उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व
पुनः कांग्रेसकै वर्चश्व, नेकपाको प्रतिनिधित्व सदस्यमा सीमित
साझा बिसौनी संवाददाता
सुर्खेत, २ पुस ।
लामो समयसम्म स्थानीय निकायहरूको निर्वाचन नहुँदा सुर्खेत उद्योग वाणिज्य संघ यहाँ क्रियाशील राजनीतिक दलहरूको ‘शक्ति परीक्षण’ गर्ने थलो बन्यो । उद्योगी–व्यवसायीहरूको हितमा काम गर्ने छाता संस्था भनिए पनि सुरुवातदेखि नै संघमा राजनीतिक प्रतिस्पर्धा हुँदै आएको छ । उक्त शिलशिला अहिले पनि जारी छ । जसमा नेपाली कांग्रेसले आफ्नो दबदबा कायम राख्न सफल भएको छ ।
आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व छनौट गर्न भएको निर्वाचनमा सबै पदाधिकारीसहित बहुमत सदस्य कांग्रेसको पोल्टामा परेको छ । सुरुवातदेखि नै नेपाली कांग्रेस हावी हुँदै आएको संघमा यस पटक पनि कांग्रेसले आफ्नो वर्चश्व कायम गरेको हो । कतिसम्म भने कांग्रेस निकट व्यवसायीहरू नै विभाजित भएर दुई वटा प्यानल भइ चुनावी प्रतिस्पर्धा हुँदा पनि सबै पदाधिकारीसहित १९ पदमा कांग्रेसकै प्रतिनिधित्व हुने भएको छ ।
कांग्रेसकै एउटा समूहसँग सहकार्य गरेर चुनावीमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरूको प्रतिनिधित्व भने सदस्यमा सीमित भएको छ । तीन जना सदस्यमा नेकपाका प्रतिनिधि विजयी भएका छन् । आठ जनाको पदाधिकारीमा नेकपाका कुनै पनि उम्मेदवार विजयी हुन
सकेनन् । नेकपा निकट व्यवसायीहरूले सहकार्य गरेको
संयुक्त व्यवसायिक समूहबाट पदाधिकारीमा विजयी हुने दुवै जना नेपाली कांग्रेस निकट हुन् ।
लोकतान्त्रिक प्यानललाई बहुमत
संघको २२ पदका लागि भएको निर्वाचनमा लोकतान्त्रिक व्यवसायिक समूहले अध्यक्षसहित १३ पदमा विजय हासिल गरेको छ । संयुक्त उद्योगी–व्यवसायिक समूहले भने दुई जना पदाधिकारीसहित नौ पदमा मात्र जीत हात पारेको छ । अध्यक्षमा लोकतान्त्रिक प्यानलका धनबहादुर रावतले संयुक्त प्यानलका उम्मेदवार प्रकाश उप्रेतीलाई १७ मतको अन्तरले पराजित गरेका छन् । रावतले आठ सय १० मत प्राप्त गर्दा उप्रेतीले भने सात सय ९३ मत प्राप्त गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा भने संयुक्त व्यवसायी समूहका हर्षविक्रम खड्का विजयी भएका छन् । सात सय ८९ मत प्राप्त गरेका खड्काले आफ्ना प्रतिस्पर्धी वासुदेव शर्मालाई १५ मतले अन्तरले पराजित गरे । शर्माले सात सय ७४ मत प्राप्त गरे । वाणिज्य उपाध्यक्षमा सात सय ७३ मतसहित दिपेन्द्र ढकाल विजयी हुँदा सात सय ६४ मत प्राप्त गरेका प्रवल शाही पराजित हुन पुगे । उद्योग उपाध्यक्षमा संयुक्त प्यानलका गणेशकुमार बस्नेतले आठ सय पाँच मतसहित विजयी भए । उनका प्रतिस्पर्धी हरि विष्टले सात सय २४ मत प्राप्त गरे । महिला उपाध्यक्षमा सात सय ६६ मतसहित कृष्णाकुमारी थापा विजयी हुँदा बसन्ती बस्नेतले सात सय ४७ मत प्राप्त गरेकी छिन् ।
यसैगरी महासचिवमा संयुक्त व्यवसायी समूहका कलाधर उपाध्यायलाई ३० मतको अन्तरले पराजित गर्दै लोकतान्त्रिक समूहका लक्ष्मण कँडेल विजयी भए । कँडेलले सात सय ७८ मत प्राप्त गरेका छन् भने उपाध्यायले सात सय ४८ मत प्राप्त गरे । आठ सय ६ मत ल्याएर भद्र भण्डारी विजयी हुँदा उनका प्रतिस्पर्धी गोविन्द पाण्डेले सात सय ३० मत मात्र प्राप्त गरे । सचिवमा सात सय ६५ मत प्राप्त गरी रामप्रसाद पाण्डे विजयी भएका छन् भने सात सय ५५ मत प्राप्त गरेका शिवराज अधिकारी पराजित हुन पुगे । महिला सदस्यमा संयुक्त प्यानलका लक्ष्मी कार्की र टीकाकुमारी कँडेल समान
सात सय १८ मतसहित विजयी भएका छन् । खुला सदस्यहरूमा रामप्रसाद जैसी (८०८), प्रेमप्रसाद पाण्डे (७९१), कपिलमणि सुवेदी (७८४), रमेश बराल (७८२), हरिकुमार श्रेष्ठ (७६२), रामबहादुर गौतम (७५४), तेजप्रसाद तिवारी (७४०) विजयी भएका छन् । यस्तै जनकबहादुर थापा (७६८), प्रेमबहादुर रावत (७३२), भिमप्रसाद पौडेल (७१८), सिंहराज वम (७५१) र दिपक खड्का (७५१) मतसहित विजयी भएका छन् । १२ जना खुला सदस्यमा पाँच जना संयुक्त प्यानलका विजयी भएका छन् भने सात जना लोकतान्त्रिक प्यानलका रहेका छन् । शनिवार भएको निर्वाचनको मतगणना कार्य सोमवार साँझ सम्पन्न भएको हो ।
साझा बिसौनी संवाददाता ।