विशेषज्ञविहीन जिल्ला अस्पताल

साझा बिसौनी संवाददाता
रुकुम, ४ पुस ।
पश्चिम रुकुममा रहेको जिल्ला अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ चिकित्सकविहीन भएको छ । वि.सं. २०४५ सालमा स्थापना भएदेखि नै अस्पताल विशेषज्ञविहीन हुँदै आएको छ ।
अस्पतालमा एक जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । तर हालसम्म पदपूर्ति भएको छैन । स्वास्थ्य विभागले एउटा पनि विशेषज्ञ डाक्टर काम गर्नेगरी जिल्लामा पठाएका छैन । अस्पताल प्रमुख डा. सुशील पोखरेलले भने, ‘उपचार गर्ने गरी हालसम्म कोही विशेषज्ञ डाक्टर आएको मैले थाहा पाएको छैन ।’ कुनै पनि रोगको विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि त्यो पूर्ति नभएको भनाइ डा. पोखरेलको छ । उनका अनुसार नवौं तहको दरबन्दी जिल्ला अस्पतालमा छ ।
‘अस्पताल स्थापना भएको ३० वर्ष भइसक्दा पनि एक जना विशेषज्ञको सेवा नपाउनु दुर्भाग्य हो,’ जिल्ला अस्पताल विकास समितिका पूर्वअध्यक्ष धनवीर ओलीले भने, ‘दरबन्दी भएर पनि स्वास्थ्य मन्त्रालय तथा विभागले एक जना विशेषज्ञ जिल्ला पठाउँदैन ।’ अस्पतालले बेला बेलामा विशेषज्ञ डाक्टर ल्याउन गरेका प्रयास कहिल्यै सफल नभएको नमिठो अनुभव गरेको उनले बताए । ‘कतिपय अवस्थामा
डाक्टरले नै आउन नमान्ने, विभाग र मन्त्रालयले पठाउन पनि आनाकानी गर्नाले लामो समयदेखि विशेषज्ञ डाक्टरको दबरन्दीको अभाव अस्पतालले बेहोरिरहेको छ, यसको परिपूर्तिका लागि सबै निकाय गम्भीर हुनुपर्छ,’ ओलीले भने । पुरानो र जिल्ला अस्पताल भएकाले सेवा विस्तार तथा सहज उपचारका लागि स्थानीय, तह प्रदेशदेखि संघीय सरकारले पनि ध्यान पु¥याउनुपर्ने भनाइ उनको छ ।
अस्पताल प्रशासन भन्दा बिरामीको उपचार महŒवपूर्ण हुने भएकाले विभागले उपचारमै खट्ने डाक्टर जिल्ला अस्पतालमा पठाउनुपर्ने भनाइ सर्वसाधारणको छ । नवौं तहको विशेषज्ञ डाक्टर आएर प्रशासन मात्रै चलाएर बस्ने भएपछि त्यसबाट बिरामीले फाइदा लिन नसक्ने भएकाले उपचार गर्नेगरी नै विशेषज्ञ डाक्टर पठाउनुपर्ने मुसीकोट नगरपालिका–१, का विष्णुबहादुर ओलीले बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा विशेषज्ञ डाक्टरले प्रशासन चलाउने भन्दा पनि उपचार गर्नु महŒवपूर्ण कुरा हो,’ उनले भने, ‘उपचार गर्नका लागि विशेषज्ञ पठाइनुपर्छ ।’ विशेषज्ञ डाक्टरको दरबन्दी हुँदा पनि डाक्टर नआउँदा बिरामीले ठूलो समस्या भोग्दै आएका छन् । एउटा मात्रै रोगको विशेषज्ञ भएपछि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट छुटकारा पाउने बिरामीहरूले बताएका छन् ।

प्रकाशित मितिः   ५ पुष २०७५, बिहीबार १७:१६