शान्तिका लागि कानुन कार्यान्वयनमा जोड

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ पुुस ।
शान्तिका लागी कानुन निर्माण र कार्यान्वयनमा जोड दिनु पर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । बुधवार शान्तिका लागि साझा अभियानले वीरेन्द्रनगरमा आयोजना गरेको संवाद कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
सामाजिक न्याय र मानवअधिकार हामी सबैको साझा सरोकार, संघीय संरचनामा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक संवाद कार्यक्रमका सहभागीहरूले शान्तिका लागी कानुन पहिलो बाधक भएको बताएका थिए । कार्यक्रममा बोल्दै कर्णाली प्रदेशसभा सदस्य सीता नेपालीले नेपालमा कानुन बन्ने र कार्यान्वयन नहुने भएको कारण पनि अशान्तिको सामना गर्नुपरेको बताइन् । उनले भनिन् ‘१० वर्ष जनयुद्धका कारण देशमा अशान्ति भएको भन्ने कुरा गलत हो । आज पनि समाजमा शान्ति छैन । यसको मूल कारण कानुन निर्माण र कार्यान्वयनको कमजोरी हो ।’
अर्का सांसद सुशील थापाले आफूहरूले समाजमा शान्ति स्थापनाको लागी सहयोग गर्ने भन्दै कानुन निर्माणमा समेत पहल गर्ने बताए । त्यस्तै सांसद दानसिं परियारले समाजमा एउटा मात्रै समस्या नभएकोले शान्ति स्थापनामा कठिनाइ भएको भन्दै सामाजिक सोच र चिन्तनमा पनि उत्तिकै परिवर्तन हुनुपर्ने बताए । अधिबक्ता नन्द भण्डारीले संविधान कार्यान्वयन भए पनि कानुनको उचित कार्यान्वयन नहुँदा शान्ति प्रक्रिया नै धरापमा परेको बताए ।
कार्याक्रममा सहभागी अधिकांशले कानुन र सामाजिक सोचका कारण समाजमा आज पनि अशान्तिको वातावरण सिर्जना भएको बताएका थिए । कार्यक्रममा शिक्षाविद् पिताम्बर ढकालले संघिय संरचनामा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए । उक्त कार्यक्रमा शान्तिका लागि साझा अभियानका महासचिव पुष्प भुषाल, कोषाअध्यक्ष पुष्पराज पौडेल, केन्द्रीय सदस्य अजबहादुर शाही लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ५ पुष २०७५, बिहीबार १७:१५