प्रहरीको घेराभित्र विश्वविद्यालयको वार्षिकोत्सव
बिसौनी संवाददाता
सुर्खेत, ३ असार ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय महाविद्यालय परिसरमा शुक्रवार बिहानैदेखि चहलपहल थियो । विश्वविद्यालय स्थापना भएको दिनको अवसर पारेर औपचारिक कार्यक्रम तय गरिएको थियो । विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकहरू कार्यक्रम स्थलमा पुगिसकेका थिए । त्यहाँ सुरक्षाकर्मीको उपस्थिति बाक्लो थियो ।
कार्यक्रम स्थलमा हतियारसहितका नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका थिए । झट्ट हेर्दा शुक्रवार विश्वविद्यालयको प्राङ्गणमा खुशीयाली भन्दा डर र त्रासको अवस्था थियो । प्रहरीले मञ्चको वरपर सुरक्षा घेरा तयार पारेको थियो । केही विद्यार्थीहरू विश्वविद्यालयका उपकुलपतिलाई कार्यक्रम स्थलमा प्रवेश गर्न नदिने तयारीमा थिए । विद्यार्थीबाट अवरोध हुने जानकारी पाएपछि उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइराला निर्धारित समय भन्दा ढिला मात्र पुगे । जसले गर्दा औपचारिक उद्घाटन नै नगरेर कार्यक्रम सञ्चालन भयो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ र प्रहरी प्रमुख एसपी वीरेन्द्र श्रेष्ठको स्कटिङमा कार्यक्रम स्थलमा जाँदै गर्दा उपकुलपतिलाई विद्यार्थीहरूले मूलगेटमा नै घेराबन्दी गरे । विद्यार्थीबाट हुनसक्ने अवरोधबाट बच्नका लागि उपकुलपति कोइराला सुरक्षाकर्मी अघिपछि लगाएर कार्यक्रम स्थलमा पुग्दा विद्यार्थीहरूले नाराबाजी गरे । उनी सवार गाडीमा आक्रमण नै गरे । प्रहरीले बल प्रयोग गरेर विद्यार्थीहरूलाई हटाएपछि मात्र उपकुलपति कोइराला मञ्चमा पुग्न सफल भए । विद्यार्थीहरूले विश्वविद्यालयका पदाधिकारीहरू विरुद्ध नाराबाजी गरे । केहीबेर कार्यक्रम स्थलमा तनाव उत्पन्न
भयो । कार्यक्रमको सुरक्षाका लागि भन्दै कार्यक्रम अवधिभर करिब डेढ सय प्रहरी परिचालन गरिएको थियो । अन्ततः सुरक्षा घेराभित्र नै विश्वविद्यालयको छैठौं वार्षिकोत्सव सम्पन्न भयो । सुर्खेती जनताले लामो आन्दोलन र पसिनासँग साटेर प्राप्त गरेको विश्वविद्यालयले आफ्नो छैठौं वार्षिकोत्सव सुरक्षा घेराभित्र मनाउनुपर्ने अवस्था आयो ।
स्थापनाकालदेखि नै तालाबन्दी, हड्ताल र आन्दोलनको चपेटामा पर्दै आएको यो विश्वविद्यालय अहिले पनि विभिन्न व्यक्ति र समूहको स्वार्थका कारण तङ्ग्रीन सकेको छैन । कहिले विद्यार्थी, कहिले प्राध्यापाक र कहिले कर्मचारीहरूले आफ्नो स्वार्थ पूरा गर्न विश्वविद्यालयलाई हतियार बनाउँदै आएका छन् । जसको परिणाम विश्वविद्यालयप्रति उत्साह भन्दा पनि निराशा पैदा भएका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र विश्वविद्यालयबीच जुहारी चन्दै आएको छ । अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएको छ । तर विश्वविद्यालयका पदाधिकारीहरूले त्यसलाई कुनै सुनुवाइ नै गरेका छैनन् । यसैको परिणाम वार्षिकोत्सव नै प्रहरीको घेराभित्र मनाउनुपर्ने अवस्था सिर्जना भयो । वृद्धि भएको शुल्क खारेज हुनुपर्ने, तत्काल रजिस्ट्रार नियुक्त हुनुपर्ने, सेवा आयोगलाई स्वायत्त बनाउनुपर्ने, स्ववियु निर्वाचन तत्काल घोषणा हुनुपर्ने लगायतका विभिन्न माग राख्दै क्रान्तिकारी आन्दोलनमा छ । लामो समयसम्म पनि माग पूरा नभएको भन्दै क्रान्तिकारीले असार १ गतेबाट पदाधिकारीका गाडी अवरोध गर्दै आएको छ । विद्यार्थीहरूले अवरोध गर्न थालेपछि पदाधिकारीहरू प्रहरी राखेर गाडी चलाउन थालेका छन् ।
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने अखिल क्रान्तिकारीका विश्वविद्यालय इन्चार्ज राजेन्द्र बुढाले बताए । तर विश्वविद्यालयका उपकुलपति कोइराला आफूहरूले सक्ने सबै माग पाँच मिनेटमा नै पूरा गरिदिने बताउँछन् । अनावश्यक मागहरू राखेर विश्वविद्यालयलाई असफल बनाउने षड्यन्त्र सुरु भएको उनको आरोप छ । वार्षिकोत्सवमा उनले भने, ‘म यो विश्वविद्यालय बनाउन आएको हुँ, मान्छेहरूले अनावश्यक विरोध गरिरहेका छन् । म जस्तो अरु कोही ट्यालेन्ट ल्याउनुस्, म राजीनामा दिएर जान्छु ।’ आफूले विश्वविद्यालयलाई देशकै नमुना बनाउने दाबी गर्दै उनले थपे, ‘शंख फुकेर विश्वविद्यालय बन्दैन, ताला लगाएर विद्वान भइदैन । सबै मिलेर विश्वविद्यालय बनाऔं, वार्ताबाट समस्या समाधान गरौं ।’ उपकुलपतिले यसो भनिरहँदा कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले राजनीतिक भागवण्डाका कारण विश्वविद्यालय थला परेको गुनासो गरे । नेकपा मसालका प्रवक्ता बालकृष्ण सुनारले योग्यता र क्षमताका आधारमा शिक्षक कर्मचारी नियुक्त हुनुपर्ने बताए । नेपाली कांग्रेसका रामबहादुर सिंहले विश्वविद्यालय अब तालाबन्दीमुक्त हुनुपर्नेमा जोड दिए । यस्तै प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले जनताको दुःखबाट स्थापना भएको विश्वविद्यालय जनताको चाहना अनुसार सञ्चालन गर्न आग्रह गरे ।
सो अवसरमा बोल्ने वक्ताहरूले विश्वविद्यालय स्वार्थ पूरा गर्ने हतियार बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला कोषाध्यक्ष दानसिं सुनारले तत्काल विद्यार्थीले उठाएका मागहरू सम्बोधन गर्न पदाधिकारीलाई आग्रह गरे । दमन गरेर निकास नआउने उनको भनाइ थियो । सोही अवसरमा खेलकुद सप्ताहमा विजयी खेलाडी, विश्वविद्यालयका उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
साझा बिसौनी संवाददाता ।