अपराधमा सुर्खेत अगाडि

कहालीलाग्दो आत्महत्या, जघन्य अपराध पनि बढी

साझा बिसौनी संवाददाता
सुर्खेत, २९ मंसिर ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी अपराध हुने गरेको पाइएको छ । प्रदेश राजधानीसमेत रहेको सुर्खेत अपराधमा अगाडि देखिएको हो ।
पछिल्लो तीन वर्षको अपराध तथ्यांक हेर्ने हो भने अन्य जिल्लाको तुलनामा सुर्खेतमा दोब्बर बढी अपराध भएको देखिन्छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२÷०७३ यता सुर्खेतमा एक हजार तीन सय ८४ वटा अपराध भएका छन् ।
दैलेखमा चार सय २९, जाजरकोट दुई सय ४८, सल्यानमा पाँच सय ४५ र रुकुममा चार सय ८० वटा अपराध भएका छन् । त्यसैगरी जुम्लामा दुई सय ९३, हुम्लामा ५५, डोल्पामा एक सय १०, मुगुमा एक सय १७ र कालिकोटमा दुई सय २४ गरी तीन वर्षमा कर्णाली प्रदेशमा तीन हजार आठ सय ८५ वटा अपराधजन्य घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
अपराधको प्रकृति हेर्दा आत्महत्याका घटना बढी हुने गरेका छन् । आर्थिक वर्ष २०७२÷०७३ देखि आ.व. २०७४÷०७५ सम्म कर्णालीमा आठ सय आठ जनाले आत्महत्या गरेको तथ्यांक प्रहरीसँग छ । जसमध्ये दुई सय ७४ जना सुर्खेतका छन् । यस्तै ज्यानसँग सम्बन्धित अपराध पनि ठूलो संख्यामा हुने गरेको छ । कर्तव्य ज्यान सम्बन्धीका एक सय ६०, ज्यान मार्ने उद्योग सम्बन्धीका एक सय नौ, भवितव्य ज्यानका पाँच सय ६२ र फुटकर ज्यान सम्बन्धी एक सय ३९ वटा घटना भएका छन् ।
तीन वर्षमा सात सय १० वटा सार्वजनिक अपराध भएका छन् भने महिला तथा बालबालिका सम्बन्धीका अपराधको संख्या पाँच सय ६४ रहेको छ । जसमा मानव बेचविखन सम्बन्धीका २४, बहुविवाहका एक सय ७३, जबरजस्ती करणीका दुई सय ५३, जबरजस्ती करणी सम्बन्धी उद्योगका ९४, बोक्सीको आरोप सम्बन्धी पाँच वटा अपराध भएको जनाइएको छ । सवारी सम्बन्धीका दुई सय ४२ अपराध हुँदा जातीय छुवाछुत, अपहरण, अप्राकृतिक मैथुन लगायतका अन्य अपराधको संख्या एक सय १७ रहेको प्रहरीले जानकारी दिएको छ ।
महिला तथा बालबालिकामाथि हुने जघन्य प्रकृतिका अपराधमा पनि सुर्खेत नै अन्य जिल्लाको तुलनामा अगाडि छ । तीन वर्षमा भएका जबरजस्ती करणी सम्बन्धीका दुई सय ५३ अपराधमध्ये एक सय २५ वटा सुर्खेतमा भएका हुन् । यसरी हेर्दा अपराधजन्य कार्यमा कर्णालीका १० जिल्लामध्ये सुर्खेत सबैभन्दा अगाडि रहेको छ ।
कर्णालीका जिल्लाहरूमा जघन्य प्रकृतिका अपराध पनि उल्लेख्य संख्यामा हुने गरेको छ । प्रहरी तथ्यांक अनुसार जबरजस्ती करणी सम्बन्धीका अपराध बढी हुने गरेका छन् । आर्थिक वर्ष २०७२÷०७३ मा ६८ वटा, आ.व. २०७३÷०७४ मा ६७ र आ.व. २०७४÷०७५ मा ५९ वटा जबरजस्ती करण सम्बन्धीका अपराध भएका छन् ।
त्यसैगरी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, लागू औषध, गर्भपतन, चोरी, हत्या लगायतका अपराध हुने गरेको पाइएको छ । प्रहरीले दिएको जानकारी अनुसार तीन वर्षमा ६ सय १६ वटा जघन्य अपराध कर्णाली प्रदेशका १० जिल्लामा भएका थिए । आ.व. २०७२÷०७३ मा दुई सय १०, आ.व. २०७३÷०७४ मा एक सय ९६ र आ.व. २०७४÷०७५ मा दुई सय १२ वटा जघन्य खालका अपराध भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले जानकारी दिए ।
सुर्खेतमा अपराधजन्य कार्यहरू बढेपछि प्रहरीले
सुरक्षित सुर्खेत बनाउने विशेष अभियान सञ्चालन गर्ने भएको छ । यहाँको सुरक्षा व्यवस्था मजबुत बनाउन जिल्लाका ६ वटा प्रमुख नाकाहरू बाङ्गेसिमल, कपासे, धुलियाविट, सुब्बाकुना, बबई र छिञ्चुमा सीसीटिभीमार्फत् निगरानी गरिने भएको छ । सवारी साधन तथा यात्रुहरूको वैज्ञानिक उपकरणद्वारा चेकजाँच गर्ने योजना पनि प्रहरीले बनाएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी शाहले सुर्खेतका साथसाथै समग्र प्रदेशको सुरक्षा अवस्था सुधार गर्न प्रहरीले विशेष अभियान सञ्चाल गर्न लागेको भन्दै सहयोग गर्न सबैसँग आग्रह गरे ।

प्रकाशित मितिः   १ पुष २०७५, आईतवार १३:०६