समाज सेवामै समर्पित हुने लक्ष्य
वि.सं. २०४७ साल कार्तिक १० गते बुबा मोतिलाल शर्मा र आमा डम्बरकुमारी शर्माको कोखबाट बारेकोट गाउँपालिका–९ जाजरकोटमा जन्मिएका कृष्णप्रसाद शर्मा पेसाले गैरसरकारी संस्थामा लेखा सहायकको रूपमा काम गर्छन् । सानैदेखि डाक्टर बन्ने सपना बोकेका कृष्ण आर्थिक अभावका कारण डाक्टर बन्न सकेनन् । बुबाआमा कृषि गर्ने परिवारमा कमाइदिने कोही नभएपछि आफ्नो ईच्छा पूरा गर्न नसकेपछि उनी व्यवस्थापन विषय लिएर पढ्न थाले । पाँच भाइ र एक बहिनीमा उनी घरका काइला छोरा हुन् । डाक्टर बन्ने सपना पूरा नभए पनि कृष्णले अबको बाँकी जीवन सामाजिक अभियन्ताको रूपमा बिताउने अठोट गरेका छन् । शर्माले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी सीता वलीसँग यसरी साटेः
म गाउँमा जन्मिएको मान्छे । पारिवारिक स्थिति पनि केही नाजुक नै थियो । मलाई सानैदेखि डाक्टर बन्ने मन थियो । मैले एमबीबीएस डाक्टर बन्ने सपना त देखेको थिएन । एचएसम्मको सपना पनि आर्थिक अभावकै कारण पूरा भएन । मैले वि.सं. २०६५ सालमा जाजरकोटबाट एसएलसी पास गरेर सुर्खेतमा उच्च शिक्षाको लागी आएँ । आर्थिक अभावकको कारण र सरकारी विद्यालयमा पढेको कारण अंग्रेजीमा पनि कमजोर थिएँ त्यसैले केही पछि परें । एचए पढ्ने सपना पूरा नभएपछि मैले अमरज्योति नमुना माध्यमिक विद्यालयमा व्यवस्थापन विषय लिएर पढें । मेरो पढ्ने मात्रै रुचि भएन, पढाइ सँगसँगै काम गर्ने ईच्छा जाग्यो । प्लस टू पढ्दा–पढ्दै मैले वातावरणीय कृषि तथा विकास केन्द्र केडमा लेखा सहायकको रूपमा काम गर्ने अवसर पाएँ । जागीरको शिलशिलामा मलाई समाज सेवाप्रति बढी रुचि जाग्यो र म त्यसैमा लागिरहेको छु ।
एउटा कृषकको छोरो आर्थिक अभावकै कारण पूरा नभएको सपना समाज सेवाबाट पूरा भएको अनुभूति मलाई भएको छ । म जस्ता आर्थिक अभावमा सपना गुमाएका थुप्रै युवाहरू होलान् । जीवनमा एउटा मात्रै सपना देखेर पुग्दो रैनछ । जीवनका बाटाहरू धेरै हुँदा रैछन, जसले गर्दा गुमेका खुशीहरू पनि फर्किंदा रैछन भन्ने अनुभूति मलाई भएको छ । मैले बहुमुखी क्याम्पस सुर्खेतबाट स्नातक तह पास गरेको छु भने स्नातकोत्तरको तयारीमा छु ।
मलाई हिजोआज समाजसेवामा एकदमै रुचि बढेको छ । आगामी दिनमा पनि समाज सेवालाई नै निरन्तरता दिने अठोट बोकेको छु । मलाई राजनीतिमा खासै रुचि छैन । समयले राजनीति गर्न पनि बाध्य बनाउन सक्छ तर मलाई राजनीति भन्दा विशुद्ध समाज सेवामा नै बढी रुचि छ । म विद्यालय पढ्दा खुब नृत्य गर्ने गर्थें । धेरैपटक विद्यालयस्तरीय नृत्य प्रतियोगितामा प्रथम तथा द्वितीय समेत भएको छु । जाजरकोटको ग्रामीण भेगमा जन्मिएको मान्छे, सुर्खेतमा आएर संघर्ष गर्न त एकदमै अप्ठ्यारो भएको छ । तर पनि धेरै संघर्ष गरेर म सुर्खेतमै स्थापित भएको छु । मेरो जीवनमा दुःखको क्षण पनि छ । म चार वर्षको हुँदा बुबा गुमाएँ र १० वर्षे जनयुद्धको बेलामा मेरो दाई गुमाएँ । त्यो दिन म चाहेर पनि भुल्न सक्दिन । जीवनमा दुःख मात्रै छैन । खुशीको क्षण पनि छ । मैले मेरो विवाहपछि पहिलो सन्तान प्राप्त गर्दा एकदमै खुशी भएको थिएँ ।
मलाई मेरो पेसाप्रति एमदमै सन्तुष्टि छ । मैले जुन पेसा गरे पनि समाज सेवामै लागेको अनुभूति गरेको छु । त्यसमा नै सन्तुष्टि मिलेको छ । गैरसरकारी संघ–संस्थामा काम गर्दा पनि मैले लेखा हेर्न पाएको छु । त्यसमा झनै खुशी लागेको छ । आजीवन म समाज सेवाप्रति नै समर्पित हुनेछु ।
साझा बिसौनी ।