‘बजेटमा निगरानी गरिदिनुहोस्’

साझा बिसौनी संवाददाता
सुर्खेत, ९ पुस ।
चालु आर्थिक वर्षमा लक्षित वर्गका लागि विनियोजन गरिएको बजेटमाथि प्रभावकारी अनुगमन गरिदिन आग्रह गरिएको छ । विगतदेखि लक्षित वर्गका नाममा विनियोजन हुँदै आएको बजेट प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै सरोकारवालाले बजेट माथि निगरानी बढाउन आग्रह गरेका हुन् ।
अपाङ्ग सशक्तीकरण केन्द्र सुर्खेतको आयोजनामा सोमवार वीरेन्द्रनगरमा भएको एक कार्यक्रमका सहभागीहरूले लक्षित वर्गको बजेट दुरूपयोग रोक्न स्थानीय सरकारसँग आग्रह गरेका हुन् । लक्षित समुदायको बजेट वर्षेनी छुट्याउँदै आए पनि प्रतिफल देखिने काम हुन नसकेको सहभागीहरूले बताएका छन् । उनीहरूले लक्षित समुदायको बजेट उपयोगितामा पारदर्शी बनाउन नसके राज्यको लगानी अनुसारको प्रगति देख्न नसकिने बताए ।
बजेट विनियोजन पश्चात अनुगमन नहुँदा लक्षित समुदाय नै दोहोरो सुविधा उपभोग गर्ने गरेको अपाङ्ग सशक्तीकरण केन्द्रका अध्यक्ष विष्णुप्रसाद शर्माले बताए । ‘अधिकार सम्पन्न स्थानीय सरकार घर–आँगनमै आइपुगेको छ’ उनले भने, ‘सरकारको काम बजेट विनियोजन गरिदिने मात्रै होइन्, त्यसको प्रभावकारी अनुगमन र निरीक्षण पनि आवश्यक छ । अब स्थानीय सरकारले अनुगमन समिति बनाएर बजेट खर्च र कार्यान्वयनको अवस्थाबारे निगरानी बढाउनुपर्छ ।’
उनले स्थानीय तहमा अपाङ्गका नाममा जाने बजेटको अनुगमन नहुँदा अनियमितता र दोहोरो सेवा लिने गरेको बताए । ‘लक्षित वर्ग सधैं माग्ने बनाउने होइन’ उनले भने, ‘उपेक्षामा परेका व्यक्तिले पनि जीविकोपार्जन गर्नसक्ने गरी बजेट कार्यान्वयन हुनुपर्छ । तर, यहाँ सिलाइ कटाइका लागि दिइएका मेसिनहरू थन्काउने र अरु सुविधा खोज्ने प्रवृत्तिको अन्त्य भएको छैन ।’
लक्षित समूहमार्फत् नै पैरवी गर्नुपर्ने धारणा कार्यक्रमका सहभागीहरूले राखेका थिए । कार्यक्रममा सवलता परियोजनाका सुपरभाइजर शोभा
रेग्मीले अपाङ्गता भएका व्यक्तिहरूको वर्तमान अवस्था र पहिचानका कसरी गर्ने भन्नेबारेमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा जिल्लामा रहेका अपाङ्ग सशक्तीकरण समूहका पदाधिकारीहरूको सहभागिता थियो ।

प्रकाशित मितिः   १० पुष २०७५, मंगलवार १२:२४