‘आँप खान जाँदा माया बस्यो’
वर्षाको मौसम, यसै पनि रमाइलो थियो । त्यस दिन त झनै सिमसिमे पानीले मौसम अरुदिन भन्दा बढी मनमोहक देखिन्थ्यो, जुन दिन उनीहरू आँप खानकै लागि भनेर वीरेन्द्रनगरबाट दशरथपुर गएका थिए । बहिनी अन्जु (मामाको छोरी) को अनुरोधमा रामप्रसाद पाण्डे(राजु) आँप खानकै लागि उनीहरूसँग हिँडेका थिए । साथमा अन्जुका साथीहरू पनि थिए । यताबाट जाँदा कसैलाई कसैको वास्ता थिएन, सबै आ–आफै रमाइरहेका थिए । पाण्डे पनि आफ्नै सुरमा रमाइरहेका थिए । त्यही हुलमा रमाइरहेका मध्ये प्रभा पनि थिइन् ।
….
पिता विष्णुप्रसाद पाण्डे र माता पवित्रा पाण्डेको कोखबाट वि.सं. २०४० सालमा दैलेखमा जन्मिएका रामप्रसाद पाण्डे (राजु) को बाल्यकाल कैलालीमा बित्यो । उनी जन्मिएको तीन महिनामा नै उनका माता पिता बसाइँ सरेर कैलाली गएका थिए । पाण्डेको बाल्यकाल रमाइलोसँग बितेको थियो । उनी बाल्यकालमा अलि बढी नै चञ्चले स्वभावका थिए । उनी सम्झन्छन्, ‘म बाल्यकालमा अलि बढी नै चञ्चले स्वभावको थिएँ, साथीभाइहरूसँग अलि बढी नै ठट्यौली गर्ने बानी थियो ।’ उनी गोठाला जाँदा रमाइलो गर्ने हुँदा साथीभाइहरू पनि उनलाई हरेक काममा सघाउने गर्थे ।
उनले एसएलसीसम्मको पढाइ टिकापुरको बटनपुरमा गरेका थिए । एसएलसी दिएर उनी ६ महिना जति भारतको नयाँ दिल्लीमा बसे । ६ महिनापछि दशैंको अवसरमा घर फर्केका पाण्डे उच्च शिक्षा पढ्नको लागि सुर्खेत आए । उनी भारतको नयाँ दिल्लीमा हुँदा व्यापार सम्बन्धी धेरै ज्ञान पाइसकेका थिए । उच्च शिक्षाका लागि सुर्खेत आएका पाण्डे सुर्खेतलाई कर्मथलो बनाइ व्यापारतिर लागे । पाण्डेले सुर्खेत सानो ठाउँ भए पनि यहाँको महँगीलाई बुझेर व्यापार गर्ने सोच बनाए ।
उनी हुर्किएको कैलालीमा खाद्यन्न धेरै र सस्तो पाइने तर, सुर्खेतमा भने महँगोमा बेच्ने हुँदा सुर्खेतमा व्यापार गर्ने सोच उनमा पलाएको थियो । कैलालीमा १५ रूपैयाँ किलो पाइने चामल सुर्खेतमा २५ रूपैयाँसम्ममा बिक्री भएको देख्दा सुरुमा उनलाई अचम्म लागेको थियो । पढाइमा भन्दा उनको ध्यान व्यापारमा जान थालेपछि उनले पनि व्यापार गर्ने निधो गरे । उनले भने, ‘म २०५७ सालमा उच्च शिक्षा पढ्नको लागि सुर्खेत आएको थिएँ तर, यहाँको वातावरणले मलाई व्यापारतिर धकेल्यो ।’ क्यापसमा पढाइ धेरै नहुने हुँदा र मामाको व्यापार देखेर पनि उनले व्यापार सम्बन्धी ज्ञान धेरै लिइसकेका थिए ।
