बेलचौर बन्यो नमुना गाउँ

साझा बिसौनी संवाददाता
सुर्खेत, २ पुस ।
सुर्खेतको बराहताल गाउँपालिका वडा नं. ८ को बेलचौरलाई नमुना गाउँ घोषणा गरिएको छ । सोमवार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले गाउँलाई नमुना गाउँको रूपमा घोषणा गरेका हुन् ।
नमुना गाउँका लागि बनाइएका २० वटा सूचकहरू पूरा गरेपछि बराहताल गाउँपालिका र किर्डाक नेपालको सहयोग र समन्वयमा गाउँलाई बेलचौर स्वावलम्बन आमा समूहको अगुवाइमा नमुना गाउँ घोषण गरिएको हो । सबैघरमा करेसाबारी, फूलबारी, चर्पी, च्याङ्ग र घरआँगन सफा सुग्घर भएको, सबै बालबालिका विद्यालय गएको, सबै बालबालिकाको जन्मदर्ता भएको र खोप लगाएको, सबै घरका सदस्यले मानवअधिकारका विषयमा आधारभूत ज्ञान पाएको लगायतका २० वटा सूचकहरू निर्धारण गरिएका थिए । गत दुई वर्ष अघिदेखि कार्ययोजना निर्माण गरी नमुना गाउँ बनाउन लागेको समूहले सबै सूचकहरू पार गरेको आधारमा नमुना गाउँ घोषणा गरेको हो ।
नमुना गाउँ घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष बस्नेतले आगामी दिनमा पनि समूहले नियमित अनुगमनको कामहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पूरा भएका सूचकहरूको अवस्था खस्कन नदिन समूहले नियमित रूपमा अनुगमन गर्नुपर्छ, उनले भने, केही सूचकहरू अझै थप गरी त्यसमा पनि लाग्न जरुरी छ । बेलचौरको सिकाइ गाउँपालिकाका अन्य ठाउँहरूमा पनि सिक्न जरुरी रहेको उनको भनाइ छ । ‘महिला दिदीबहिनीहरूको जागरुकता, मेहेनत र लगाव यहाँबाट सिकौं, गाउँपालिकाले सदैव साथ र सहयोग दिनेछ’, उनले भने । खुशी घर र खुशीयाली गाउँ निर्माणको अभियानमा गाउँपालिकाको साथ र सहयोग सदैव रहनेमा उनले प्रतिबद्धता व्यक्त गरे ।
गाउँपालिकाका उपाध्यक्ष शोभाकुमारी शर्माले बेलचौरबाट सुरु भएको खुशीयाली नमुना गाउँ निर्माणको अभियानलाई गाउँपालिकाले सबै वडामा सुरु गर्न पहल थाल्ने बताइन् । ‘महिलाको अगुवाइमा पनि नमुना गाउँ बनाउन सम्भव छ भन्ने कुरा बेलचौरले प्रमाणित गरेको छ’, उनले भनिन्, ‘यसलाई सबै वडामा विस्तार गर्नका लागि हामी पहल गर्नेछौं ।’
बराहताल वडा नं. ८ का वडा अध्यक्ष मणिराज कार्कीले नमुना गाउँलाई आवश्यक पर्ने सहयोग र समन्वय गर्न वडा कार्यालय सदैव तयार रहेको बताए । ‘यहाँहरूको अभियानमा हामी सदैव साथमा छौं’, उनले भने, ‘आगामी दिनमा पनि सहयोग निरन्तर हुनेछ ।’ घोषणा कार्यक्रममा निर्वाचित वडा सदस्यहरू, किर्डाक नेपालका प्रतिनिधिहरू, सामुदायिक वन, विद्यालय, स्वास्थ्य कार्यालय, अस्थायी प्रहरीचौकी लगायतका कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसैबीच समूहको पाँचौं वार्षिक साधारणसभा पनि सम्पन्न भएको छ । साधारणसभामा समूहका सचिव डिला सारुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष चन्द्रा गौतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मितिः   ३ पुष २०७५, मंगलवार १६:४३