कारागारलाई किताब अभियान सुरु

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ पुस ।
कर्णाली प्रदेशमा रहेका कारागारमा पुस्तकालय स्थापना गर्न प्रदेश प्रहरी कार्यालयले ‘कारागारलाई किताब’ अभियान मंगलवारदेखि सुरु गरेको छ । कारागारमा रहेका कैदीहरूको पुस्तक मागलाई लक्षित गर्दै कर्णाली प्रदेश प्रहरी कार्यालयले कारागारलाई किताब अभियान सञ्चालन गरेको हो ।

प्रदेशका विभिन्न कारागारहरूमा रहेका कैदीहरूले पुस्तकालयको माग गरेकाले उनीहरूलाई किताब उपलब्ध गराउन अभियान चलाइएको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक महेशविक्रम शाहले बताए । कारागारमा रहेका कैदीहरूको पुस्तक अध्ययन गर्ने चाहनालाई पूरा गर्न अभियानले सहयोग पुग्ने प्रमुख शाहको भनाइ छ । उनले समुदाय–प्रहरी साझेदारी अभियान अनुसार उक्त अभियानमा विभिन्न व्यक्तिहरूले आफूसँग भएका किताब कारागारका लागि भनेर हस्तान्तरण गरिदिन आग्रह समेत गरे । साथै डीआईजी शाहले विभिन्न सरोकारवालाहरूलाई पनि उक्त अभियानमा आवद्ध हुन अनुरोध गरेका छन् ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि मंगलवार डीआईजी शाहको नेतृत्वमा ११ सदस्यीय कारागारलाई किताब अभियान समितिसमेत गठन गरिएको छ । उक्त समितिको सह–संयोजकमा सुशीला श्रेष्ठ छन् । त्यस्तै सदस्यहरूमा डीएसपी योगेन्द्रकुमार खड्काका साथै यज्ञ खत्री, कमल भुषाल, दुर्गा थापा, निर्मला केसी, प्रतिमा परियार, ज्योती कटुवाल, लक्ष्मी भण्डारी लगायत रहेका छन् । ‘किताब पढौं, जीवन बदलौं’ भन्ने मूल नाराका साथ सञ्चालित उक्त अभियानमा जीवन उपयोगी, सकारात्मक परिवर्तन हुने किसिमका किताब दिनसमेत आग्रह गरिएको छ ।

प्रकाशित मितिः   ५ पुष २०७५, बिहीबार १७:०५