उनले कैलालीमा नेपाल र भारतको सीमाना जोडिएकोले पनि त्यहाँको व्यापारबाट धेरै कुरा सिकिसकेका थिए । कैलालीको चामल, दाल इत्यादि सामान सुर्खेत ल्याएर उनले आफ्नै मामाको घर कालुञ्चोकमा सुरु गरे । विस्तारै उनको व्यापार फस्टाउँदै गयो । उनका ग्राहकहरू धेरै नै बने । त्यति मात्र होइन उनले कैलालीबाट चामल दालहरू ल्याएर बाहिर जिल्लामा पनि पठाउन थाले । कम उमेरमा नै व्यापार सम्बन्धी राम्रो ज्ञान प्राप्त गरेका पाण्डे व्यापार व्यवसायमा दक्ष बन्दै गए । विस्तारै उनको मन फेन्सी पसल गर्नेतिर मोडिदै गयो । उनी भारतमा बस्दा फेन्सी सम्बन्धी धेरै कुरा सिकेका थिए । उनको नाम नागरिकतामा रामप्रसाद छ तर, बाहिर सबैले उनलाई राजु भनेर चिन्ने गर्छन् । उनको राजु नाम भारतमा नै साथीहरूले राखिदिएका थिए । अरुसँग नाम जुधेको हुनाले उनलाई सबैले राजु भनेर बोलाउँदा नै साँचिच्कै उनको नाम नै राजु रह्यो । उनलाई व्यापार कसरी गर्नुपर्छ भन्ने सम्पूर्ण कुरा थाहा थियो । उनले आफ्नै मामाको घरमा फेन्सी पसल पनि खोले । उनले भने, ‘मैले सुरुमा कालुञ्चौकमा मामाको घरमा फेन्सी पसल खोलें, पछि बजारमा सारें ।’ अहिले उनले राजु कलेक्सन सञ्चालन गरिरहेका छन् । व्यापार व्यवसायलाई उनको रमाउने बाटो थियो ।
राजु प्रायः व्यापारमा नै व्यस्त रहन्थे । तर बहिनी अञ्जुको करकापमा उनी दशरथपुर गएका थिए । उनको बहिनीको साथमा धेरै साथीहरू पनि थिए । सबै जना रमाइलो गर्दै आँप खाएर घर फर्के तर, पाण्डेको जीवनमा प्रवेश गर्ने कोही थियो त्यहाँ, जहाँ उनीहरू आँप खान गएका थिए । उनको जीवनमा प्रवेश गर्ने अरु कोही नभएर प्रभा थिइन् ।
अञ्जुको साथी प्रभा धेरै पटक उनी बसेको घरमा आउने जाने गर्थिन् । दुवैलाई केही वास्ता हुन्थेन । आँप खान गएपछिका यादहरू उनीहरूका लागि यादगार बन्दै गए । त्यसपछिका दिनमा प्रभाको आगमन पाण्डे बसेको घरमा धेरै नै हुन थालिसकेको थियो । दुवैले एकअर्काेलाई मन पराउन थालिसकेका थिए । उनीहरू भन्छन्, ‘आँप खान गएको क्षण नै हाम्रो दूरी नजिक बनाउने क्षण बन्यो ।’
प्रभा सुखसयलमा हुर्किएकी थिइन् । गैरसरकारी संस्थामा जागिरे पनि । त्यतिबेला नै उनी स्कुटटर चढेर हिँड्थिन । जबकी त्यो समय सुर्खेतमा स्कुटर चढ्नेहरूको संख्या अत्यन्तै न्यून थियो । उनै प्रभाले प्रेम गर्छु भनेपछि राजु पनि सोच्नमग्न भए । उनले सोचे एउटा पढे लेखेको तथा हरेक कुरामा साहसका साथ अगाडि बढ्ने हिम्मत राख्ने यो कटी नै मेरो जीवनसाथी बन्न सक्छे । दुवैले एकअर्काेको बारेमा बुझिसकेको भएर पनि उनीहरू विवाह गर्ने सोच बनाए । २०६६ सालमा उनीहरूले भागी विवाह
गरे । उनीहरू आँप खान गएको सात दिनपछि नै विवाह भएको थियो ।
