आँखैअघि ८७ घर खरानी

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ पुस ।
मध्यरातको १२ बजे गाउँ सुनसान थियो । बस्तीका सबै मस्त निद्रामा थिए । गाउँको तल्लो छेउमा रहेको नविन न्यौपानेको घरमा एक्कासी आगलागी भयो । घरमा आगलागीबारे परिवार नै बेखबर थिए । ‘न्यौपाने बस्तीदेखि बोलाउँदा सुनिने अर्को बस्ती छ’ स्थानीय देव विश्वकर्माले भने, ‘कोलाहल भएपछि परिवारले थाहा पाए । मान्छे त बचे तर, धनमाल जोगाउन सकिएन । सबै नष्ट भयो ।’


कालिकोटको पलाँता गाउँपालिका–१ खाडागाउँ न्यौपाने बस्तीमा एक्कासी लागेको आगोले खरले छाएको छाना भेटाएपछि अनियन्त्रित बन्यो । एक–अर्को गर्दै नजिकै जोडिएका ८७ घर जलेर ध्वस्त भए । गाउँमा सडक नै पुगेको छैन । ‘गाउँमा एक्कासी कोलाहल मच्चियो । के भयो, भनेर बाहिर निस्किँदा घरमा आगो लागेर हतारो मच्चिएको थियो’ वडा सचिव विष्णुकान्त प्याकुरेलले भने, ‘दमकल पुग्नसक्ने अवस्था छैन, बस्तीमा आगो निभाउने पर्याप्त पानी पनि थिएन । खरको छाना भेटाएपछि आगो अनियन्त्रित हुँदै गयो । एक घरबाट सुरु भयो, आगोले हेर्दाहेर्दै आँखै अगाडि बस्ती नै सखाप पा¥यो ।’
खरले छाएका छाना भएको एक सय ७९ घरधुरी रहेको बस्तीमा ८७ घर जलेर नष्ट भएका छन् । आगलागीले बस्ती भेटाएपछि पुसको कठ्याङ्ग्रिदो चिसोमा घरमा लागेको आगोले सेकिएर बस्नुपर्ने बाध्यता भयो खाडागाउँबासीलाई । ‘घर जल्दै गए, सुतेका मान्छे र पशुचौपाय बाहिर निकालियो । उज्यालो पनि भयो’ उनले भने, ‘तर, घरमा भएका लत्ताकपडा र धनसम्पत्ति सबै जल्यो । लगाएको एकसरो कपडाबाहेक अरु केही जोगिएन ।’ बाक्ला र एकनासका घर भएको सुन्दर बस्ती एकै रातको आगोले उजाड बन्यो । कालिकोटको सबैभन्दा दुर्गममा पर्छ, खाडागाउँ । आगलागी भए लगत्तै खबर पाएको प्रहरी नै चार बजे बस्तीमा पुग्यो ।
राती एकबजेदेखि सुरु भएको आगलागी बिहान ११ बजे बस्ती सखाप भएपछि नियन्त्रणमा आयो । राती सल्किएको आगोले गाउँका सबै घर ध्वस्त भएपछि खाडागाउँका बासिन्दा शोकमा छन् । मानवीय क्षति नभए पनि बस्ने बास ध्वस्त भएका छन्, पुस्तौंदेखि कमाएको सम्पत्ति र खाद्यान्न नष्ट भएको छ । आगलागीमा झण्डै तीन करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार आगलागीमा सात जना घाइते भएका छन् । आगलागीबाट ७० वर्षीय चन्द्रारूपा सञ्ज्याल, ७० वर्षीय देवराज हमाल, ३७ वर्षीय विष्णुऋषि न्यौपाने, ५८ वर्षीय कर्णप्रसाद न्यौपाने, १० वर्षीय करिश्मा न्यौपाने, आस्था न्यौपाने र रत्न न्यौपाने घाइते छन् । आगोले पूरै गाउँ जलाएपछि त्यहाँका ८७ घरपरिवारहरू विचल्लीमा परेका छन् । घर जलेर नष्ट भएपछि ८७ घरका एक सय ७१ पुरुष, दुई सय ३९ महिला र एक सय ३० जना बालबालिका प्रभावित भएका छन् ।
बस्ने बास जलेपछि आगलागी पीडितहरू नजिकैको गणेश आधारभूत विद्यालयमा आश्रय लिएका छन् । ‘कोही नजिकैका छिमेकी बस्तीमा बसेका छन्, कोही विद्यालयमा बसेका छन्’ वडा सचिव प्याकुरेलले भने, ‘सरकारले दिएको चामल र चाउचाउ खाएर बस्नुपर्ने अवस्था छ ।’
पीडितलाई सरकारको राहत
कालिकोटको भीषण आगलागीबाट क्षति भएका परिवारलाई सरकारले राहत उपलब्ध गराएको छ । संघीय र प्रदेश सरकारले आगलागी पीडितलाई राहत वितरण गरेको हो । मुख्यमन्त्रीको निर्देशनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट आपतकालीन राहत वितरण गरिएको हो ।
आगलागी पीडितलाई ओढ्ने ओछ्याउनेसहित खाद्यान्न सामग्री सरकारले वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार नगद २०÷२० हजार रूपैयाँ प्रदान गरेको छ । यस्तै, चिसो मौसम भएकाले न्यायो कपडासमेत वितरण गरिएको छ । प्रदेश सरकारले एक सय थान ब्लाङ्केट, पाँच वण्डल पिफम, एक सय थान सिरक÷डसना वितरण गरेको हो । यस्तै, खाद्यान्नमा १५ पेटी चाउचाउ, ६ पेटी बिस्कुट, तीन बोरा चिउरा र २३ किलोग्राम फुरनदाना वितरण गरेको छ ।
संघीय सरकारको तर्फबाट गृह मन्त्रालयले ६० थान त्रिपाल, एक सय थान जुत्ता, एक सय थान ज्याकेट, ट्राउजर र दुई सय थान ब्लाङ्केट वितरण गरेको छ । सदरमुकाम मान्मबाट तीन हजार किलो चामलसहित दाल, नुन तेल लगायतको आवश्यक खाद्यान्न सामग्री आगलागी पीडितहरूलाई प्रदान गरिएको छ ।
आगलागी पीडितलाई राहत सामग्री लिएर पलाँता पुगेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छिट्टै पुनस्र्थापना गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मितिः   १० पुष २०७५, मंगलवार १२:२६