कांग्रेसद्वारा आठ सदस्य मनोनित

साझा बिसौनी संवाददाता
सुर्खेत, २५ मंसिर ।
नेपाली कांग्रेस सुर्खेतको जिल्ला समिति विस्तार गरिएको छ । पार्टीको विधान बमोजिम जिल्ला सभापति कमलराज रेग्मीले दुई जना सदस्य जिल्ला समितिमा थप गर्नुका साथै ६ जनालाई आमन्त्रित सदस्यमा मनोनित गरेका हुन् ।
कांग्रेसको विधान २०१७ संशोधन र परिमार्जन गरी मिलाइएको २०६६ को परिच्छेद ३ को १० (३) ख र नियमावली २०६८ को परिच्छेद ११ को दफा ४९ (२) को अधिकार प्रयोग गरी मंगलवार सदस्यहरू मनोनित गरी जिल्ला कार्यसमितिलाई पूर्णता दिएको सभापति रेग्मीले जानकारी दिए । रिक्त रहेका पदमा आठ जना मनोनित गरिएको उनले बताए । उनीहरूको मनोनयनसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेत ३३ सदस्यीय बनेको छ ।
मनोनित हुने दुई जना पूर्ण सदस्यहरूमा गुर्भाकोटका तेजबहादुर खत्री र शिवप्रसाद ढकाल रहेका छन् । त्यसैगरी आमन्त्रित सदस्यहरूमा वीरेन्द्रनगरका टेकबहादुर भण्डारी, भेरीगंगाका रत्नाखर चपाईं, गुर्भाकोटका चित्रबहादुर रेग्मी, पञ्चपुरीका यामबहादुर बिसी, सिम्ताका यामराज रोकाय र पञ्चपुरीकै खगीसराकुमारी माझी रहेका छन् ।