विधान मस्यौदा बनाइदैं

साझा बिसौनी संवाददाता
सुर्खेत, १ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश संसदीय दल एकीकरणका लागि प्रयास सुरु भएको छ । यसका लागि विधान मस्यौदा निर्माण गर्न लागिएको छ ।
आइतवार वीरेन्द्रनगरमा बसेको संसदीय दलको बैठकले विधान मस्यौदा बनाउन कार्यदल गठन गरेको छ । पार्टीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने ज्येष्ठ सदस्य पदमबहादुर रोकायको अध्यक्षतामा बसेको बैठकले तीन सदस्यीय कार्यदल गठन गरेको हो । तत्कालीन नेकपा (एमाले) को संसदीय दलका सचेतक रहेका सांसद गुलावजंग शाहको संयोकत्वको कार्यदल गठन गरिएको हो ।
कार्यदलको सदस्यमा सीता नेपाली र दल रावल रहेका छन् । कार्यदललाई आज(सोमवार) बस्ने बैठकमा संसदीय दलको विधान मस्यौदा पेश
गर्ने कार्यादेश दिइएको ज्येष्ठ सदस्य रोकायले जानकारी दिए ।
बैठकमा नेकपाका कर्णाली प्रदेश सह–इन्चार्ज तथा पूर्व नेकपा (एमाले) का संसदीय दलका नेता यामलाल कँडेल, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी र सचिव मायाप्रसाद शर्माको समेत उपस्थिति रहेको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सहजीकरणमा सुरु भएको बैठक आज (सोमवार) दिउँसो एक बजे पुनः बस्नेछ ।