सर्वसम्मत्को प्रयास विफल

अध्यक्षमा उप्र्रेती र रावत भिड्ने, नेकपा निकट व्यवसायी रिझाउने कसरत


साझा बिसौनी संवाददाता
सुर्खेत, २५ मंसिर ।
सर्वसम्मत् गराउन पूर्व अध्यक्षहरूले गरेको प्रयास असफल भएपछि सुर्खेत उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको टुङ्गो निर्वाचनमार्फत् लाग्ने भएको छ । चुनावमार्फत् नेतृत्व छनौट गर्दा संघप्रति सबै व्यवसायीहरूको अपनत्व कायम हुन नसकेको भन्दै संघका अधिकांश पूर्व अध्यक्षहरूले सर्वसम्मत्को लागि प्रयास गरेका थिए । तर मंगलवार साँझसम्मको प्रयास विफल भएको छ ।
सहमतिको प्रयास विफल भएपछि अध्यक्ष पदका दुवै आकांक्षी आफ्नो पक्षमा मत माग्न हिँडेका छन् । संघको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका दुई उपाध्यक्ष आकांक्षी देखिएका छन् । संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती र वाणिज्य उपाध्यक्ष धनबहादुर रावत अध्यक्ष बन्ने होडमा छन् ।
वरिष्ठ उपाध्यक्ष उप्रेतीले आधिकारिक रूपमा उम्मेदवारी घोषणा नगरे पनि मतदाता भेट्ने अभियान सुरु गरिसकेका छन् भने अर्का उपाध्यक्ष रावतले सामाजिक सञ्जाल फेसबुकमार्फत् नै उम्मेदवारी घोषणासहित मत मागिसकेका छन् । यीनै दुई उपाध्यक्षबीच आगामी नेतृत्वका लागि निर्वाचन हुने निश्चितप्र्रायः भएको छ ।
विगतमा संघको नेतृत्वका लागि फरक–फरक पार्टीबीच प्रतिस्पर्धा हुने गरेकोमा यस पटक भने नेपाली कांग्रेस निकट व्यवसायीहरूबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । उप्रेती र रावत दुवै कांग्रेस निकट व्यवसायी हुन् । कांग्रेस निकट व्यवसायीहरूको एउटा पक्षले उप्रेतीको अध्यक्षतामा निर्वाचनमा जाने तयारी गरेको छ भने अर्को पक्षले रावतको अध्यक्षतामा चुनावको पूर्वतयारी गरिरहेको छ ।
यसअघि नेपाली कांग्रेस र तत्कालीन नेकपा एमाले तथा माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने गरेको थियो । तीन वर्षअघि भएको निर्वाचनमा एमाले र माओवादीसहितका विभिन्न ११ वटा राजनीतिक दल निकट व्यवसायीहरूको संयुक्त प्यानललाई पराजित गर्दै कांग्रेस निकट व्यवसायीहरूले एकलौटी जीत हात पारेका थिए । उक्त निर्वाचनसँगै संघलाई कांग्रेसको भ्रातृ संगठन जस्तो बनाइएको भन्दै एमाले–माओवादीसहितको वामपन्थी प्यानलले संघको सदस्यता नै बहिस्कार गरेको थियो । तर पछिल्लो समय संघले आफ्नो विधान संशोधन गरेपछि नेकपा निकट व्यवसायीहरूले सदस्यता नवीकरण गरिसकेका छन् । सबै व्यवसायीहरूलाई समेट्ने गरी सर्वसम्मत् नेतृत्व छनौट गर्न नेकपा निकट व्यवसायीहरूले निरन्तर प्रयास गर्दै आइरहेका छन् । तर कांग्रेस निकट व्यवसायीहरू भित्रैको विभाजनले सर्वसहमतिको प्रयास सफल हुन सकेन । कांग्रेस निकट व्यवसायीहरू नै विभाजित भएपछि दुवै पक्षले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट व्यवसायीहरूलाई रिझाउने प्रयास गरिरहेका छन् । जसका कारण दुवै पक्षले आफ्नो प्यानल सार्वजनिक गरेका छैनन् । मनोनयन दर्ता गर्नुअघिसम्म पनि नेकपाका व्यवसायीहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास दुवै पक्षले गर्नेछन् । यसैबीच सुर्खेत उद्योग वाणिज्य संघ अन्तर्गतका विभिन्न ११ वटा वस्तुगत समितिका अध्यक्षहरूले संघको अध्यक्ष पदका उम्मेदवार धनबहादुर रावतको पक्षमा समर्थन रहेको जनाएका छन् । मंगलवार संयुक्त विज्ञप्ती जारी गर्दै ती समितिहरूले रावतको प्यानललाई जिताउनका लागि ऐक्यबद्धता जनाएका छन् । जसमा हार्डवेयर वस्तुगत समितिका योगेश खत्री, फेन्सी तथा रेडिमेड समितिका प्रेमप्रसाद पाण्डे, होटल व्यवसायी संघका गोरखबहादुर रावत लगायतका रहेका छन् ।

आज उम्मेदवारी दर्ता
निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज (बुधवार) बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका छ । आजै दिउँसो ३ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिने जनाइएको छ ।
निर्वाचन अधिकृत उत्तमप्रसाद आचार्यका अनुसार मंसिर २७ गते बिहान ११ बजेसम्म उम्मेदवारहरूमाथि दाबी विरोध गर्न सकिनेछ भने दाबी विरोधमाथि छानविन गरी अन्तिम नामावली सार्वजनिक सोही दिन दिउँसो तीन बजे गरिनेछ । मंसिर २९ गते बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।

प्रकाशित मितिः   २६ मंसिर २०७५, बुधबार १५:३६