विवाह पछि प्रभालाई धेरै गाह्रो भयो । माइतीमा एक्लो छोरी । दुई दाई भाउजु थिए । त्यसमा पनि माइतीमा केही काम नगरेकी उनी घरमा सबै काम आफै गर्नुपर्ने हुन्थ्यो । उनले भनिन्, ‘विवाहपछि त मेरो दुःख र सङ्घर्षका दिन सुरु भए, मलाई खाना पकाउन, मसला पिस्न, तरकारी काट्न केही काम आउँदैन थियो । सुरुसुरुमा त मैले माइतीबाट खाना पकाउन लगाएर घरमा ल्याउने गथें ।’ माइतीमा हुँदा भाउजुहरूले सबै काम गर्ने र प्रभा जागिरमा व्यस्त हुने भएकाले पनि उनले माइतीमा काम गर्नु परेको थिएन तर, घरमा उनलाई काममा सघाउने कोही थिएन । पाण्डे व्यापारमा व्यस्त हुने घर व्यवहार सबै प्रभाको हातमा भएकाले तरकारी काट्नु भन्दा धेरै उनले हात काट्ने गर्थिन् । उनी भन्छिन्, ‘मान्छेले आँटका साथ काम ग¥यो भने नसक्ने काम केही छैन, मैले पनि सबै काम घरमा नै आएर सिकेको हो ।’
पिता मोतिलाल गिरी र माता टिका गिरीको कोखबाट २०४२ सालमा सुर्खेतमा जन्मिएकी प्रभाको बाल्यकाल सुखद्सँग बितेको थियो । माइतीमा उनलाई केही काम गर्नुपरेन । घरकी एक्ली छोरी सबैको माया ममतामा नै दिन गयो । कक्षा ७ सम्म इगरब्रिजमा पढेकी प्रभाले एसएलसी जन उच्च माविबाट पास गरिन् । दुःख के हो उनले माइतीमा हुँदा भोग्नु परेको थिएन । घरमा पनि अन्य कुरामा दुःख नभए पनि खाना पकाउने कुरामा भने उनले धेरै दुःख नै पाइन् ।
विवाहपछिका दिनमा पाण्डे व्यापारमा अलि बढी नै व्यस्त हुने भएकाले प्रभालाई कहिले काहीं रिस उठ्ने गर्छ । यस्तै रिसको बेला उनीहरूको कहिले काहीं सामान्य झगडा पनि हुनेगर्छ । प्रभा जति रिसाए पनि एकै छिनमा फेरि महसुस गरिहाल्छिन् । धेरै समयसम्म रिसाइरहन सक्दिनन् । उनी भन्छिन्, ‘कहिले काहीं घरलाई पनि समय दिए हुन्थ्योे जस्तो लाग्छ त्यस्तै कुरामा कहिले काहीं झगडा हुनेगर्छ म अलि बढी रिसाउने गर्छु फेरि एकैछिनमा महसुस पनि गरिहाल्छु ।’ दुई बच्चाको साथमा घर व्यवहार सबै धान्नदेखि बैंकको कारोबार समेत प्रभाले नै गर्ने गर्छिन् । पाण्डेलाई प्रभाको अभिभावक जस्तो व्यवहार नै मनपर्ने गर्छ । अलि बढी रिसाउने बानी हटाइदिए हुन्थ्यो जस्तो पाण्डेलाई लाग्छ । त्यस्तै प्रभालाई पनि पाण्डेको आफूले भनेको हरेक कुरा मान्ने बानी मनपर्ने गर्छ ।
उनीहरूका अनुसार दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागि एकअर्काेबीचको सम्बन्धमा विश्वास कायम गर्नुपर्छ । एकअर्काेको कुरा राखेर सल्लाह अनुसार अगाडि बढ्न सक्दा सम्बन्ध दिगो हुने उनीहरूको भनाइ छ । श्रीमान् श्रीमती भनेका एक रथका दुई पाङ्गा हुन् जुन एउटा पाङ्ग्रा मात्र भएन भने पनि अर्काे पाङ्ग्राको अस्तित्व रहँदैन । त्यसैले सधैं एकअर्काेको भावना अनुसार चल्न जान्नु र कदर गर्न सक्नुपर्छ ।
साझा बिसौनी संवाददाता ।