारी दिए ।
बालबालिकाले पढ्न नपाउने भएपछि विस्थापितहरूलाई विद्यालय छोड्न आग्रह गरिएको छ । न्यून आर्थिक अवस्था भएकाले पीडितहरूले पुनस्थापनाको पर्खाइमा छन् । ‘घर बनाउन सक्ने अवस्था कसैसँगै छैन’ छाक टार्न र भोटो फेर्न कालापहाड जानुपर्ने बाध्यता छ’ सर्पानन्दले भने ।
रत्न र सर्पानन्द मात्रै होइनन्, आगलागीबाट विस्थापित भएका कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँका ८७ घरपरिवार पुसको कठ्याङ्ग्रिदो चिसोमा गाईगोठ र विद्यालयमा बस्न बाध्य छन् । प्रदेश र केन्द्र सरकारबाट राहत पाए पनि बास बस्ने ठाउँ नहुँदा चिसोका कारण दैनिकी निकै चुनौतीपूर्ण बन्दै गएको छ ।
तीन करोड क्षति
खाडागाउँस्थित न्यौपानेबस्तीमा भएको आगलागीबाट तीन करोडको क्षति भएको छ । जिल्ला दैविक प्रकोप उद्दार समितिका अनुसार ८७ घरमा भएको आगलागीबाट तीन करोड ६ लाख रूपैयाँ क्षति भएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले खरको छाना र बाक्लो बस्ती भएकाले ठूलो क्षति भएको बताए । ‘बाक्लो बस्ती र पुरानै शैलीका धेरै घरहरू जले’ उनले भने, ‘तत्कालका लागि पर्याप्त राहत साम्रगी पु¥याउने काम भए पनि चिसो मौसममा रात काट्न निकै कष्टकर छ ।’
कालिकोटको सबैभन्दा विकट भएकाले पनि बस्तीमा आगलागी नियन्त्रण गर्न नसकिएको उनले जानकारी दिए । उनका अनुसार आगलागीबाट पाँच सय ४० जना महिला, बालबालिका, बृद्धबृद्धा प्रभावित भएका छन् भने दुई भैंसी, दुई बाख्रा र १४ गाईगोरु मरेका छन् ।
राहत वितरण
आगलागी पीडितलाई गृह मन्त्रालय, प्रदेश सरकारले, उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्श लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरूले राहत वितरण गरिरहेका छन् । उज्यालो जीवन, आशा सञ्जाल सुर्खेत लगायतका संघ संस्थाहरूले बुधवार कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् कालिकोटका आगलागी पीडितलाई राहत सामग्री पठाएका छन् । उज्यालो जीवन सुर्खेतका अध्यक्ष शेरबहादुर खड्काका अनुसार कपडा, जुत्ता, कापी, कलम लगायतका सामग्री पठाइएको हो । कलेक्सन बैंक फर अल कार्यक्रम अन्तर्गत प्राकृतिक विपत्तिमा परेका व्यक्तिहरूका लागि संकलन गरिएको विभिन्न सामग्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गरिएको छ ।
‘सरकार र विभिन्न संघ–संस्थाहरूको पहलमा पीडितहरूका लागि पर्याप्त राहत पु¥याएको छ’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘प्रदेश सरकारबाट वितरण भएको बारेमा कुनै तथ्यांक नै छैन ।’
आफूखुशी राहत वितरण गर्दा पीडितले राहत सामग्री के–के पाए भन्नेबारेमा एकिन तथ्यांक नभएको प्रजिअ कार्कीले बताए ।
साझा बिसौनी ।