‘गाउँमा विद्यालय थिएनन्, भारत गएर संस्कृत पढें’
वि.सं. १९९८ माघ ३ बुबा कपिलमुनी भट्टराई र आमा हिरादेवी भट्टराईको सन्तानका रूपमा जन्मिएका टंक भट्टराई सुर्खेतमा पत्रकारिता विजारोपण गर्ने व्यक्ति हुन् । उनले आफै सम्पादक रहेर वि.सं. २०३८ सालमा सुर्खेतमा बुलबुले साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । गाउँमा विद्यालय नभएको समयमा पनि पढ्ने सपना पूरा गर्न भारत पुगेर संस्कृत अध्ययन गरेका भट्टराईले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः
बाल्यकाल रमाइलो गरेर बित्यो । केही समय सुर्खेतमा बित्यो तर पढाइको शिलशिलामा धेरै समय भारतमा बिताएँ । ६ जना भाइबहिनीमध्ये घरको कान्छो छोरा भएकाले पनि मलाई बाल्यकालमा खासै जिम्मेवारी आइपरेन ।
म सानो छँदा अहिलेको जस्तो गाउँ–गाउँमा विद्यालय थिएनन् । हामीले विद्यालय गएर पढ्न पाएनौं । मैले बुबाबाट अक्षर चिन्नेको हुँ । त्यति बेलामा दुर्गा, चण्डी पढाइ हुन्थ्यो । मैले बुबाबाट सिकें । पढ्ने इच्छा धेरै भए पनि गाउँमा विद्यालय थिएन । पढ्नका लागि बुबासँगै भारत जाने सल्लाह भयो । संस्कृत पढ्नका लागि मैलै १२ वर्षकै उमेरमा भारत गएँ । त्यसबेलामा यहाँ बाटो बनेकै थिएन । हिँडेर नेपालगन्जसम्म जानुपर्ने बाध्यता थियो । दुई÷तीन दिनसम्म लाग्थ्यो । बाटोमा लाग्ने खर्च र खाना लिएर जानुपथ्र्यो । पसलहरू थिएनन् । रुखमा बास बस्नुपर्ने हुन्थ्यो । ओढ्ने ओछ्याउने सबै व्यवस्था गर्नुपथ्र्यो ।
पहिला कर्णालीका सबै मान्छेहरू किनबेच गर्न नेपालगन्ज जान्थे । भेरी र बबई तरेर जानुपथ्र्यो । भारत पढ्न जाँदा बुबाले ६ सय भारतीय रूपैयाँ दिनुभएको थियो । नेपालगन्जसम्म एक जना भरिया लिएर गएको थिएँ । नेपालगन्जबाट रेलमा बनारस गएँ । त्यहाँ आश्रमहरूमा पढाइ हुन्थ्यो । संस्कृत पढ्नेहरूका लागि बस्ने खानेको व्यवस्था निःशुल्क हुन्थ्यो । खर्च लाग्दैन्थ्यो । संस्कृत पढ्नेहरूका लागि सम्मान हुन्थ्यो । सानै भएकाले सबैले माया गर्नुहुन्थ्यो । बनारासमा पनि राम्रो पढाइ नभएपछि हरिद्वार गएँ । अयोध्यासम्म पनि पुगें । १७÷१८ वर्षकै उमेरमा घर फर्किएँ । वि.सं. २०१९ सालमा घर फकिएँ । दाईले चिठ्ठी पठाउनुभयो र घर आएँ । पछि पढ्न जान पाइएन ।
बाल्यकालमा बदमासी भने गरिनँ । हामीलाई नैतिक शिक्षामा बाँधिएको हुन्थ्यो । अनुशासनमै
हुन्थें । केही काम विर्गान डर लाग्थ्यो । अहिलेको जस्तो खेल्न सुविधा हुँदैनथ्यो । बुबाआमाको आज्ञा अनुसार नै काम गर्नुपथ्र्योे । ब्राम्हण परिवारमा जन्मिएकाले जागिर खानुहुन्न भन्ने थियो । पण्डित काम गर्ने भनेर बुबाले सिकाउनहुन्थ्यो ।
बाल्यकालमा अहिलेको जस्तो डाक्टर वा पाइलट बन्छु भन्ने हुँदैनथ्यो । प्रविधिको विकास केही थिएन । कहाँ के भएको छ भनेर केही थाहा हुन्थेन । रेडियोको नाममा रेडियो नेपाल सुन्ने गथ्र्यौं । सबैका घरमा रेडियो पनि हुँदैनथ्यो । त्यसबेलामा ब्राम्हणले संस्कृत विषय पढ्ने गर्थे ।
त्यतिबेला वीरेन्द्रनगरमा औलो लाग्थ्यो । ६ महिना वीरन्द्रनगरको उपत्यकामा बस्ने र ६ महिना माथि कट्कुवा बस्ने गथ्र्यौं । अहिले त म जन्मिएको ठाउँ सबै जंगल छ । पछि बस्ती वीरेन्द्रनगरमा आएपछि हामी वीरेन्द्रनगर–५ मै बस्दै आइरहेका छौं । त्यसबेलामा वीरेन्द्रनगर चौहानचौर थियो । यसको नाम वीरेन्द्रनगर राख्नका लागि मैले त्यस बेलामा प्रस्ताव गरेको थिएँ । गोठीकाँडा र कट्कुवाबाट वीरेन्द्रनगरमा बस्ती सरेपछि यहाँको विकास भएको थिएन । वि.सं. २०२९ सालमा वीरेन्द्र राजा भएपछि पहिलो पटक सुर्खेत आएका बेलामा यहाँको विकासको सुरुवात गर्न हामीले लागेका थियौं । मंगलगढी नजिक राजा वीरेन्द्रसँग यहाँका जनताका लागि खानेपानी, बाटो, बत्ती मागेको सम्झना छ । त्यसबेलामा म पञ्चकार्यकर्ता थिए ।
वि.सं. २०३२ सालबाट पत्रकारिता सुरु गरें । राष्ट्रिय समाचार समितिको प्रतिनिधि भएर सुर्खेतबाट काम गरें । वि.सं. २०२८ सालमा बुलबुले साप्ताहिक पत्रिका प्रकाशित गरें । त्यतिबेलामा प्रविधिको विकास नहुँदा भारतसम्म पुगेर पत्रिका छापियो, अहिले अफसेट प्रेस छ । धेरै परिवर्तन भइसकेको छ । त्यसबेलामा घरको एक माना चना खाएर पनि जनताको काम गरेका थियौं हामीले । अहिलेको अवस्थामा सेवा सुविधा दिँदा पनि भ्रष्टाचार मौलाइरहेको सुन्दा, देख्दा मन खिन्न हुन्छ ।
पहिले र अहिलेको समय धेरै फरक भइसक्यो । जनताले अझै पनि विकासको अनुभूति गर्न पाएका छैनन् । अब सरकारले जनताका लागि उत्पादनमूलक रोजगारी सिर्जना गर्न आवश्यक छ । देशमा रोजगारी नपाएर विदेशिएका जनतालाई आफ्नै ठाउँमा रोजगारीमूलक कार्यक्रमहरू सिर्जना गर्न जनप्रतिनिधिहरूले ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
साझा बिसौनी संवाददाता ।