परियोजनाको संयुक्त अनुगमन

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ पुस ।
किर्डाक नेपालले सुर्खेतका विभिन्न स्थानीय तहमा सञ्चालन गरिरहेको दिगो तथा मर्यादित सामाजिक आर्थिक सशक्तीकरण सिड्स परियोजनाको संयुक्त अनुगमन तथा समीक्षा गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१ मा सञ्चालित सुनौलो किशोरी संवाद केन्द्र तथा वीरेन्द्रनगर १४ गढीमा सञ्चालित फूलबारी स्वावलम्बन महिला समूह र भैंसीपालन व्यवसायको अनुगमन गरिएको हो ।
जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छविलाल सिग्देलले किशोर–किशोरीहरूको सशक्तीकरणका लागि संवादले सहयोग पु¥याएको बताए । ‘यो उमेरमा के गर्दा ठीक के गर्दा गलत भन्ने थाहा हुँदैन’ उनले भने, ‘संवादमा सहभागी भइ जीवन उपयोगी सीप र अन्य विषयहरूमा छलफल गर्दा किशोर–किशोरीहरूको सशक्तीकरणमा सहयोग पुग्दछ ।’ त्यसैगरी वीरेन्द्रनगर नगरपालिकाकी उप–प्रमुख मोहनमाया ढकालले संवाद केन्द्रको प्रभावकारिता र आवश्यकता धेरै रहेकाले आगामी दिनमा पनि निरन्तरताका लागि नगरपालिकाले सहयोग गर्ने बताइन् ।
नगर उप–प्रमुख ढकालले महिलाहरूको आयस्तर बढाउन विभिन्न गतिविधिहरूमा नगरपालिकाको सहयोग रहने बताइन् । ‘समूहलाई निरन्तर रूपमा अगाडि बढाउनुहोस्’ उनले भनिन्, ‘आय–आर्जनका गतिविधिहरूमा संलग्न गराउन नगरपालिकाले सहयोग गर्नेछ ।’ सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका महाशाखाका प्रमुख जमुना पौडेल, वीरेन्द्रनगर–१४ का वडा अध्यक्ष टोपबहादुर दर्लामी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु महाशाखाका प्रतिनिधि दिपक भण्डारी, घरेलु तथा साना उद्योग विकास समितिका इन्द्र थापा लगायतको सहभागिता थियो ।
यसैबीच सोमवार नै परियोजना सल्लाहकार समितिको बैठक पनि सम्पन्न भएको छ । स्ट्रोम फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालित परियोजना वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा सञ्चालित छ ।

प्रकाशित मितिः   १० पुष २०७५, मंगलवार १२:२५