आत्महत्या गर्न रोक्दा आमाकै हत्या

दैलेख, २ पुस । (साबिस)
आत्महत्या गर्न लागेका छोरालाई बचाउन खोज्दा छोराले नै आमाको हत्या गरेका छन् । दैलेखको नारायण नगरपालिका–३, भूर्तिका बालाराम नेपालीले कोदालो प्रहार गरी आमाको हत्या गरेका हुन् ।
प्रहरीका अनुसार बालाराम झुण्डिएर आत्महत्या गर्न भन्दै घरबाट हिँडेका थिए । उनलाई रोक्न खोज्दा ४७ वर्षीया आमा पार्वती सार्कीको हत्या भएको हो । आफूलाई रोक्न खोजेपछि बालारामले अन्धाधुन्द कोदालो प्रहार गरेका थिए । उनको आक्रमणबाट ७० वर्षीया हजुरआमा जुहारा नेपाली, ६४ वर्षीया मनधरा नेपाली र २४ वर्षीया कौशीला नेपाली घाइते भएकी छन् । टाउकोमा चोट लागेकाले हजुरआमा जुहारा गम्भीर घाइते भएकी छन् भने मनधराको हात र कौशीलाको खुट्टामा चोट लागेको छ । कोदालो प्रहार गर्ने बालारामलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । घाइते तीनै जनाको जिल्ला अस्पताल दैलखमा उपचार भइरहेको छ ।
बालारामको मानसिक सन्तुलन बिग्रिएको प्रहरीले जनाएको छ । ‘मानसिक सन्तुलन ठीक नभएकाले झुण्डिन खोजेका बेला आमाले बचाएपछि जो भेटियो त्यसैमाथि आक्रमण गरेको पाइएको छ’ डीएसपी पोखरेलले भने, ‘उनले यसअघि आफ्नै यौनाङ्ग र शरीरमा धारिलो हतियार प्रयोगसमेत गरेका थिए ।’

प्रकाशित मितिः   ३ पुष २०७५, मंगलवार १६:४७