मुख्यमन्त्री शाही नै संसदीय दलको नेता

साझा बिसौनी संवाददाता
सुर्खेत, २ पुस ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा सर्वसम्मत् चयन भएका छन् । सोमवार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शाहीलाई दलको नेता चयन गरेको हो । नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज यामलाल कँडेलको प्रस्तावमा शाहीलाई दलको नेतामा चयन गरिएको हो ।
केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पनि प्रदेशमा नेकपा संसदीय दलको नेताविहीन बनेको थियो । दलको नेता चयन नभएपछि नेकपाबाट प्रदेशसभाका ज्येष्ठ सदस्य पदमबहादुर रोकायको अध्यक्षतामा यसअघि संसदीय दलको बैठक बसेको थियो ।
तत्कालीन माओवादी केन्द्रबाट संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका शाही नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य पनि हुन् । प्रदेश सभामा दुई तिहाई बहुमत भएको नेकपाको संसदीय दलको नेता चयन भएसँगै पार्टीको भूमिका प्रभावकारी बनाउन मद्दत पुग्ने नेकपाका सांसदहरू बताउँछन् ।
यसैगरी सोमवारको बैठकबाट नेकपा कर्णाली प्रदेश संसदीय दलको विधान पारित गरिएको छ । विधान अनुसार नै दलको प्रमुख सचेतक र सचेतक चयन गरिने नेकपाका सांसद धर्मराज रेग्मीले बताए । उनका अनुसार आगामी बैठकमा दलको सचेतक चयनका बारेमा छलफल हुनेछ ।

प्रकाशित मितिः   ३ पुष २०७५, मंगलवार १६:४९