बढी मत भेटिँदा मतगणना प्रभावित

साझा बिसौनी संवाददाता
सुर्खेत, १ पुस ।
सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा खसेको मतभन्दा मतपेटिकामा बढी भेटिएपछि मतगणना कार्य प्रभावित बनेको छ ।
शनिवार मतदान सम्पन्न भएपछि एक हजार ६ सय ४४ मत खसेको निर्वाचन समितिले जानकारी दिएको थियो । तर गणना गर्दा एक हजार ६ सय ५० मत भेटिएपछि आइतवार बिहानदेखि मतगणना कार्य प्रभावित भएको हो । खसेको भनिएको भन्दा ६ मत बढी भेटिएको छ ।
आइतवार बिहान ११ बजेसम्म नौ सय मत गणना भएको थियो । जसमा अध्यक्ष पदमा लोकतान्त्रिक व्यवसायिक समूहबाट उम्मेदवार बनेका
धनबहादुर रावतले चार सय ५७ र संयुक्त उद्योगी–व्यवसायी समूहका प्रकाश उप्रेतीले चार सय २२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा हर्षविक्रम खड्काले चार सय ३६ र वासुदेव शर्माले चार सय २६, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकालले चार सय ३३ र प्रवल शाहीले चार सय ७, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेतले चार सय ३१ र हरि विष्टले चार सय १०, महिला उपाध्यक्षमा कृष्णाकुमारी थापाले चार सय २८ र बसन्ती बस्नेतले चार सय, महासचिवमा लक्ष्मण कँडेलले चार सय ३१ र कलाधर उपाध्यायले चार सय दुई, कोषाध्यक्षमा भद्र भण्डारीले चार सय ५५ र गोविन्द पाण्डेले तीन सय ८७ तथा सचिवमा रामप्रसाद पाण्डेले चार सय ५२ र शिवराज अधिकारीले तीन सय ८५ तथा प्राप्त गरेका थिए ।
नौ सय मत गणना भएपछि बाँकी रहेको मत गणना गर्दा ६ मत बढी भेटिएपछि रोकिएको मतगणना कार्य यो समाचार तयार पार्दासम्म सुरु हुन सकेको थिएन ।

प्रकाशित मितिः   २ पुष २०७५, सोमबार १३:१२