बालिका बलात्कारपछि हत्या गर्ने तीन जनालाई जन्मकैद

साझा बिसौनी संवाददाता
सुर्खेत, १ पुस ।
बालिकालाई बलात्कार गरी हत्या गर्ने तीन जनालाई जन्मकैदको सजाय तोकिएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालत सुर्खेतले जन्मकैद फैसला सुनाएको हो । बलात्कारसहित हत्या गरेको आरोप पुष्टी भएपछि अदालतले पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भइ बावियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरिप्रसाद कोइरालालाई दोषी ठहर गरी ३२ वर्षको जेल सजाय तोकेको हो ।


सूर्यप्रकाश माध्यमिक विद्यालय पञ्चपुरी–४ पलैटेबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन बावियाचौर पुगेकी गोरीकलाको २०७४ साल चैत १३ गते हत्या भएको थियो । उनका परिवारले सोही दिन नै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका थिए । प्रहरीले घटनाको अनुसन्धानसहित तीन जना अभियुक्तलाई पक्राउ गरी गत वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले पेश गरेको प्रमाणका आधारमा गत वैशाख ११ गते जिल्ला अदालतले तीनै जना अभियुक्तहरूलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो । मुद्दा दर्ता भएको आठ महिनापछि जिल्ला अदालत सुर्खेतले जबरजस्ती करणी र हत्याको अभियोग पुष्टी गर्दै पूर्ण फैसला सुनाएको हो । जस अनुसार तीनै जनालाई जन्मकैदसहित थप १२ वर्षको कैद सजाय र एक लाख रूपैयाँ जरिवानाको फैसला सुनाएको जिल्ला अदालत सुर्खेतका से्रस्तेदार भुपाल भण्डारीले जानकारी दिए । उनका अनुसार जिल्ला न्यायाधीश धुव्रकुमार शाहको एकल इजलासले गोरीकला हत्या प्रकरणको फौसला सुनाएको हो ।
‘प्रतिवादी तीनै जनाले तत्कालीन मुलुकी ऐन २०२० को ज्यान सम्बन्धी महल १ र १३(३) अनुसार कसुर गरेको पुष्टी हुन आएकाले सोही महलको १३ (३) अनुसार जन्मकैदको सजाय हुनेछ’ फैसलामा लेखिएको छ, ‘निजहरूले जबरजस्ती करणीको कसुरसमेत गरेकाले मुलुकी ऐन २०२० बमोजिम जबरजस्ती करणी महल १ र ३ नम्बर महल अनुसारको कसुर गरेकाले ३(४) नम्बर अनुसार सात वर्ष र ३(क) अनुसार थप पाँच वर्ष कैद सजाय हुनेछ ।’ अदालतको फैसला अनुसार तीनै जनाले जबरजस्ती करणी महल १० नम्बर अनुसार पीडित पक्षलाई एक लाख क्षतिपूर्ति समेत भराउनुपर्नेछ ।
तत्कालीन मुलुकी ऐनको ज्यान सम्बन्धी महल १३ (३) मा ‘लाठा, ढुङ्गा र सानातिना हातहतियारले कुटी, हानी, रोपी, घोची वा अरु ज्यान मार्ने गैह्र कुरा गरी ज्यान मारेमा, एकै जनाले मात्र सो काम गरी ज्यान मारेमा सोही एक जना र धेरै जनाको हुल भइ मारेमा यसैले मारेको वा यसको चोटले मरेको भन्ने प्रमाणबाट देखिन–ठहर्न आएमा सोही मानिस मुख्य ज्यानमारा ठहर्छ । त्यस्तालाई सर्वश्वसहित कैद गर्नुपर्छ । सो बाहेक अरुलाई र यसैले मारेको वा यसैको चोटले मरेको भन्ने कुरा सो हातहतियार छाड्ने कसै उपर कुनै प्रमाणबाट देखिने–ठहर्न नआएमा सबैलाई जन्मकैद’ गर्नुपर्ने उल्लेख छ । मुलुकी ऐन, २०२० को जबरजस्ती करणी महल ३ (क) मा ‘महिलालाई जबरजस्ती करणी गर्ने वा गर्भवती, अशक्त वा अपाङ्ग महिलालाई जबरजस्ती करणी गर्नेलाई यस महलमा लेखिएको सजायको थप पाँच वर्ष कैद’ गर्नुपर्ने उल्लेख छ ।
परीक्षा केन्द्र परिवर्तन हुँदा सूर्यप्रकाश माध्यमिक विद्यालय पलैटेबाट एसईई परीक्षा दिन गोरीकला बावियाचौर गएकी थिइन् । २०७४ चैत ८ गतेदेखि सुरु भएको एसईई परीक्षा दिन बावियाचौर बसेकी गोरीकला डेरामै मृत अवस्थामा भेटिएकी थिइन् । अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा दिएकी उनको हत्या २०७४ चैत १३ गते राती भएको थियो । हत्यामा संलग्न लक्ष्मी, खुम र हरिलाई जिल्ला कारागार सुर्खेतमा राखिएको छ । उक्त घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न पटक–पटक कर्णाली प्रदेशसभामा समेत सांसदहरूले आवाज उठाएका थिए ।

प्रकाशित मितिः   २ पुष २०७५, सोमबार १३:१४